पाल्पा, पाल्पाको ऐतिहासिक भगवती जात्राको तयारी तीव्र पारिएको छ । यही भदौ २१ गते बिहीबारका दिन हुन लागेको २०३ औं भगवती रथायात्राको तयारी तीव्र पारिएको श्री ७ रणउजिरेश्वरी भगवती गुठी व्यबस्थापन समितिले जनाएको छ । समितिले सोमबार पत्रकार सम्मेलन गरी जात्रालाई विजय उत्सवकै रुपमा मनाउने गरी तयारी भइरहेको जनाएको हो ।
नेपालले विसं १८७१ र ७२ मा भएको बुटवल जितगढीयुद्वमा अंग्रेजलाई पराजित गरेको थियो । तत्कालीन नेपाली सेनाको पाल्पा कमाण्डर कर्णेल उजिर सिंह थापाले युद्वमा जानु अघि युद्वमा जितेमा तीन तले मन्दिर बनाई भगवतीको सिन्दुरजात्रा गर्ने भाकल गरेका थिए । युद्वमा विजयी भएपछि तत्कालीन कर्णेल उजिर सिंह थापाले विसं १८७७ देखि कृष्ण जन्माष्टमीको भोलिपल्ट विजय उत्सव स्वरुप भगवती जात्रा मनाउ थालेका हुन् । जुन परम्परा आज सम्म चल्दै आएको छ । गुठी व्यवस्थापन समितिले ९ वटा विभिन्न उपसमिति गठन गरी विजय उत्सवलाई भव्य बनाउन लागि परेको छ ।
समितिले प्रकाशनाथ गंगोलको संयोजकत्वमा आर्थिक व्यबस्थापन उप समिति, शुसिल प्रधानको संयोजकत्वमा झाकी व्यवस्थापन प्रचार–प्रसार उप समिति, मुल पुजारी हिक्मतबहादुर बज्राचार्यको संयोजकत्वमा पुजा व्यवस्थापन उपसमिति, पुरन महर्जनको संयोजकत्वमा बलि, पिपा, बाजा व्यवस्थापन उपसमिति, दिपेन्द्र बज्राचार्यको संयोजकत्वमा प्रसाद व्यवस्थापन उपसमिति, शुसिला श्रेष्ठको संयोजकत्वमा स्वागत सत्कार उपसमिति, बसन्तमान सिमागैंडाको संयोजकत्वमा मन्दिर सरसफाई रंगरोगन उपसमिति, ज्ञान कुमार बज्राचार्यको संयोजत्कत्वमा भजन व्यवस्थापन उपसमिति, शुरेस लिगल र सुरेन्द्रमान कर्माचार्यको नेतृत्वमा स्वयमसेवक रथयात्रा रुट उपसमिति गठन गरिएको समितिका अध्यक्ष अशोकमान महर्जनले पत्रकारहरुलाई जानकारी दिए । विजय उत्सवको अघिल्लो दिन ८ बजे देखि मन्दिरमा विधिवत पुजा शुरु गर्ने, भजन कृर्तन गर्ने, राती साढे ११ बजे देखि पौनी १२ बजे भित्र बजार घुमाउने रथलाई ३ पटकसम्म परिक्रमा गराउने र भगवतीको मुर्ति राख्ने कार्यक्रम रहेको समितिले जनाएको छ । भदौ २१ गते साढे १२ बजे देखी १ बजेको बिचमा विजय उत्सव स्वरुप भगवतीको रथ उठाउने कार्यक्रम रहेको र सो कार्यक्रममा प्रमुख अतिथीको रुपमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र विशिष्ट अतिथिको रुपमा नेपाली सेनाका बलाधिकृत रथी सरोज प्रताप रानाको सहभागिता रहने कार्यक्रम रहेको समितिका सचिव प्रकाशनाथ गंगोलले बताए । भगवतीजात्राको लागि करीव ७ लाख खर्च हुने अवस्था रहेकाले सो को व्यवस्थापन भईरहेको आर्थिक व्यवस्थापन उपसमितिका संयोजक गंगोलले बताए ।
यो समिति भगवती गुठिको नाममा रहेको भक्तपुरमा ३६ रोपनी र पाल्पामा १४ रोपनी जगा खोजबिन गरिरहेको र जात्रा पछि भगवती मन्दिरमा दैनिक १४ घण्टा सञ्चालन गर्ने तयारीमा जुटेको गुठिका अध्यक्ष महर्जनले बताए । जात्रालाई भव्य बनाउन सवारी साधन चढेर आउने यात्रुहरुको लागि आतेजातेमा ५० प्रतिशतसम्म यातायात शुल्कमा छुट गर्ने विषयमा पश्चिमाञ्चल बस व्यबसायीसँंग तानसेन बुटवल आतेजातेको लागि सहमती भईसकेको र श्रीनगर यातयात समितिसँग कुराकानी भईरहेको समितिले जनाएको छ । आन्तरिक पर्यटकहरु वृद्धि गर्नको लागि होटलको खाना र बस्नको लागि १५ प्रतिशतसम्म छुट गर्ने विषयमा सहमति भएको समितिले जनाएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले भगवतीजात्रा विरता र ऐतिहासिकतासँग जोडिएकाले सोही अनुसारको कार्यक्रम गर्न समितिलाई सुझाव दिए । समितिले गुठीको सम्पत्ती पूर्ण रुपमा खोजी, आगामी दिनमा अक्षयकोषको रकमबाटै जात्रा सञ्चालन गर्न सकिने गरी काम गर्न समितिलाई अध्यक्ष रानाले जोड दिए । समितिका सल्लाहकार केदारलाल श्रेष्ठले विगतमा हुँदै आएको जात्रा सञ्चालनको अवस्थाबारे जानकारी दिएका थिए । कार्यक्रममा पत्रकार मिलन विश्वकर्मा, विजय बौडेल, नेत्र गैरे, सन्तोष गहतराज, कृष्ण पोखरेल सस्कृतीकर्मी राजेन्द्रगोपाल सिंह लगायतले जात्राको विषयमा जिज्ञासा राखेका थिए । समितिका अध्यक्ष अशोकमान महर्जनको सभापतित्वमा भएको कार्यक्रम समितिका सदस्य पदम न्यौपानेको धन्यवाद र सचिव प्रकाशनाथ गंगोलले गरेका थिए ।
जात्राको दिन सार्वजनिक विदा
भगवती जात्राका दिन प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ । प्रदेश सरकारले राष्ट्रिय गौरवको रुपमा रहेको भगवती जात्रालाई सार्वजनिक विदा दिने निर्णय यस अघि नै गरेको थियो । निश्चित जात्रा निकाल्ने समुदाय र ठाउँलाई केन्द्रित गरेर १ दिन विदा छुट्याइएको प्रदेश सरकारले जनाएको छ ।