पाल्पा, पद्म पब्लिक नमुना माध्यमिक विद्यालय तानसेनकरुो विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुष्करराज रेग्मी चयन भएका छन् । सोमबार बसेको अभिभावकको भेलाले समाजसेवी, शिक्षासेवी, बुद्धिजीवी, लेखक तथा साहित्यकार रेग्मीलाई सर्वसम्मत रुपमा चयन गरेको हो ।
अध्यक्षमा चयन रेग्मी यस विद्यालयका पूर्व विधद्यार्थी, पूर्व शिक्षक र पहिलो अक्षयकोषदाता समेत हुन् । उनी तानसेन बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख समेत हुन् । व्यवस्थापनमा स्नातक र शिक्षा योजना तथा व्यवस्थापन विषयमा एमएड उतीर्ण गरेका रेग्मी पत्रकार, मानव अधिकारकर्मी र साहित्यकार समेत हुन् । रेग्मीले कथा कविता गजल नाटक प्रबन्ध उपन्यास जीवनी शैक्षिक पुस्तक आदि गरी करिव दुई दर्जन जति कृतिहरू प्रकाशित गरिसकेका छन् ।
स्थानीयदेखि राष्ट्रिय स्तरका पत्रपत्रिकामा समेत रेग्मीका लेख रचनाहरू प्रकाशित हुँदै आएका छन् । माानव अधिकार तथा शान्ति समाज पाल्पाका पूर्व अध्यक्ष र पूर्व केन्द्रीय सदस्य समेत रहेका रेग्मीले मानव अधिकारको क्षेत्रमा ३ पटकसम्म पाल्पालाई राष्ट्रिय पुरस्कार प्राप्त गर्ने जिल्ला शाखा बनाएका थिए । रेग्मीले नेपाल नागरिक समाज पाल्पा, रेडक्रस पाल्पाको श्रीनगर उपशाखा, शीत काव्य समाज नेपाल, शिक्षा स्वास्थ तथा साहित्य प्रतिष्ठान र पाल्पा साहित्य समाजको नेतृत्वदायी पदमा रही कुशल कार्यसम्पादन गर्दै आएका छन् । अध्यक्षमा चयन भएसँगै रेग्मीले आफूले पढेको र पढाएको विद्यालयमा अध्यक्ष हुन पाउँदा अपूर्व खुशी लागेको बताएका छन् । विद्यालय व्यवस्थापन समितिमा यानीसरा हिस्की, अजिमूल्लाह ठाकुर, ठकुमाया रूचाल, तिलिसरा बारघरे, हुमा सूर्यबंशी, बाबुरत्न शाक्य (वडा अध्यक्ष), नारायणप्रसाद शर्मा (सदस्य सचिव) रहेका छन् । विद्यालयमा चित्रबहादुर कुमालको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अभिभावक संघ समेत गठन भएको छ ।