गुल्मी, जिल्लाको रेसुङ्गामा सञ्चालन भएको महायज्ञको आयव्यय सार्वजनिक गरिएको छ । रेसुङ्गा संरक्षण समिति गुल्मीले रेसुंगा धाममा वैशाख २३ गते देखि ३१ गतेसम्म सञ्चालन भएको श्रीराम महायज्ञ श्रीराम कथा महामहोत्सव एवम् विराट सन्तभक्त दर्शन मेलाको आयव्यय सार्वजनिक गरेको हो ।
नौं दिनसम्म सञ्चालन भएको महायज्ञमा ५८ लाख भन्दा बढी आर्थिक संकलन भएको छ । समितिका कोषाध्यक्ष नेत्र बस्नेतले महायज्ञबाट ५८ लाख ४७ हजार ८ सय ९५ आर्थिक संकलन भएको बताए । उनका अनुसार महायज्ञमा ३५ लाख ७१ हजार ४ सय ५० खर्च भएको छ, भने २२ लाख ७६ हजार ४ सय ९५ बचत भएको छ । भारतबाट आएका साधुसन्तका लागि ९ लाख ४६ हजार ९ सय ७१, स्थानीय पण्डित, कन्या दक्षिणामा ९६ हजार ४ सय ११ गरी १० लाख ४३ हजार ३ सय ८२ खर्च गरिएको समितिले जनाएको छ । बचत भएको रकमबाट रेसुङ्गामा वेद विद्या आश्रम खोल्ने, गौशालालाई व्यवस्थित गर्ने र रेसुङ्गाको विकासका निम्ति खर्च गरिने संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले बताए ।
कार्यक्रममा प्रमुख अतिथि रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले धार्मिक क्षेत्रको विकासमा महायज्ञले महत्वपूर्ण भूमिका खेलेको बताए । संरक्षण समितिका उपाध्यक्ष मोतिप्रसाद खनालले रेसुङ्गाको महत्व र प्रचारप्रसारका लागि धार्मिक व्यक्तित्वहरू निरन्तर लागिरहेको बताए । नगरपालिकाले सञ्चालन गरेको जाउँ हिड रेसुंगा नगरपालिकाले सञ्चालन गरेको अभियानले थप उत्साह भरेको उनको भनाई थियो । सोही अवसरमा महायज्ञलाई सफल बनाउन सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको छ । महायज्ञ अवधिभर रेसुङ्गामा एक लाख भक्तजनको सहभागिता रहेको समितिका सचिव गोपाल पन्थीले बताए । कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, समाजसेवी, चन्दा दाता सल्लाहकार शशी पन्थी, दीन पन्थी, रामचन्द्र पन्थी लगायतले आ–आफ्ना धारणा राखेका थिए ।