Shittalpati
तानसेन नगरपालिकाको राहत कोषमा श्रीनगर यातायातको सहयोग

पाल्पा । जिल्लाको तानसेन नगरपालिकाले स्थापना गरेको कोरोना राहत कोषमा श्रीनगर यातायात सेवा कम्पनी प्रा.लि.ले आर्थिक सहयोग गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा कम्पनीले १ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको हो ।

तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार शाहीलाई कम्पनीका अध्यक्ष डिल बहादुर ढुङ्गानाले उक्त चेक हस्तान्तरण गर्दै विश्वमा महामारीको रूपमा फैलिरहेको नोबल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नेपालमा समेत देखापरेको सन्दर्भमा एकद्वार प्रणालीबाट खर्च गर्ने गरी नगरपालिकाले स्थापना गरेको कोषमा केही सहयोग होस् भन्ने उद्देश्यले राहत रकम सहयोग गरिएको बताए । सार्वजनिक यातायातको क्षेत्रमा भएका अनेक कठिनाई लाई पन्छाउदै विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका सानो सहयोगले केही टेवा पुग्ने विश्वास उनले व्यक्त गरे ।

चेक रकम ग्रहण गर्दै नगर प्रमुख शाहीले कम्पनीले गरेको सहयोगको प्रशंसा गर्दै उक्त राहत रकम विभेदरहित र पारदर्शी ढङ्गले वितरण गरिने बताए । सामाजिक उत्तरदायित्व पुरा गर्दै नाफा भन्दापनि सहयोग र समाजसेवाको रुपमा कम्पनीलाई समर्पित गर्नु महत्वपूर्ण रहेको कम्पनीका कार्यलय प्रमुख भविन्द्र गौतमले बताए । तानसेनमा प्रधान कार्यालय रहेको कम्पनीले जिल्लाका सबै ग्रामीण क्षेत्र तथा छिमेकी जिल्लाहरुमा सार्वजनिक यातायात सञ्चालन गर्दै आएको छ । त्यस्तै बर्तुङ्ग बहुउद्देश्यीय सहकारी संस्था र बर्तुङ्ग खानेपानी उपभोक्ता समितीले पनि तानसेन नगरपलिकाको राहत कोषमा ११/११ हजार रुपैयाँ सहयोग गरेको अध्यक्ष बिधान प्रसाद श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, वैशाख १३, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update