Shittalpati
उच्च अदालत तुलसीपुरको आदेशपछि पाल्पा दरबार क्षेत्रका संरचना भत्काउने कार्य रोकियो

पाल्पा, उच्च अदालत तुलसीपुरको आदेशपछि पाल्पा दरबार क्षेत्रका संरचना भत्काउने कार्य रोकिएको छ । पाल्पा दरबार परिसरका संरचना सम्बन्धमा उच्च अदालत तुलसीपुर बुटवल इजलासले छलफलका लागि बोलाएसँगै तानसेन नगर सरकारले संरचना भत्काउने कार्य रोकेको हो ।

नगर सरकारले पाल्पा दरबारलाई सुन्दरता प्रदान गरी विश्व पर्यटकीय गन्तव्यको रुपमा अगाडि बढाउने उद्देश्यले बुधबारदेखि पाल्पा दरबार क्षेत्रका संरचनामा डोजर लगाएर भत्काउने कार्य सुरु गरेको थियो । संरचना भत्काउने कार्य सम्बन्धमा निषेधाज्ञा उत्प्रेषण परमादेशका लागि निवेदन परेकाले तत्कालको लागि संरचना भत्काउने काम रोकिएको नगरपालिकाले एक प्रेस विज्ञप्तीमार्फत जनाएको छ ।

बुधबार ४ बजे उच्च अदालतले म्याद तामेल भई छलफलका लागि बोलाएकाले दरबार क्षेत्र भत्काउने कार्य तत्कालका लागि स्थगित गरिएको तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ । तानसेन नगरपालिकाको कार्यालयलाई विपक्षी बनाई पेश भएको निषेधाज्ञा उत्प्रेषण परमादेश रिट निवेदनको ६ गते ४ बजे म्याद तामेल भई ७ गते छलफलका लागि बोलाईएकाले सो समय पश्चात् हाललाई संरचना भत्काउने कार्य स्थगन गरिएको नगरपालिकाले जनाएको छ । संरचना भत्काउँदा अवरुद्ध बनेको बाटो सफा गर्ने र असुरक्षित वस्तुहरुको व्यवस्थापन भने गर्दै जाने बताइएको छ ।

नगर सरकारले पुरातत्व विभागको पत्रका साथै सर्वदलीय, सर्वपक्षीय छलफलबाट निस्केको निष्कर्षका आधारमा सौन्दर्यीकरण तथा पर्यटकीय क्षेत्रको विकास तथा विस्तारका लागि घरटहरा हटाउने निर्णय गरि कार्यान्वयन गरेको थियो । नगरपालिकाले सटरमा रहेका वहालवालाहरुलाई हटाउन ३५ दिनअघि नै पत्राचार गरेको थियो । सूचनाअनुसार घरटहरामा व्यापारी व्यवसायीले घरटहराका सामान हटाइसकेका थिए । सामान हटाएपछि घरटहरा भत्काउन सुरु गरिएकोमा हाललाई अदालतको पत्रपछि भत्काउने कार्य स्थगित गरिएको नगर सरकारले जनाएको छ । पाल्पा दरबार संग्रहालय परिसरमा तानसेन नगरपालिकाले निर्माण गरेका १२ वटा, घरेलु शिल्पकला बिक्री भण्डार कक्षका १३, रेडक्रस सोसाइटी पाल्पा शाखाका तीन, नेपाल बाल संगठनको एक, कर्मचारी मिलन केन्द्रका तीन वटा घर टहरा रहेका थिए । सामान हटाएपछि ति घरटहरा भत्काइएको हो ।

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update