पाल्पा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) सञ्चार उपसमितिको भर्चुअल बैंठक सोमवार बसेको छ । नेफ्सुनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा सञ्चार उपसमितिका संयोजक चन्द्र ढकालको सभापतित्वमा भएको कन्फ्रेन्स वैठकमा कोभिड १९ का कारण सिर्जना भएको अप्ठ्यारो अवस्थालाई मध्येनजर गर्दै, सहकारीका भावी योजना र वर्तमान अवस्थाका विषयमा छलफल भएको थियो । बैठकमा सहभागीहरुले कोरोना महामारी नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण सहकारी क्षेत्रमा पारेको असरलाई कम गर्न सरकार र सरोकारवाल पक्ष एक भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।
बैठकमा संयोजक ढकालले मूलुक भरका वचत र ऋणको कारोवार गर्ने सहकारी संस्थालाई पर्ने समस्या समाधान गर्ने बिधिलाई अवलम्वन गर्ने, जिल्ला बचत संघ र प्रारम्भिक सहकारी संस्थाहरुसँग समन्वय गरेर अगाडि बढ्नुको विकल्प नभएको बताएका छन् । उनले, वर्तमान अवस्थालाई आत्मसात गरेर महामारीको सहकारी क्षेत्रले कसरी योगदान गर्न सक्छ भन्ने बिषयमा प्रत्येक सहकारी अभियानमा लागेका संघ सस्था र सदस्यहरुको पनि सरोकारको विषय भएको बताए । बैठकमा सञ्चार उपसमितिका केन्द्रीय सदस्यहरु विपिन शर्मा, लीला थापा, शालिकराम पुडासैनी, जगदीश भट्टराई र नेफ्स्कुनका प्रशासन तथा सञ्चारशाखाका अधिकृत राधा पौडेलले, कोभिड १९ का कारण मुलुकको सहकारी क्षेत्रमा देखा परेका समस्या बारे आ–आफ्नो धारणा राखेका थिए ।