Shittalpati
तानसेनमा ‘रक्तदान जीवनदान’ विषयक वक्तृत्वकला

पाल्पा, जिल्लाको तानसेनमा ‘रक्तदान जीवनदान’ विषयक वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ । नेपाल रेडक्रस सोसाइटी श्रीनगर युवा रेडक्रस सर्कलको आयोजनामा नगरस्तरीय वक्तृत्वकला प्रतियोगिता भएको हो ।

विद्यार्थीहरुमा रगतको आवश्यकता र महत्व दर्शाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको सर्कलले जनाएको छ । प्रतियोगितामा सहभागीहरुले रक्तदान नै जीवनदान भएको उल्लेख गर्दै रगतको महत्वका बारेमा सबैमा सचेतना जगाउनुु पर्नेमा जोड दिएका थिए । उनीहरुले मानव स्वास्थ्य जस्तो संवेदनशील विषयमा सबै गम्भीर बन्नुपर्ने बताए थिए । प्रतियोगितामा  १० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । जसमा न्यु होराइजन माध्यमिक विद्यालयकी कृश्ला ढुङ्गाना प्रथम भएकी छन् । दमकडा नमुना माध्यमिक विद्यालयकी सपना भण्डारी दोस्रो र मिलिनियम माध्यमिक विद्यालयकी समिक्षा तिमिल्सिना तेस्रो भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाईटी पाल्पाका सभापति बाबुराम कार्कीले सहभागी सबैलाई  बधाई दिदैँ यस्ता कार्यक्रमले नेतृत्व विकाससँगैँ समाजमा सकरात्मक परिवर्तन हुने विश्वास व्यक्त गरे । प्रतियोगिताका निर्णायक मण्डलका संयोजक महेन्द्र पन्थीले  केही नम्बरले तलमाथि भएता पनि सहभागी सबैको प्रस्तुति उत्तिकै राम्रो रहेको बताए । पन्थीले सहभागी प्रतियोगीको अनुहार कुनै दिन सदनमा देखिन सकिने भन्दै प्रतियोगीतामा असफल प्रतियोगीहरुलाई निराश नहुन आग्रह गरे । सर्कलका अध्यक्ष सुदर्शन पाण्डेले आगामी दिनमा यस्ता प्रतियोगिताहरु सञ्चालन गर्दै जाने बताए । कार्यक्रम सर्कलका अध्यक्ष पाण्डेको अध्यक्षता, कार्यक्रम संयोजक अस्मिता भण्डारी स्वागत, सदस्य कमल बस्यालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update