Shittalpati
अरबौंका होटल संकटमा

भैरहवा । महामानव गौतम बुद्धको जन्मस्थान लुम्बिनीको प्रवेशद्धार सिद्धार्थनगर र यसको पेरिफेरीमा रहेका होटल तथा पर्यटन व्यवसायीहरुले गरेको २५ अर्बको लगानी अहिले सङ्कटमा परेको छ । नेपालमा नै पर्यटकको मुख्य गन्तव्य रहेको बुद्धको जन्मस्थल लुम्बिनीलाई केन्द्र मानेर बनाइएका होटलहरुमा अहिले समस्या आएको हो । लुम्बिनी, बुटवल, तिलोत्तमा र भैरहवामा अहिले साना ठूला गरेर करिव ३०० होटल तथा रेष्टुरेन्ट, १०० ट्राभल एजेन्सीहरु रहेको पर्यटन व्यवसायीहरु बताउँछन् । जसका २५ वटा जति स्टार लेवलका होटलहरु छन् ।कोरोना भाइरस (कोभिड–१९)का कारण विश्वमा नै त्रास श्रृजना भएपछि यहाँका पर्यटन व्यवसायीहरुमा सङ्कट आएको हो । भाइरस रोकथामका लागि नेपाल सरकारले गरेको लकडाउन कारण पर्यटन व्यवसायीहरु नै बन्द गर्न परेपछि त यिनीहरुमा गरेको लगानी धरापमा पर्ने चिन्ता झन बढेको छ । पर्यटन व्यवसायी मात्र नभएर यसमा आश्रित लगभग ७ हजार कर्मचारीहरु र उनका परिवारहरुमा पनि दैनिकी चलाउन समस्या परेको छ । सरकारले यस प्रति ध्यान दिनुपर्ने देखिन्छ ।

जिल्लाको तिलोत्तमामा सिल्भर हेरिटेज गु्रपको ३ अर्ब लगानी रहेकोे ५ तारे होटल टाईगर प्यालेस १४ दिन देखि पुर्णरुपमा बन्द रहेको छ । होटलमा काम गर्ने ७ सय कर्मचारीलाई पनि होटल व्यवस्थापनले अहिले बिदा दिएको छ । दैनिक ३५ लाखको कारोवार हुने यस होटल, क्यासिनो समेत रहेको नेपालका ठुला होटल मध्येको एक हो । मासिक ३५ हजार भन्दा माथि पर्यटक आउने यस होटल बन्द भएपछि यसको लगानी धरापमा परेको देखिन्छ । होटलका सुचना अधिकारी रणधीर यादवले कोभिड–१९ का कारण होटलमा ठुलो नोक्सानी भएको बताउँछन् । यहाँबाट आश्रित कर्मचारीको परिवारलाई समेत होटल बन्द हुँदा दैनिक गुजारा गर्न गाह्रो भएको सुचना अधिकारी यादवको भनाई रहेको छ । मणिग्राममा रहेको चारतारे होटल ड्रिम ल्याण्ड गोल्ड रिसोर्ट पनि झन्डै १ अर्व लगानीमा सञ्चालनमा रहेको होटल हो । यस होटलले पनि आफ्ना २०० कर्मचारीलाई बिदा दिएको छ । होटलका सञ्चालक तथा होटल व्यवसायीहरुको छाता संगठन होटल एसोशियसन अफ नेपाल (हान) का केन्द्रिय सदस्य गोपाल रानाले कोभिड–१९ ले सबै भन्दा धेरै पर्यटन क्षेत्रलाई नोक्सान पुराएको बताउँछन् । उनले नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल पार्नका लागि धेरै लगानी खर्च गरेका होटल व्यवसायीहरुलाई अहिलेको महामारीले ठुलो घाटामा पुराएको जानकारी दिए ।

बुटवलमा होटल क्लव डेनोभो, एभिन्यू, होटल टुलिप जस्ता ठुला होटलहरु अहिले बन्द रहेका छन् । भैरहवा क्षेत्रका स्टार लेवलका होटलहरुमा होटल निर्माणा, होटल नान्स, होटल मौर्य, होटल रेडसन, होटल यती, होटल ह्वाईट लोटस आदि पनि लकडाउन पछि पुर्ण रुपमा बन्द रहेका छन् । लुम्बिनी क्षेत्रमा रहेका होटल पवन प्यालेस, होटल होक्के, होटल कसाई, होटल बुद्धमाया गार्डेन लगायतका जिल्लाका होटलहरु सबै बन्द रहेको सिद्धार्थ होटल एसोशियसन रुपन्देहीले जनाएको छ । पछिल्लो समय रुपन्देहीमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमान स्थलका कारण पनि नयाँ होटलहरु खुल्ने क्रम जारी रहेको छ । जसका कारण पनि अहिले विश्वमा आएको महामारीले गर्दा सबैलाई निरासा बनाएकोे सिद्धार्थ होटल एसोशियसन रुपन्देहीका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले बताउन्छन् । अहिलेको अवस्थामा होटलहरु अगाडी बढन् गाह्रो रहेकाले सरकारले होटलमा लगानी रहेको बैंकको मासिक व्याज, विद्युत र बैंकको मासिक किस्तामा सहुलियत दिनुपर्ने सिद्धार्थ होटल एसोशियसन रुपन्देहीका अध्यक्ष श्रेष्ठको माग रहेको छ । नेपालको पैदलमार्ग हँुदै धेरै पर्यटक आउने बेलहिया समेत रुपन्देहीमा पर्ने भएकाले यहाँ वार्षिक स्वदेशी र विदेशी गरी २० लाख पर्यटकहरु आउने गरेको सिद्धार्थ होटल एसोशियसन रुपन्देहीको तथ्याङकमा देखिन्छ ।

–पत्रकार कमल रायमाझीबाट

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update