Shittalpati
पाल्पामा हुने रायमाझी कूलपुजाको तयारी अन्तिम चरणमा

पाल्पा, पाल्पाको छहरामा हुने रायमाझी बन्धुहरुको कूल पुजाको तयारी अन्तिम चरणमा पुगेको छ । बैशाख २७ गते हुन लागेको कूल पुजाको तयारी अन्तिम चरणमा पुगेको हो ।

रायमाझी कुल देवता समिति छहराका अनुसार पुजाको ९० प्रतिशत काम सकिएको छ । कुलपुजाका लागि मन्दिर सरसफाई गर्नेदेखि पुजा गर्ने मौलो, गवौरो, भोज गराउने वन क्षेत्रको सरसफाई र तिनलाई व्यवस्थित गर्ने काम सकिएको छ । पुजाको दिन आउनुहुने पाहुना र बन्धुुहरुलाई मन्दिर र गवौरोसम्म सहजै पुग्नका लागि सडकका खाल्टाखुल्टी पुर्ने, सडक मर्मत गर्ने काम पनि सकिएको छ । यस्तै समितिले पानीको उचित प्रवन्ध समेत मिलाएको छ । पाहुनाहरुका लागि आवासको व्यवस्था र स्वगातद्वार निर्माण गर्ने काम भइरहेको स्थानीय पत्रकार भुवन रायमाझीले जानकारी थिए ।

देशभरका रायमाझीहरुको उद्गमस्थलको रुपमा रहेको छहरामा हरेक पाँच/पाँच वर्षमा ऐतिहासिक कूल पुजा हुने गर्दछ । यसलाई रायमाझी बन्धुहरुको मिलन उत्सवका रुपमा समेत हेर्ने गरिन्छ । हरेक जातजातिहरुले आ–आफ्नै विधि र प्रक्रिया अनुरुप कूलको पुजा गर्ने गर्छन् । रायमाझीहरुले पनि आफ्नो पूर्खालाई सम्झिने र सम्मान व्यक्त गर्न परापूर्वकालदेखि नै कूल पुजा गर्दै आएका हुन् । अन्य जातिहरुको कूल पुजा भन्दा रायमाझीहरुको कूल पूजालाई विशेष किसिमले हेर्ने गरिएको छ । यहाँ देशभरका रायमाझी बन्धुहरुको उपस्थितीमा पुजा गरिने भएकाले पनि उनीहरुको पुजालाई मिलन उत्सवका रुपमा हेर्ने गरिएको इतिहासका जानकार राजेन्द्रगोपाल सिंहले बताए ।

रायमाझीहरुको कूल पुजाका दिन तानसेनदेखि नै छहरासम्म भिडभाड हुने गर्दछ । लाखौको संख्यामा मानिसहरु कू्ल पुजामा पुग्ने भएकाले यहाँको व्यवस्थापनमा ठूलै सकस हुने गर्दछ । यस दिन सहज रुपमा पाहुनाहरुलाई स्वागत गर्न र पुजालाई व्यवस्थित बनाउन यहाँका रायमाझी बन्धुहरुले उचित प्रवन्ध मिलाएका छन् । पुजालाई व्यवस्थित र मर्यादित बनाउन विभिन्न समितिहरु निर्माण गरी काम गरिएको रायमाझी कुल देवता समिति पाल्पाका अध्यक्ष झलकबहादुर रायमाझीले बताए । समितिले छहराका वडा अध्यक्ष गोविन्द रायमाझीको संयोजकत्वमा आवास तथा अतिथि सत्कार उपसमिति, समितिका जिल्ला उपाध्यक्ष कमल रायमाझीको संयोजकत्वमा आर्थिक उपसमिति र नारायण रायमाझीको संयोजकत्वमा गवौरो व्यवस्थापनको जिम्मेवारी दिएको छ । विगतमा कूल पुजाको दिन गाउँविकास समितिले स्थानीय विदा दिने गरे पनि अहिले स्थानीय सरकारले त्यस विषयमा निर्णय गरेको छैन ।

प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update