Shittalpati
‘यात्रु बोक्ने रातो प्लेटका सवारीलाई कारवाही गर्छाै’

कृष्ण पोखरेल
पाल्पा, जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एवं प्रहरी उपरीक्षक हेरम्व शर्माले यात्रु तथा मालसमान बोक्ने रातो प्लेटका सवारी साधनहरुलाई कानुनी कारवाही गर्ने बताएका छन् । ‘रातो प्लेट भनेको व्यक्तिगत प्रयोगको लागि मात्र हो, रातो प्लेटले नत यात्रुहरु बोक्न पाउँछ, नत रिजर्वमा हिड्न पाउछ, नत माल समान बोक्न पाउछ, यी अवस्थामा भेटिएका रातो प्लेटका सवारी साधनहरुलाई कडा कारवाही गर्छौं’ उनले भने ।

रातो प्लेटका सवारी साधनको निगरानी गर्न ठाउँ ठाउँमा रहेका प्रहरी चौकी तथा ट्राफिक प्रहरीलाई रातो प्लेटका सवारी साधनहरुको कडा निगरानी गरी चेकजाँच गर्न निर्देशन दिएको प्रहरी प्रमुख शर्माले बताए । ‘पाल्पाका ८० भन्दा बढी रातो प्लेटका सवारी साधनहरुले नियमित रुपमा सार्वजनिक यातायातले झै यात्रु बोक्ने, रिजर्वमा हिड्ने र मालसमान बोक्ने काम गर्दै आएका छन् । हामीले सबै प्रहरी चौकीहरुमा नियमित रुपमा यात्रुहरु बोक्दै आएका ति सवारी साधनहरुको नम्वर तथा चालकसहित विवरण उपलब्ध गराएका छांंै,सोही अनुसार कानुन विपरित अवस्थामा भएका रातो प्लेटका सवारी साधनहरुलाई कारवाही गरिने छ’ उनले बताए । सरकारले निजी रातो प्लेटका सवारी साधनले नियमित रुपमा सार्वजनिक यातायात झै गरेर सवारी साधन चलाउन थालेपछी सरकारले ७७ वटै जिल्ला प्रशासन, प्रहरी कार्यालयलाई निगरानी बढाउन, गलत तरिकाबाट सञ्चालन भएका सवारी साधन माथी कारवाही चलाउन परिपत्र गरिसकेको छ ।

यसैगरी जिल्ला प्रशासन तथा जिल्ला प्रहरी कार्यालय पाल्पालाई श्रीनगर यातायात सेवा कम्पनी प्रा.लि.का सवारीधनी चालक, सहचालकहरुले कानुन विपरित सञ्चालन भएका रातो प्लेटका सवारी साधन तत्काल बन्द गर्न माग गरेका छन् । रातो प्लेटका सवारी साधनहरुले अत्याधिक मात्रामा यात्रुहरु बोक्दा आफुहरुको व्यवसाय नै धरापमा परेको बताएका छन् । रातो प्लेटका सवारी साधनले यात्रु बोक्ने कार्य नरोकिए आफुहरु प्रहरी प्रशासनमा सवारी साधन खडा गरी चावी बुझाउनु पर्ने अवस्था आएको प्रा.लि.का अध्यक्ष डिल बहादुर ढुङ्गानाले बताए । उनले भने ‘हामीले नेपाल सरकारले तोकेकै दर भाउँमा यातायात सञ्चालन गरेका छौ, सरकारलाई विभिन्न किसिमका करहरु तिरेका छौं, हामीले लाखौ व्यक्तिलाई रोजगारी दिएका छौ ।’ यस्तो अवस्था रोकिएन भने निजी क्षेत्रबाट सार्वजनिक यातायात सञ्चालन गर्न नसकिने अध्यक्ष ढुङ्गानाले प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला र पाल्पा प्रहरी प्रमुख हेरम्व शर्मा समक्ष बताएका छन् । सर्वसाधारणले सार्वजनिक यातायातबाट स्तरीय सेवा नपाएको, घरदैलोमा सेवा सुविधा नदिने, भाडा तथा रिजर्वमा महङ्गो रकम लिने गरेकाले बाध्य भएर रातो प्लेटका सवारी साधन रोज्न बाध्य भएको बताएका छन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update