Shittalpati
नेपाल भ्रमण वर्ष सफल पार्न पाल्पा र गुल्मीमा महोत्सव

रामचन्द्र/रमेश
पाल्पा, नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० र प्रदेश पाँच सरकारले सञ्चालन गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ लाई सफल बनाउने उद्देश्यका साथ पाल्पा र गुल्मीमा महोत्सवको तयारी थालिएको छ । आन्तरिक तथा बाÞय पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यले पाल्पा र गुल्मीका दुई निजी संस्थाहरुले छुट्टाछुट्टै महोत्सवको तयारी अगाडि बढाएका छन् ।

नेपाल भ्रमण वर्षलाई सफल बनाउन सातै प्रदेशहरुले आ–आफ्नै ढंगले तयारी गरिरहेका बेला प्रदेश पाँच सरकार र प्रदेश भित्र रहेका १२ वटै जिल्लाहरुले पनि आ–आफ्नै तरिकारले कार्यक्रमहरुलाई अगाडि बढाएका हुन् । भ्रमण वर्ष सफल पार्ने गरी जिल्लालाई पर्यटन विकास र प्रवद्र्धन गर्ने उद्देश्यले उद्योगी तथा व्यवसायीहरुको छाता संगठन पाल्पा व्यापार संघ र गुल्मीको मुसिकोट उद्योग वाणिज्य संघको आयोजनामा महोत्सव हुन लागेका हुन् । सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएका बेला निजी संस्थाहरुले आयोजना गर्न लागेका महोत्सवहरुले लक्ष्य चुम्न महत्वपूर्ण टेवा पुग्ने पर्यटन व्यवसायीहरु बताउँछन् । तानसेनको दमकडा खेल मैदानमा यही फागुन १ देखि ११ गते सम्म पाल्पा व्यापार संघको आयोजनामा हुन लागेको पाल्पा महोत्सवले जिल्लामा आन्तरिक तथा बाÞय पर्यटकहरु भित्र्याउन सहयोग पुग्नेमा जिल्लावासीहरुले विश्वास लिएका छन् ।

सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ घोषित भ्रमण वर्षलाई सफल पार्न महोत्सव आयोजना गर्न लागिएको पाल्पा व्यापार संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक चिरञ्जिीवी पोखरेलले बताए । उनले भने, ‘ऐतिहासिक र पुरातात्विक सम्पदाले भरिपूर्ण रहेको पाल्पामा थुप्रै पर्यटकीय स्थलहरु छन् । तर, तिनीहरुको संरक्षण, प्रवद्र्धन र प्रचारप्रसार हुन नसक्दा यहाँ पर्यटकहरुको आवागन सोंचे अनुरुप हुन सकेको छैनन्, महोत्सवको माध्यमबाट प्रचार–प्रसार गरी पर्यटकलाई आकर्षित गर्न सकियो भने आगामी दिनमा जिल्लाको पर्यटनमा थप टेवा पुग्ने विश्वास लिएकाछौं ।’ जिल्लाको कृषि, व्यापार, कला संस्कृतिको उत्थानका लागि समेत महोत्सव कोशेढुङ्गा सावित हुने अध्यक्ष पोखरेलले बताए ।

महोत्सवमा स्थानीय वस्तु तथा सेवाको प्रदर्शनी, ताजा तरकारी तथा फलफूल प्रदर्शनी, पर्यटन प्रवद्र्धन सम्बन्धी गोष्ठी, कृषि व्ययसाय सम्बन्धी गोष्ठी, औद्योगिक प्रदर्शनी तथा खरिद विक्री, दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रदर्शनी तथा विक्री, विविध संस्कृति झल्किने स्टल, उत्कृष्ट बाल उद्यान, स्थानीय तथा राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको प्रस्तुति, विभिन्न जातजातिका संस्कृति झल्किने साँस्कृतिक प्रस्तुति, लोपउन्मूख अवस्थामा रहेका पञ्चेबाजा तथा साँस्कृतिक प्रतियोगिता, विद्यालयस्तरीय पर्यटन सम्बन्धी साँस्कृतिक प्रतियोगिताहरु रहने छन् । त्यस्तै भ्रमण वर्षलाई लक्षित गर्दै नेपाल मगर संघ र र असनटोल विकास संस्था तानसेनले मगरी र नेवारी खाना महोत्सवको समेत आयोजना गरिसकेका छन् । भ्रमण वर्षलाई सफल बनाउन नगरभित्र रहेका प्राकृतिक, भौगोलिक, जैविक विविधताको पहिचान, औद्योगिक, व्यापारिक, कृषि, पशुपालन उद्यमशीलताको प्रवद्र्धन, संस्कृति क्षेत्रको प्रचार–प्रसार गर्दै पर्यटकहरुको आवागमनलाई प्रोत्साहित गर्न महोत्सव आयोजना गर्न लागिएको मुसिकोट उद्योग वाणिज्य संघका अध्यक्ष सुदर्शन शाक्यले बताए । संघले माघ १५ देखि २६ गतेसम्म वामीटक्सार बजारमा पर्यटन, साँस्कृतिक औद्योगिक एवं व्यापार महोत्सवको आयोजना गर्न लागेको हो । भ्रमण वर्षका लागि सहयोगीसँगै व्यवसायिक हकहितको संरक्षण, संवद्र्धन र व्यवसायको प्रवद्र्धनका लागि पनि महोत्सव सहयोगी बन्ने जिल्लावासीहरुले विश्वास लिएका छन् । महोत्सव अवधिभर पर्यटकहरुलाई हेलिकप्टर मार्फत जिल्लामा रहेका विभिन्न ऐतिहासिक एवं पर्यटकीय स्थानहरु र ढोरपाटन सिकार आरक्षण क्षेत्रको समेत अवलोकन गराईने संघले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, पुस २८, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update