पाल्पा,जिल्लाको तानसेन नगरपालिका–३ को सामाजिक क्षेत्रमा क्रियाशिल मिलिजुली टोलविकास संस्थाले वडाका जेष्ठ नागरिकलाई सम्मान गरेको छ । उसले शुक्रबार तानसेनमा एक औपचारिक कार्यक्रम गरी वडाका ८० वर्ष भन्दा माथिका ५७ जना जेष्ठ नागरिकलाई सम्मान गरेको हो ।
वडा अध्यक्ष बाबुरत्न शाक्य, टोलविकास संस्थाकी अध्यक्ष अञ्जु शाक्यले संयुक्त रुपमा जेष्ठ नागरिकलाई सम्मान गरेका हुन् । सम्मानित जेष्ठ नागरिकलाई दोसल्ला, प्रमाणपत्र र पोषणयुक्त खाने कुराले सम्मान गरिएको थियो । जेष्ठ नागरिकलाई सम्मान गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा वडा अध्यक्ष बाबुरत्न शाक्यले जेष्ठ नागरिकहरुलाई वडा कार्यालयले सहयोग गरिरहेको बताए । हरेक व्यक्ति जीवनमा एकपटक जेष्ठ नागरिक हुने बताउँदै उनले जेष्ठ नागरिकको सम्मानमा वडा कार्यालय कहिल्यै पछि नपर्ने उल्लेख गरे । अध्यक्ष शाक्यले वडाका सम्पूर्ण जेष्ठ नागरिकको यस अघि वडा कार्यालयले स्वास्थ्य परीक्षण गरेको बताए । उनले जेष्ठ नागरिकहरुका लागि आगमी दिनमा समेत सहयोग उपलब्ध गराउने प्रतिवद्धता जनाए ।
जेष्ठ नागरिक समाजका पथप्रदर्शक हुन भन्ने मान्यतालाई स्थापित गर्न वडाका जेष्ठ नागरिकलाई सम्मान गरिएको संस्थाकी अध्यक्ष अञ्जु शाक्यले बताईन् । उनले आगामी दिनमा समेत सम्मान कार्यक्रमलाई निरन्तरता दिर्दै जाने उद्घोष गरिन् । ‘संस्थाको नेतृत्व समालेपछिको यस्तो यो पहिलो कार्यक्रम हो, भोलिका दिनमा पनि कार्यक्रमलाई निरन्तरता दिर्दै जान्छौं’ अध्यक्ष शाक्यले भनिन् । समाजका मार्गदर्शकका रुपमा रहेका जेष्ठ नागरिकलाई सम्मान गरेर टोलविकास संस्थाले प्रशंसनिय काम गरेको संस्थाका सल्लाहकार मनमोहन श्रेष्ठले बताए । उनले जेष्ठ नागरिकको सम्मानमा स्थानीय सरकारले समेत ध्यान दिनुुपर्नेमा जोड दिए । संस्थाकी निवर्तमान अध्यक्ष तथा वडा सदस्य सुनिता श्रेष्ठले जेष्ठ नागरिकको समाजप्रतिको योगदानलाई स्मरण गर्दै सम्मान गरिएको बताइन् । उनले जेष्ठ नागरिकको सम्मान गर्नु हाम्रो सभ्यता र दायित्व भएको बताइन् । जेष्ठ नागरिक तथा सम्मानित व्यक्तित्व हरीबहादुर कुंवरले टोलविकास संस्थाले आफु जस्ता जेष्ठ नागरिकलाई सम्मान गरेकोमा खुसी व्यक्त गरे । जेष्ठ नागरिक सम्मानका लागि वडा कार्यालयले आर्थिक सहयोग गरेको थियो । संस्थाकी अध्यक्ष अञ्जु शाक्यको अध्यक्षता, उपाध्यक्ष लक्ष्मी बस्यालको स्वागत, सचिव सञ्जिबीनी मास्केको सञ्चालनमा कार्यक्रम भएको थियो । पछिल्लो समय नेपाली समाजमा जेष्ठ नागरिकलाई अपहेलित गर्ने क्रम बढी रहेका बेला टोलविकास संस्थाले भने उनीहरुलाई सम्मान गर्ने अभियानको सुरुवात गरेकोमा सहभागीहरुले खुसी व्यक्त गरे ।