Shittalpati
पाल्पामा डढेलो जनचेतना सप्ताह

पाल्पा, पाल्पाका विभिन्न वनमा डढेलो नियन्त्रणका लागि डढेलो जनचेतना सप्ताह कार्यक्रम थालिएको छ । डिभिजन वन कार्यलयले बुधबारदेखि सो कार्यक्रम सुरु गरेको हो । डिभिजन वनले बुधबार श्रीनगर क्षेत्रमा बन डढेलो नियन्त्रणका लागि व्यवहारिक अभ्यास गर्दै सप्ताहव्यापी कार्यक्रमको शुुभारम्भ गरेको छ । उसले विहीबार पत्रकार सम्मेलन गरी डढेलो सचेतना सप्ताह कार्यक्रमको जानकारी गराएको हो ।

कार्यक्रममा डिभिजन प्रमुख नारायणदेव भट्टराईले आगलागीका घटनाहरु हुनै नदिन र भइहाले पनि मानव बस्तीमा क्षति नहोस् भन्नका लागि सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरिएको बताए । उनले वन डढेलो नियन्त्रण सबैको साझा जिम्मेवारी भएकाले डढेलो नियन्त्रणमा सबैले सहयोग गर्न आग्रह गरे । प्रमुुख भट्टराईले मानविय कारणले बढी डढेलो लाग्ने गरे बताए । उनका अनुुसार जिल्लामा ९६ प्रतिशत मानविय कारणले डढेलो लाग्ने गरेको हो । डढेलो नियन्त्रणका लागि कार्यालयले व्यापक रुपमा काम गर्दै जाने उनले बताए । उनले भने,‘हामी डढेलो नियन्त्रण गर्ने अभियानमा छौं, यसलाई सबैको सहयोग आवश्यक छ, आम नागरिकलाई सचेतना जगाउन सके पनि यो केही हदसम्म नियन्त्रण गर्न सकिन्छ, त्यसका लागि पत्रकारहरुको सहयोग आवश्यक छ ।’ कहि कतै डढेलो लागेको र कसैले लगाएको थाहा पाएमा समेत वन कार्यालयलाई खबर गरिदिन प्रमुख भट्टराईले पत्रकारहरुलाई आग्रह गरे । उनले डढेलो लगाउनेलाई तत्काल वन ऐन अनुसार कारवाही गरिने समेत बताए । उनले भने,‘आगो लगाउने जो कोहीलाई पनि हामी कानुुनी कारवाही गर्छौ, यो वा त्यो भन्ने नाममा कसैलाई पनि छुट छैन् । गल्ती गरे आफ्नै बाबा आमालाई समेत कारवाही गछौं ।’ आगो लगाउनेलाई वन ऐन अनुसार ६० हजार जरिवाना र ३ वर्ष कैद हुने प्रमुख भट्टराईले बताए ।

वन कार्यालयले सप्ताहव्यपी कार्यक्रममा डढेलो नियन्त्रणका लागि अग्नी रेखा सरसफाई, सेलिब्रटीसहितको सांस्कृतिक कार्यक्रम गर्ने जनाएको छ । उसले तानसेनमा राष्ट्रिय कलाकार चिज गुुरुङ्ग र अस्मिता डल्लाकोटीमार्फत डढेलो सम्बन्धी सचेतनामूूलक सांस्कृतिक कार्यक्रम गर्ने जनाएको छ । कार्यक्रममा वन कार्यालयका कार्यक्रम प्रमुख उपेन्द्र अर्यालले स्थानीय स्रोत साधान र जनशक्ति परिचालन गरी डढेलो नियन्त्रण गरिने बताए । पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष भरत शर्माले आम नागरिकलाई सचेत गराउन सके वनमा डढेलो नियन्त्रण गर्न सकिने बताए । नेपाल प्रेस युुनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्यालले सामुदायिक वन उपभोक्ताहरुकै लापरवाहीले डढेलोले पश्रय पाइरहेको बताए । उनले सामुदायिक वनलाई प्रभावकारी बनाउन नसक्दासम्म डढेलो नियन्त्रण गर्न नसकिने धारणा व्यक्त गरे । कार्यक्रममा जिल्लाका क्रियाशिल पत्रकारहरुले डढेलो नियन्त्रण वन कार्यालय एक्लैले नियन्त्रण गर्न नसकिने भएकाले स्थानीय सरकारसँग समेत समन्वय गर्न वन कार्यालयलाई आग्रह गरे । वन डढेलो नियन्त्रणमा वन उपभोक्ता समूहको नै अग्रणी भूमिका रहने उनीहरुले बताए । कार्यक्रम वन कार्यालयका रेन्जर यमलाल पोखरेलको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update