Shittalpati
बगनासकाली गाउँपालिकाको छैठौ गाउँसभा, ३३ प्रतिशत बजेट खर्च

पाल्पा । जिल्लाको बगनासकाली गाउँपालिकाले ३३ प्रतिशत बजेट खर्च गरेको छ । गाउँपालिकाले विनियोजन गरेको कूल बजेट ३८ करोड ९३ लाख मध्ये चालु आर्थिक वर्षको ६ महिनामा ३३.०६ प्रतिशत अर्थात् १३ करोड ८ लाख २१ हजार, १ सय ७५ रुपैयाँ बजेट खर्च गरेको हो । गाउँपालिकाले सोमबार छैठौं गाउँसभा मार्फत चालु खर्चतर्फ ४३.८७ प्रतिशत अर्थात् ११ करोड ५४ लाख ३३ हजार ३ सय ३६ र पूँजीगत तर्फ १२.१९ प्रतिशत अर्थात् १ करोड ५३ लाख ८७ हजार ८ सय ३९ रुपैयाँ खर्च गर्न सफल भएको जनाएको छ ।

गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालको स्वीकृतमा प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन प्रस्तुत गर्दै प्रमुख प्रशासकिय अधिकृत श्रेष्ठले भौतिक पूर्वधार निर्माणका लागि भएका १ सय ६ वटा योजना समझौता मध्ये ४० वटा योजनाहरु सम्पन्न भएको बताए । उनका अनुसार पूर्वाधार विकासतर्फ ८१ र सामाजिक विकासतर्फ २५ वटा योजनाहरु सम्पन्न भएका छन् ।

लेखा व्यवस्थापनलाई पारदर्शी र वस्तुनिष्ठ बनाउन स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली लागु गरी लेखा प्रणालीलाई व्यवस्थित गरेको, गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गरिएको, गाउँपालिकाकालाई बालमैत्री गाउँपालिका घोषणाका लागि गाउँपालिका भित्रका सबै विद्याललय बालमैत्री घोषणा गरिएको, गाउँपालिकालाई फुस रहित बनाउने अभियान अन्तर्गत १ सय ६ घरधुरीलाई कर्कट पाता वितरण लगायतका जनमैत्री कार्यहरु गरिएको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए । अध्यक्ष बस्यालको अध्यक्षता, उपाध्यक्ष सरस्वती चिदीको स्वागत, प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: सोमबार, पुस २८, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update