Shittalpati
पाल्पाको छहरामा भोली हुने रायमाझी बन्धुहरुको कूल पुजाको तयारी सकियो

पाल्पा, पाल्पाको छहरामा भोली हुने रायमाझी बन्धुहरुको कूल पुजाको सम्पूर्ण तयारी सकिएको छ । देशभरका रायमाझी बन्धुहरु आज पाल्पाको छहरा आइपुगेका छन् । हरेक पाँच/पाँच वर्षमा गरिने कूल पुजाका लागि रायमाझी बन्धुहरु छहरा पुगेका हुन् ।

पाल्पाको छहरा रायमाझीहरुको उद्गमस्थल हो । रायमाझीहरुको पूर्खौली थलो छहरा भएकाले पनि देशभर छरिएर रहेका रायमाझी बन्धुहरु कूल पुजा गर्न हरेक पाँच वर्षमा त्यहाँ पुग्ने गर्दछन् । छहरामा मंगलबार नै हजारौं रायमाझी बन्धूहरु पुगेका हुन् । बोका र पुजाका सामग्री लिएर बन्धुहरु छहरा आइपुगेको रायमाझी कुल देवता समिति छहराका अध्यक्ष झलक बहादुर रायमाझीले बताए । उनका अनुसार भारतबाट पनि रायमाझी बन्धुहरु यस पटक पुजा गर्न छहरा पुगेका छन् । पुजाको सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष रायमाझीले बताए । आज राती रायमाझीहरुको परम्परा अनुसार पूजाआज हुने छ । राती मेडा (बोका)हरु चेकजाँच गर्ने, धुप ध्यवार गर्ने, देवताहरु आह्वान गर्ने काम हुने समितिका अध्यक्ष रायमाझीले बताए । उनले भने‘भोली विहान ६ः३० बजेसम्म प्रसाद संकलन गर्ने काम गर्ने छौं, ७ बजेतिर बाजा गाजा र मेडासहित नजिकै रहेको गवरामा जाने छौं ।’ गवरामा पुगेपछि मेडा चढाउने काम हुने अध्यक्ष रायमाझीले बताए । उनका अनुसार करिब ५ सय मेडा (बोका) बोली दिइने छ । टाढा टाढाबाट छहरा पुग्ने बन्धुहरुका लागि समितिले नजिकै रहेका विद्यालय, सामुदायिक भवनमा बस्ने व्यवस्था मिलाएको छ ।

छहरामा हुने कुल पूजालाई रायमाझी बन्धुहरुको मिलन उत्सवका रुपमा समेत हेर्ने गरिन्छ । अन्य जातिहरुको कूल पूूजा भन्दा रायमाझीहरुको कूल पूजालाई विशेष किसिमले हेर्ने गरिएको छ । यहाँ देशभरका रायमाझी बन्धुहरुको उपस्थितीमा पूजा गरिने भएकाले पनि उनीहरुको पूजालाई मिलन उत्सवका रुपमा हेर्ने गरिएको हो ।

कुलपुजाका लागि मन्दिर सरसफाई गर्नेदेखि पूूजा गर्ने मौलो, गवरो, भोज गराउने वन क्षेत्रको सरसफाई र तिनलाई व्यवस्थित गर्ने काम सकिएको छ । पाहुना र बन्धुहरुलाई मन्दिर र गवरोसम्म सहजै पुग्नका लागि सडकका खाल्टाखुल्टी पुर्ने, सडक मर्मत गर्ने काम पनि सकिएको छ । यस्तै समितिले पानीको उचित प्रवन्ध समेत मिलाएको छ । भोली तानसेनदेखि नै छहरासम्म भिडभाड हुने गर्दछ । लाखौको संख्यामा मानिसहरु कूूल पूजामा पुग्ने भएकाले यहाँको व्यवस्थापनमा ठूलै सकस हुने देखिन्छ । यस दिन सहज रुपमा पाहुनाहरुलाई स्वागत गर्न र पूजालाई व्यवस्थित बनाउन यहाँका रायमाझी बन्धुहरुले उचित प्रवन्ध मिलाएका छन् ।

 

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update