रासस
तम्घास, गुल्मीका पशुचौपायामा ‘लम्पी स्किन’ रोगको संक्रमण बढ्दै गएको छ । करिब एक महिना अगाडिदेखि देखा परेको उक्त रोग अहिले जिल्लाभरी नै फैलिएको छ । संक्रमण बढ्दै गएपछि यहाँका किसान त्रसित भएका छन् । रुरुक्षेत्र गाउँपालिका–५ टाहाटिमका तुला गिरीको होलस्टाइन जातको लैनो गाईको एक महिना अगाडि खुट्टा सुन्निने र फोका उठ्ने भयो ।
त्यसको केही समयपछि घाँटी र शरीरका अन्य भागमासमेत खटिरा तथा फोका उठ्न थाले । त्यसको पनि केही दिनपछि गाई मर्यो । पोखरामा गाईको रगत परीक्षण गराउँदा लम्पी रोग भएको पुष्टि भयो । ‘बिहान र बेलुका आठ/आठ गरी दैनिक १६ लिटर दूध दिने गाई मर्यो’, गिरीले भने ।
अहिले उक्त गाउँका मात्रै ३२ गोठमा रहेका ४५ गाईमा लम्पी रोगको सङ्क्रमण देखिएको स्थानीय मेघराज गिरीले बताए । उनले आफ्नो गोठमा रहेका बाच्छी र गाईमा नै सङ्क्रमण देखिएको तथा उपचारपछि माउ सामान्य अवस्थामा रहे पनि बाच्छी भने गम्भीर अवस्थामा नै रहेको बताए । लम्पीको सङ्क्रमण हुँदा गाईले घाँस, पानी नखाने, दूध घटाउने, शरीरमा खटिरा उठ्ने लगायतका लक्षण देखा पर्ने गिरीको भनाइ छ । रोग नियन्त्रणका लागि भेटेरेनरी तथा पशु सेवा विज्ञ केन्द्र, रुरुक्षेत्र गाउँपालिका र हेफरले पहलकदमी लिए पनि रोग पूर्णरुपमा नियन्त्रणमा आउन नसक्दा आफूहरु त्रसित भएको उनले बताए । अहिले जिल्लाभर पशुमा यो रोग बढी मात्रामा देखिएको छ ।
भेटेरेनरी तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. भरत काफ्लेका अनुसार अहिले जिल्लाको मदाने, गुल्मीदरबार, रुरुक्षेत्र लगायतका ठाउँका पशुमा लम्पी रोग देखा परेको छ । यो रोग नयाँ भएकाले सुरुमा पहिचान गर्न र पछि उपचार गर्न गाह्रो भएको काफ्लेले बताए । रोगको निदानका लागि कार्यालयसँग पर्याप्त खोप नभएको उनले बताए । लम्पी रोग लाग्नै नदिनका लागि पशुको सरसफाइमा ध्यान दिने, झिँगा तथा अन्य जनावरको आक्रमणबाट पशुलाई जोगाउन, पशुलाई चराउन लैजादा विशेष ध्यान दिने लगायतका सुरक्षाका उपाय अपनाउन काफ्लेले आग्रह गरे ।