नेपालको तेस्रो राष्ट्रपतिका रुपमा रामचन्द्र पौडेले सोमबारदेखि विधिवत् रुपमा जिम्मेवारी सम्हालेका छन् । शपथ ग्रहण गरेसँगै पौडेल मुलुकको अभिभावक र संविधानको संरक्षकका रुपमा रहनेछन् । नेपालको संविधान २०७२ जारी गरेर प्रथम राष्ट्रपति डा.रामवरण यादव बिदा भए भने दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल संविधान कार्यान्वयनका दृष्टिले महत्वपूर्ण मानिए पनि विवादरहित हुन सकेन । अघिल्ला दुवै राष्ट्रपतिले निर्वाह गरेका भूमिका विवादमा तानिए । डा.यादवको कार्यकालमा तत्कालीन प्रधानसेनापति रुक्माङ्गद कटुवाल प्रकरण निकै विवादित बन्यो । राष्ट्रपतिका रुपमा भण्डारीले निर्वाह गरेको भूमिका पनि विवादित भयो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनका लागि दुई पटक सिफारिस गरे । दुवै पटक राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटनको सिफारिसलाई सदर गरिन् भने दुवै पटक सर्वोच्च अदालतले विघटन असंवैधानिक रहेको भन्दै बदर गरिदियो । राष्ट्रपतिले संविधानको मर्म र भावना अनुरुप आफ्नो भूमिका निर्वाह गर्न नसक्दा आलोचना भयो । शीतल निवासबाट राष्ट्रपति बाहिर निस्किँदा पनि सडक अवरुद्ध हुने गरेको भन्दै चर्को असन्तुष्टि पनि देखिन्छ । जसका कारण राष्ट्रपति पदको गरिमा नै घट्दो छ । यो अवस्थामा नवर्निवाचित राष्ट्रपति पौडेललाई राष्ट्रपतिको गरिमामय पदको मर्यादा राख्न मात्र होइन संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध देखा परिरहेको जनमतलाई आफ्नो व्यवहार र आचरणले निष्तेज तुल्याइ संविधानको संरक्षकको भूमिकामा आफूलाई खरो उतार्नुपर्ने मुख्य चुनौति छ ।
राष्ट्रपतिको गरिमा कस्तो बनाउने, यो जिम्मेवारीमा रहेर आलोचित भएपनि दलको स्वार्थ पूरा गर्ने या सबैको साझा अभिभावकका रुपमा आफूलाई स्थापित गराउने भन्ने विषय सोही पदमा रहने नै निर्धारण गर्ने हो । तत्कालका लागि दल विशेषको ट्यागबाट आफूलाई मुक्त तुल्याएर सबैको अभिभावकका रुपमा स्थापित गराउनु नवनिर्वाचित राष्ट्रपति पौडेलका लागि चुनौतीको विषय मानिएको छ । यस प्रकारको भूमिकाले संविधानको पालना र संरक्षण स्वतः हुने प्रस्ट छ । संविधानको संरक्षकका रुपमा समेत लिइने उक्त पदको गरिमा आफैमा उच्च छ । दलनिकट रहेर गरिएका कामकारबाहीहरुले राष्ट्रपतिलाई बदनाममात्रै नबनाउने अझ त्यससँगै आलङ्कारिकरुपमा रहेको त्यो पदलाई समेत कमजोर तुल्याउने स्थिति रहन्छ । यस अर्थमा पनि राष्ट्रपति पौडेल कुनै पनि कुराबाट विचलित हुनु भनेको राष्ट्रपति संस्थामाथि नै खतरा र आँच आउनु हो । यसर्थ असंवैधानिकरुपमा चालिएका हरेक कदमहरु प्रत्युत्पादक हुने अवस्थालाई दृष्टिगत गर्दै विगतबाट राष्ट्रपतिले शिक्षा लिएर अबको चुनौतीपूर्ण बाटो तय गर्नुमै देशको भलाइ हुनेछ ।