पाल्पा, देशभरका परियार समुदायका अगुवाहरु आज पाल्पाको तानसेनमा भेला हुँदै छन् । परियार समाज गुठीकोे स्वर्ण महोत्सव मनाउन उनीहरु तानसेन आएका हुन् । गुठीले सोमबार तानसेनमा पत्रकार सम्मेलन गरी चैत २८ र २९ गते भव्य रुपमा महोत्सव मनाउन लागेको जनाएको छ ।
देशभरबाट झण्डै पाँच सय परियार समुदायका अगुवाहरु तानसेन जम्मा हुने गुठीका अध्यक्ष तीर्थप्रसाद गौतमले पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् । कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष गौतमले बताए । उनले परियार समुदायको हक अधिकारका सवालमा छलफल हुने बताए । आज ऐतिहासिक श्रीनगरडाँडामा गुठी पुजा र भोली सांस्कृतिक झाँकी सहित प्रभात फेरी, विभिन्न विधामा उल्लेखीय योग्दान गरेका राष्ट्रियस्तरका व्यक्तित्वलाई सम्मान, परियार समुदायको उन्नतिका लागि अन्तक्र्रिया, घोषणापत्र जारी गर्दै महोत्सव सम्पन्न गर्ने योजना रहेको समितिका अध्यक्ष गौतमले बताए । उनका अनुसार आजको प्रमुख अतिथि गुठीका जेष्ठ सदस्य ९२ वर्षीय सवर्जित दर्नाल र भोलीको प्रमुख अतिथि प्रतिनिधि सभाका सदस्य जीवन परियार रहेका छन् । सांस्कृतिक कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति समेत रहने छ । राष्ट्रिय कलाकार शिव परियार, संगीतकार राजु सिं लगायतका कलाकारहरु आउने जनाइएको छ । कार्यक्रममा पत्रकार महासंघका उपाध्यक्ष भरत शर्माले परियार समुदायहरु एक ढिक्का भएर अगाडि बढेकोमा खुसी व्यक्त गरे । उनले परियार समुदायबाट अन्य समुदायले समेत सिको गर्नुपर्ने बताए । उपाध्यक्ष शर्माले गुठीले मनाउन लागेको स्वर्ण महोत्सवको प्रचार प्रसारमा पाल्पामा मिडियाहरुले साथ दिने बताए । गुठीका अध्यक्ष तीर्थप्रसाद गौतमको अध्यक्षता, महासचिव सुजन कार्कीको सञ्चालनमा कार्यक्रम भएको थियो ।