पाल्पा, आज अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको हो ।
सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नाराका साथ विश्व मजदुर दिवस मनाइएको थियो । नेपालसहित विश्वका मजदुरले मे १ लाई विशेष पर्वका रुपमा मनाउँदै आएका छन् । श्रमिकको हक अधिकारको सुनिश्चितताका लागि दवाब दिने उद्देश्यले हरेक वर्ष श्रमिक दिवस मनाइँदै आइएको हो ।
नेपालमा वि.सं २००७ सालदेखि श्रमिक दिवस मनाउन थालिएको पाइन्छ । विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै श्रमक दिवस मनाउन थालिएको हो । तर २०४६ को राजनीतिक परिवर्तनपछि मात्रै मे १ तारिखमा सार्वजनिक बिदा दिन थालिएको हो । दिवसका अवसरमा आज अखिल नेपाल ट्रेड युनियन महासंघ नेपाल ट्रेड युनियन काँग्रेस, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, नेपाल लोकतान्त्रिक ट्रेड युनियन महासंघ (स्वतन्त्र)लगायतका मजदुर संगठनले ¥याली लगायतका विविध कार्यक्रम गर्दैछन् । श्रमिक अधिकारको व्यवस्था संविधानमा समेत समावेश छ । उक्त व्यवस्था कार्यान्वयनका लागि दवाब दिन मे दिवस मनाउन थालिएको हो ।