पाल्पा, मानव बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न चेतनामुलक कार्यक्रमको आयोजना गरी मनाइदैछ । ‘हरेक पीडितसँग पुगौँ, कसैलाई न्यायबाट बञ्चित नपारौँ’ भन्ने नारासहित यस वर्षको दिवस मनाउन लागिएको हो ।
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्ने उद्देश्यका साथ २०६३ सालदेखि नेपालले सो दिवस मनाउन थालेको छ । सन् २००२ मा सम्पन्न सार्कको ११ औं शिखर सम्मेलनबाट पारित यौन शोषणको लागि महिला तथा बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धिलाई २०६३ भदौ २० गते संसदले अनुमोदन गरेपछि सोहि दिनको सम्झनामा यो दिवस मनाउन शुरु गरिएको हो । मानव बेचबिखन तथा ओसारपसार सम्बनधी ऐन, नियमावली बनेको छ तर, उक्त ऐन तथा नियमावलीको उचित कार्यान्वयन नुहँदा मानव बेचबिखन विरुद्धको काम पूर्ण रुपमा सफल हुन सकेको छैन । महिला बेचबिखन हुन नदिन तथा बेचबिखनमा परेको चेलीलाई उद्दार गर्न सरकारले पुनःस्थापना केन्द्रहरु समेत स्थापना गरेको छ ।
नेपालबाट बर्षेनी हजारौ युवायुवती रोजगार तथा अन्य बहानामा खाडी तथा भारतीय भूमिमा बेचबिखनमा पर्दै आएका छन् । मानव बेचबिखन एक जघन्य सामाजिक अपराध भएको भन्दै यसको रोकथामका लागि सरकार प्रयासरत रहेको जनाएको छ तर उल्लेखीय रुपमा सफलता भने पाउन सकिरहेको छैन् । आज सरकार र माइती नेपाल लगायतका महिला बेचबिखन विरुद्ध अभियान सञ्चालन गरिरहेका सामाजिक संस्थाहरुले बेचिएका चेलीबेटीको उद्दार, बेचबिखनबाट जोगाउन चाल्नुपर्ने कदम लगायतका विषयमा चेतनामुलक कार्यक्रम गरी दिवस मनाउँदै छन् ।