पाल्पा, पाल्पा र रुपन्देहीमा भएमा छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ । पाल्पाको तिनाउ गाउँपालिका, रामपुर नगरपालिका र रुपन्देहीको रोहिणी गाउँपालिकामा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको हो ।
पाल्पाको तिनाउ गाउँपालिका–३ झुम्सास्थित सडकमा सोमबार साँझा टिपरको ठक्करबाट मोटसाइकल चालकको ज्यान गएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । लु.१ क २६१४ नम्बरको टिपरले लु.४४ प ५८०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गुल्मी छत्रकोट गाउँपालिका–३ हर्दिनेटाका ३२ वर्षीय जीवन पन्तको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै पाल्पाको रामपुरमा घाँस काट्ने क्रममा करेन्ट लागेर एक पुरुषको ज्यान गएको छ । आफ्नै घर नजिकैको काब्रोको रुपमा चढेर घाँस काट्ने क्रममा करेन्ट लागेर रामपुर नगरपालिका –५, भम्बकका ३४ वर्षीय गोविन्द कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । मंगलबार विहान काभ्रोको रुखमा चढी घाँस काट्ने क्रममा अकस्मात करेन्ट लागेर कुमाल गम्भीर घाइते भएका थिए । करेन्ट लागेर गम्भीर घाइते भएका कुमालको रामपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।
यस्तै रुपन्देहीको रोहिणी गाउँपालिका–३ झुम्मा परासीस्थित सडकमा ट्रकले ठक्कर दिदां मोटरसाईकल चालकको मृत्यु भएको छ । ना.८ ख २०९७ नम्बरको ट्रकले लु.७५ प ७६७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक ओमसतिया गाउँपालिका–५ तरैनीका २३ वर्षीय निराजन चौधरीको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।