पाल्पा, स्थानीय तहमा प्रदेश कानुन लगायत विभिन्न कानुनहरुको २ दिने सचेतना कार्यक्रम रामपुर नगरपालिकामा सोमबार देखि शुरु भएको छ । लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा सहकारी मन्त्रालयको आयोजनामा नगरपालिका भित्रका जनप्रतिनिधिहरुका लागि कानुन सम्बन्धी २ दिने सचेतना कार्यक्रम सुरु भएको भएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले कानुन निर्माणको प्रक्रिया र कार्यान्वयन अभावका कारण स्थानीय सरकार सञ्चालनमा केही समस्या आउने गरेको बताइन् । उनले कानुनी प्रक्रियाका विषयमा जनप्रतिनिधिलाई पूर्ण ज्ञान नहुँदा कतिपय बेला अप्ठ्यारो परिस्थिती सिर्जना हुदैँ आएको उल्लेख गरिन् । सचेतना कार्यक्रमले स्थानीय तहको कानुन निर्माण र कार्यान्वयनमा सघाउ पुग्ने उनले विश्वास व्यक्त गरिन् ।
कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले जुनसुकै कानुन समान हुने र सबैलाई समान रुपमा लागु हुने भन्दै विधि र कानुन संवत रुपमा स्थानीय सरकार सञ्चालन हुन आवश्यक रहेको बताए । कार्यक्रम सञ्चालनका लागि जिल्ला भरी मै रामपुर नगरपालिकालाई छनौट गरेकोमा प्रदेश सरकारलाई उनले धन्यवाद दिए । कार्यक्रममा आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालयका उपसचिव खिमानन्द ज्ञवालीले स्थानीय तहले आफै कानुन बनाउने अधिकार पाउनु संघीयताको मुख्य उपलब्धी भए पनि सरकारले अंकुश लगाएको बताए । हरेक स्थानीय तह सञ्चालनका लागि कानुन बनाउने अधिकार प्रदान गरे पनि प्रदेश र संघीय सरकारको कानुनसँग नबाझिने गरी कानुन बनाउने पर्ने प्रावधान दुखद् पक्ष रहेको उल्लेख गरे । केही स्थानीय तहमा कानुनले दिए भन्दा बढी अधिकारको प्रयोग गरेको र केहीमा दिएको अधिकार पनि कार्यान्वयनमा आउन नसकेको अवस्थामा रहेको उनले बताए । सचेतना कार्यक्रममा कानुन र न्याय , देवानी संहिता , फौजदारी संहिता २०७४ , स्थानीय तहको कानुन निर्माण प्रक्रिया लगायतका विषयमा प्रशिक्षण दिइएको छ । श्रीनगर होटलको सभाहल रामपुरमा भएको कार्यक्रमको सहजिकरण लुम्बिनी प्रदेश मुख्यमन्त्रिको कार्यालयका कानुन सचिव राजेन्द्र थापा , आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालयका उपसचिव खिमानन्द ज्ञवाली, अधिकृत सिता घिमिरे लगायतले गरेका छन् । लुम्बिनी प्रदेश आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालयका उपसचिव खिमानन्द ज्ञवालीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रम रामपुर नगरपालिकाका नगर उपप्रमुख बाल कुमारी थापाको प्रमुख आतिथ्यता र माधव मिश्रको सञ्चालनमा भएको हो । कार्यक्रममा रामपुर नगरपालिकाका १० वटै वडाका अध्यक्ष , सदस्य , जनप्रतिनिधि ,कर्मचारी लगायतको सहभागिता रहेको छ ।