कृष्ण पोखरेल
पाल्पा, नयाँ प्रमुख जिल्ला अधिकारीका रुपमा पाल्पा आएका बन्धु प्रसाद बास्तोलाले पाल्पाको जल्दोबल्दो समस्या समाधान पहिलो प्राथमिकता रहेको बताएका छन् । बर्दियाबाट सरुवा भई आएका प्रजिअ बास्तोलाले जिल्लाका पत्रकारहसँगको भेटघाटमा यहाँ थुप्रै समस्याहरु रहेकाले तिनीहरुको समाधानका लागि आफ्नो मुख्य प्राथमिकता रहने बताएका हुन् ।
उनले समयमै सम्पन्न हुन नसकेका सरकारी विकास निर्माणका योजनादेखि शान्ति सुरक्षा, सुशासन, ट्राफिक व्यवस्थापन, खानीबाट उत्पन्न समस्या लगायतका विषय समाधान गर्न दत्तचित्त भएर लाग्ने प्रतिवद्धता व्यक्त गरे । प्रजिअ बास्तोलाले भने ‘जिल्लामा रहँदासम्म इमान्दार, कर्तव्यनिष्ट भई शुसासनको क्षेत्रमा सक्रिय भएर लाग्ने छु ।’ उनले सरकारको मुख्य प्राथमिकता नै सुशासन र विकास भएकाले कुनै प्रकारको बद्मासी र अनियमित कार्य नगरी विकास र सुशासनमा समर्पित हुनुपर्ने आवश्यकता औल्याए । सिडिओ बास्तोलाले कर्मचारीले जनतालाई दिने सेवाप्रवाह र सन्तुष्टिका आधारमा शासकीय व्यवस्थाको सफलता निर्भर हुने भएकाले यसतर्फ सबै जना संवेदनशील हुनुपर्ने आवश्यकता औल्याए । पाल्पामा धेरै प्रकारका समस्याहरु रहेकाले सबैको सहकार्यबाट मात्रै त्यस्ता सबै खाले समस्या समाधान हुन सक्ने विश्वास उनले व्यक्त गरे ।
जिल्लामा समयमा सम्पन्न नभएका सरकारी विकास निर्माणका योजनाहरुको फाईल मगाई समस्या समाधानमा जुटेको समेत उनले बताए । अलपत्र भएका योजनाहरु के कति कारणले सम्पन्न हुन नसकेका हुन, सम्झौता तथा सम्पन्न मिति, बजेट खर्चको अवस्था, समस्या समाधानका उपायहरुको बारेमा एक हप्ता भित्र लिखित जवाफ पेश गर्न जिल्लाका सरकारी कार्यालयका प्रमुखहरुलाई अनुरोध गरेको पनि प्रजिअ बास्तोलाले बताए ।
कार्यालयबाट आएका प्रतिवेदनहरुको समिक्षा गर्न, कार्यालय प्रमुख, जिल्लाका राजनीतिक दल, दश वटै पालिका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, पत्रकारहरु, प्रतिनिधी तथा प्रदेश सासंसहरुबिच संयुक्त अन्तक्र्रिया गर्ने प्रजिअ बास्तोलाले बताए । पाल्पामा भएका खानीहरुको अनुगमन गर्ने, नागरिकहरुलाई परेको समस्या बारे जानकारी लिने, ओभर लोड न्यूनिकरण गर्ने, राजमार्ग नियमित रुपमा सूचारु गर्न पहल गर्ने प्रजिअ बास्तोलाले बताए । सरकारका गतिविधी सबै पारदर्शी रहेकाले पत्रकारहरुले चाहेको सूचना कार्यालयबाट सहज रुपमा पाउने वातावरणमा सहयोग गर्ने समेत उनले बताए ।
जिल्लामा देखिएको राहदानी समस्या समाधानका लागि दैनिक अनलाइन फारम भरेका एक सय जनासम्म व्यक्तिहरुको फोटो खिच्ने व्यबस्था मिलाउने काममा समेत आफु जुटेको प्रजिअ बास्तोलाले बताए । कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष रेखीराम राना, महासंघका पूर्व अध्यक्ष गोविन्द भट्टराई, संघका सचिव यज्ञमुर्ति तिमिल्सीना, पत्रकारहरु मिलन विक, कृष्ण कार्की, कृष्ण पोखरेल लगायले जिल्लामा शुसासन कायम गर्न प्रजिअ बास्तोलासँग अनुरोध गरे । लमझुङबासी रहेका प्रजिअ बास्तोला २०५९ सालमा शाखा अधिकृत हुँदै २०७० मा उपसचिव र २०७७ मा सहसचिव भएका थिए ।