पाल्पा, जिल्लाको रामपुर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नगरलाई आवश्यक योजनाहरुको विषयमा छलफल गरेको छ । लुम्बिनी प्रदेशका सांसद, नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्षबिच सोमबार नगरपालिकामा छलफल भएको हो ।
छलफलमा बोल्दै लुम्बिनी प्रदेशका सांसद राजु प्रसाद श्रेष्ठले हरेक क्षेत्रको विकासका लागि तीन तहको सरकारबिच सहकार्य र समन्वयले मात्र सम्भव हुने बताए । उनले नगरको विकासका लागि नगरको प्राथमिकतामा रहेका योजना सफल पार्न आफुले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । नगर प्रमुख रमणबहादुर थापाले जनताको आधारभूत आवश्यकताको आधारमा नगरका योजनालाई प्राथमिकता दिएर सञ्चालन गरिने बताए । उनले नगरका सबै योजना सञ्चालन गर्न स्थानीय तहले मात्रै सम्भव नहुने भन्दै यसका लागि प्रदेश सरकार र संघीय सरकारको पनि बजेट आवश्यक पर्ने बताए । नगर प्रमुख थापाले रामपुर नगरपालिका मात्र नभई अन्य स्थानीय तहलाई पनि समेट्ने गरी प्रदेश र संघीय सरकारका सांसदहरुले पहल गर्न आग्रह गरे । उपप्रमुख बाल कुमारी थापाले आवश्यकता अनुसार योजना र मागको सम्बोधन गर्नु पर्ने बताईन् । नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रम लुम्बिनी प्रदेशका सांसद राजु प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता र प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेको सञ्चालनमा भएको थियो ।