Shittalpati
बौद्धिक सम्पत्तिको संरक्षण गर

बौद्धिक सम्पत्ति मानिसको आफ्नो सीप, क्षमता र दक्षताको प्रयोग गरी तयार गरेको सिर्जनात्मक कार्य हो । जसको माध्यमबाट भौतिक संरचना वा वस्तु निर्माण हुन्छ भने उक्त वस्तु वा संरचना माथिको सर्जकको अधिकार बौद्धिक सम्पत्तिको अधिकार हो । तर पछिल्लो समय वौद्धिक सम्पत्ति चोरीको क्रम बढ्दै गएको छ । यो अत्यन्तै दुःखको कुरा हो । शिक्षा क्षेत्रको शोधपत्र चोरीदेखि संगित क्षेत्रका शब्द संगीतको चोरीका घटनाहरु बढ्दै गएका छन् । आफ्नो बुद्धिविवेक प्रयोग गरी सिर्जना गरेका कुरा नै बौद्धिक सम्पत्ति हुन् । मानिसलाई भौतिक सम्पत्ति स्वामित्वको अधिकार भएजस्तै आफूले सिर्जना र रचना गरेका सामग्रीमा स्वामित्वको हकदावी गर्नेे अधिकार कानुनले दिएको छ । प्रतिलिपि अधिकार ऐन र प्रतिलिपि अधिकार नियमावलीमा साहित्य, कला, ज्ञान–विज्ञान र मौलिक एवं बौद्धिक रूपले प्रस्तुत गरिएका रचनामा रचयिताको हक लाग्ने जनाइएको छ । तर त्यो उचित कार्यन्वयन हुन सकिरहेको छैन । नेपाली सजर्क एवं कलाकारले आफ्नो सिर्जनाको संरक्षण र सुरक्षाको प्रत्याभूतिको माग गर्दै आज विश्व बौद्धिक सम्पत्ति दिवस मनाउँदैछन् । बौद्धिक सम्पत्ति सम्बन्धी महासन्धी कार्यान्वयनमा आएको दिनको सम्झनामा हरेक वर्ष अप्रिल २६ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।

पेटेन्ट, औद्योगिक डिजाइन, ट्रेडमार्क, प्रतिलिपि तथा प्रस्तोताका अधिकार, भौगोलिक संकेत वनस्पति प्रजाति संरक्षण, व्यावसायिक गोपनीयता संरक्षण आदि जुनसुकै रूपमा स्थापित अधिकार भएपनि त्यसलाई बौद्धिक सम्पत्ति नै मानिन्छ । आजकल बौद्धिक चोरीसमेत बढिरहेको सन्दर्भमा यो दिवस निकै फलदायी हुने देखिन्छ । दिमागको सिर्जनामा सर्जकको मौलिकता र व्यवसाहिकता दुबै हुन्छ र त्यसको संरक्षणको सस्थागत अभ्यास नै आजको दिनमा चर्चा गरिन्छ । अहिले डिजिटल युगमा त झन् विचार अनि बौद्धिकताको विश्वव्यापी एकै धारमा बाढि झैं आएको छ । यस बौद्धिक अधिकारको संरक्षण विना त सर्जकको सिर्जनाको मूल्य नै रहन सक्ने अवस्था छैन । अहिले बजारमा निस्किएका गीतहरु देखि कपी पेस्ट गर्ने विचार अनि भनाइहरु ति सर्जकका सम्पती हुन या हैनन् ? यदि हो भने के ती कुराहरु ति सर्जकका सम्पतीको उत्पादकत्व के ? आदि सोचनीय कुरा भएका छन् । कतिले नजानेर र कतिले जानीजानी बौद्धिक सम्पत्तिको नक्कल वा चोरी गरिरहेका हुन्छन् । यसमा सचेतना वृद्धिको अभाव पनि एउटा कारण देखिन्छ । अर्काेतिर बौद्धिक सम्पत्ति चोरीमा दण्ड सजाय पनि वृद्धि गर्नुपर्ने खाँचो छ । नेपालको संविधानले सम्पत्तिको हकको व्यवस्था छ । ट्रेडमार्क, पेटेन्ट र डिजाइन भनेका सम्पत्ति हुन् । तिनको हक जसलाई छ, उसकोबाट कसैले छिन्न हुँदैन र छिन्न नदिने वा संरक्षण गर्ने दायित्व सरकारको हुन्छ । यसर्थ बौद्धिक सम्पत्ति संरक्षणका लागि तत्काललाई बलियो र प्रस्ट कानुनको जुन अभाव खट्किरहेको छ, छिटोभन्दा छिटो पूर्ति गर्नतर्फ सरकारको ध्यान जाओस् ।

प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update