पाल्पा, लोक सेवाको तयारीका लागि रामपुरमा निःशुल्क कक्षा सञ्चालन गरिएको छ । रामपुर नगर सरकारले लोक सेवामा सबैको पहुँच पुर्याउने उद्देश्यले नगर भित्रका व्यक्तिहरुलाई एक महिने निःशुल्क लोक सेवाको कक्षा सञ्चालन गरेको हो ।
तयारी कक्षाको एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । कार्यक्रममा रामपुर नगरपालिका– ५ का अध्यक्ष दुर्गा प्रसाद पोखरेलले लगनशिलताका साथ अध्ययन गरेर निजामति सेवामा प्रवेश गर्न लोक सेवाको तयारीमा जुटेकाहरुलाई अनुरोध गरे । लोक सेवाको परीक्षामा उत्तिर्ण भएर निजामति सेवामा प्रवेश गर्न सके आफ्नो भविष्य सुनिश्चित हुने उनले बताए । यस्तै रामपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामहरि पाण्डेले निजामती सेवामा प्रवेश गरी सुशासनसहित नागरिकको सेवामा लाग्न सहभागिलाई आग्रह गरे । उनले लगनशिल र मेहनतका साथ तयारी गर्न सके लोक सेवा आयोगको परिक्षामा सफलता प्राप्त गर्न सकिने बताए ।
रामपुर नगरपालिकाका कार्यपालिका सदस्य दुर्गादेवी भण्डारी गौतमले यस क्षेत्रका विद्यार्थीहरुको आवश्यकतालाई मध्यनजर गरी नगरपालिकाले लोक सेवा तयारी कक्षा सञ्चालन गरेको बताए । रामतुलसी माध्यमिक विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्सालले कक्षामा सिकाईएका ज्ञान सिपको सदुपयोग गरी अगाडि बढ्न सबैलाई आग्रह गरे । शहिद बहुमुखी क्याम्पस रामपुरका स्ववियू सभापति ल्याकत अलिले नगरपालिकाले विद्यार्थीहरुको चहानालाई बुझेर सहि समयमा कक्षा सञ्चालन गरेकोमा धन्यवाद दिंदै बढी भन्दा बढी विद्यार्थीहरुलाई समेट्नुपर्नेमा जोड दिए । रामपुर नगरपालिका– ५ का अध्यक्ष दुर्गा प्रसाद पोखरेलको अध्यक्षता, रामपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामहरि पाण्डेको स्वागत र नगर प्रेस सल्लाहाकार दानु हिस्की मगरको सञ्चालनमा कार्यक्रम भएको थियो । रामतुलसी नमुना माध्यमिक विद्यालयमा भएको तयारी कक्षाको सञ्चालनको पहिलो दिन मालपोत कार्यलय रामपुरका अधिकृत होमबहादुर थापाले गरेका थिए । एक महिनासम्म सञ्चालन हुने तयारी कक्षामा १ सय १८ जनाको सहभागिता रहेको छ ।