पाल्पा, जिल्लाको रामपुर नगरपालिकाले शैक्षिक गुणस्तर वृद्धि गर्न शिक्षकहरुका लागि उत्प्रेरणामूलक कार्यशाला सञ्चालन गरेको छ । नगरको शिक्षा शाखाले नगरका भित्रका प्राथमिक विद्यालयमा अध्यापन गराउने शिक्षकहरुका लागि एक दिने उत्प्रेरणात्मक कार्यशाला सञ्चालन गरेको हो ।
शैक्षिक गुणस्तर अभिवृद्धि गर्नुको साथै परम्परागत शिक्षा प्रणालीलाई आधुनिक बनाउने उद्देश्यले प्रावि तहका शिक्षकहरुलाई प्रशिक्षण दिइएको छ । नगरको शैक्षिक क्षेत्रलाई कस्तो बनाउने भन्ने विषय विद्यायका शिक्षकहरुमा निर्भर हुने भएकाले उनीहरुलाई आवश्यक प्रशिक्षण दिइएको नगर प्रमुख रमणबहादुर थापाले बताए । उनले कक्षाको शिक्षा र सैद्धान्तिक शिक्षा भन्दा व्यवहारिक शिक्षा आजको आवश्यकता रहेको उल्लेख गर्दै त्यसतर्फ जोड दिन शिक्षकहरुलाई आग्रह गरे । नगर प्रमुुख थापाले भने ‘विद्यालयमा प्रदान गरिने शिक्षामा सैद्धान्तिक सहित व्यवहारिक शिक्षा हुन जरुरी छ ।’ उनले विद्यालयमा अध्यापन गराँउदा हरेक शिक्षकले विद्यार्थीको चहानालाई बुझेर अध्यापन गराउनु पर्नेमा जोड दिए ।
नगर शिक्षा अधिकृत विकल काफ्लेले विद्यालय शिक्षणलाई प्रभावकारी बनाउन शिक्षण विधिको महत्वपूर्ण भूमिका हुने भएकाले सिर्जनात्मक शैलिमार्फत कक्षा शिक्षण गराउन आग्रह गरे । कार्यक्रममा प्रशिक्षक गोविन्द प्रसाद भट्टराईले कक्षा शिक्षणलाई कसरी प्रभावकारी बनाउने,शिक्षण विधि लगायतका विषयमा सहजिकरण गरेका थिए । रामपुर नगरपालिकाका शिक्षा अधिकृत विकल काफ्लेको अध्यक्षता, शिक्षा शाखाका प्राविधिक सहायक अनिता कुँवरको सञ्चालनमा कार्यक्रम भएको थियो ।