रामचन्द्र रायमाझी
पाल्पा, लुम्बिनी प्रदेशका सांसद तथा पूर्वमन्त्री वीरबहादुर रानाले मुलुकको विकास र समृद्धिका लागि श्रमिक वर्गहरुको योगदान महत्वपूर्ण रहेकाले उनीहरुको उचित सम्मान गर्नुपर्ने बताएका छन् । सोमबार नेपाल ट्रेड युनियन काँग्रेस पाल्पाको सातौ जिल्ला अधिवेशनलाई तानसेनमा सम्बोधन गर्दै सांसद रानाले संगठीत र असंगठीत रुपमा रहेका श्रमिक वर्गहरुकै कारण मुलुकको समृद्धि र विकास भएकाले उनीहरुको उचित सम्मान गर्नु पर्ने बताएका हुन् ।
‘श्रमिक वर्गले शारिरीक र मानसिक रुपले देश विकासमा योगदान पुर्याएका छन्’ उनले भने ‘ति श्रमिकहरुको उचित सम्मान गर्नु पर्छ ।’ शासन व्यवस्था संस्थागत हुने क्रममा नेपाली श्रम क्षेत्रमा अझै पनि अनेकन समस्या रहेको भन्दै सांसद रानाले ती समस्याहरुको क्रमैसँग समाधान गर्दै मजदूर वर्गकोे हक, हित सुरक्षाका लागि राजनीतिक दल र तीनै तहका सरकार प्रतिवद्ध भएर लाग्नुपर्ने बताए । उनले ‘मजदुर वर्गको आर्थिक हैसियत माथि उकास्न सकेमात्र राजनीतिक परिवर्तनले सार्थकता पाउन सक्छ ।’ सोमबार अन्तर्राष्ट्रिय मजदूर दिवस समेत भएकाले दिनरात श्रम गरेर हातमुख जोर्ने श्रमजीवीहरुको हक, अधिकार र स्वतन्त्रतालाई स्थापित गर्दै सबै वर्गका मजदुरहरुलाई एकताको सूत्रमा बाँध्न दिवसले महत्वपूर्ण सहयोग पुगोस् भन्ने कामना समेत सांसद रानाले गरे ।
उनले मुलुकमा भएका विभिन्न चरणका राजनीतिक आन्दोलनहरुको अग्रपंक्तिमा जुट्ने श्रमिक वर्गको उच्च योगदानको सम्मान गर्दै मुलुकमा लोकतन्त्रात्मक, समाजवादोन्मुख अर्थतन्त्र निर्माण गर्ने संवैधानिक प्रावधानले मूर्तरुप लिन सकेमात्र यो वर्गको उचित सम्मान हुनेमा जोड दिए । श्रमजीवीहरुको पेसागत हक हित, अधिकार र सुरक्षाका क्षेत्रमा क्रियाशिल रहन नेपाल ट्रेड युनियन काँग्रेसलाई सांसद रानाले आग्रह गरे । उनले सबै श्रमिकहरुको सामाजिक सुरक्षाको सुनिश्चितता कार्यान्वयन आजको आवश्यकता रहेकाले त्यसविषयमा सम्बन्धित निकायलाई खबरदारी गर्न समेत ट्रेड युनियनलाई आग्रह गरेका छन् । सांसद रानाले अब इतिहास भजाएर राजनीति गर्ने समय गएको भन्दै इतिहास बनाउने गरी लाग्नुपर्नेमा जोड दिए । उनले अहिलेको उपनिर्वाचनको परिणामले समेत राजनीतिक दलहरुलाई इतिहास भजाएर राजनीति गर्न नसकिने सन्देश दिएको बताए । काँग्रेसका नेता समेत रहेका रानाले पार्टी संगठन बलियो बनाउने दिशामा लाग्न काँग्रसका नेता तथा शुभेच्छुकहरुलाई आग्रह गरे ।
कार्यक्रममा नेपाली काँग्रेस पाल्पाका कार्यवाहक सभापति झपेन्द्र गहिरेले श्रमजीवीहरुको पेशागत हकहित, अधिकार र सुरक्षाका लागि ट्रेड युनियन स्थापना भएको बताए । उनले काँग्रेसलाई बलियो बनाएर लैजाने दिशामा समेत ट्रेड युनियनले महत्वपूर्ण भूमिका खेलेको बताए । उनले भने ‘ट्रेड युनियनले श्रमिक वर्गको उत्थानका लागि मात्र नभई पार्टीको संगठनमा विस्तारमा समेत अहम भूमिका खेलेको छ ।’ काँग्रेसका जिल्ला उपसभापति ज्ञानबहादुर गाहाले श्रमिक वर्गको हकहितका क्षेत्रमा सशक्त भएर लाग्न ट्रेड युनियनलाई आग्रह गरे । कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सचिवद्धय सन्तोष थापा मगर, सुनिता अधिकारी, नेपाल शिक्षक संघ संघीय समिति सदस्य दीपक ज्ञवाली, नेपाली काँग्रेस क्षेत्र नं. २ का क्षेत्रिय सभापति मुक्तिराम जिसी, महासमिति सदस्यहरु विधान श्रेष्ठ,राजेन्द्र गोपाल सिं, ट्रेड यनियनका सल्लाहकार चित्रवलीराम सुवाल लगायतले अधिवेशनको सफलताको शुभकामना व्यक्त गरेका थिए । सोही अवसरमा युनियनले संस्थालाई योगदान पुर्याएका व्यक्तिहरुलाई सम्मान गरेको थियो । युनियनका अध्यक्ष लक्ष्मण रायमाझीको अध्यक्षता, उपाध्यक्ष सरस्वतीराज भण्डारीको स्वागत, सचिव टुनवीर रेस्मीको सञ्चालनमा कार्यक्रम भएको थियो ।