कृष्ण पोखरेल
पाल्पा, रैनादेवी माध्यमिक विद्यालय भुवनपोखरीले आफ्नो स्वर्ण महोत्सव मनाउन लागेको छ । विद्यालयले चैत्र २ गते स्वर्ण महत्सव मनाउन लागेको हो ।
महोत्सवका लागि आवश्यक तयारी तिव्र पारिएको विद्यालयले जनाएको छ । रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरी गोखुङ्गामा २०२९ साल चैत्र २ गते विद्यालयको स्थापना भएको हो । उसले अहिले ५० वर्ष पुरा गरेको छ ।
महोत्सवको लागि विद्यालयले विभिन्न तयारी गरिरहेको छ । अहिले स्वर्ण महोत्सवका लागि मुल समारोह समिति र उप समितिहरु गठन गरी काम भईरहेको विद्यालयका प्रधानाध्यापक रिषिराम पोखरेलले बताए । स्वर्ण महोत्सवको अवसरमा विद्यालयले फागुन २१ गतेदेखी चैत्र २ गतेसम्म विभिन्न कार्यक्रम गर्ने कार्यतालिका बनाई काम गर्दै आएको छ । विद्यालयले फागुन २१ गते आधारभुत तह खेलकुद कार्यक्रम गरिसकेको छ भने फागुन २३ गते निबन्ध लेखन र भलिवल प्रतियोगिता गरेको छ । फागुन २४ गते विविध बौद्धिक कार्यक्रम, फागुन २५ गते भलिबल प्रतियोगिताका अन्तिम खेल, फागुन २६ गते हाजिरी जवाफ प्रतियोगिता, फागुन २७ गते वडास्तरीय हिज्जे प्रतियोगिता, फागुन २८ गते पालिकास्तरीय हाजिरी जवाफ प्रतियोगिता र फागुन २९ पुरस्कार वितरण कार्यक्रम गरेको विद्यालयका प्रधानाध्यापक पोखरेलले जानकारी दिए । फागुन ३० गते विद्यालयका पूर्व शिक्षक तथा विद्यार्थी पुर्नमिलन तथा सम्मान कार्यक्रम, चैत्र १ गते सरसफाई र चैत्र २ गते सरस्वती पुजा, प्रभातफेरी, सभा, बार्षिक प्रतिवेदन, बक्ताहरुको भनाई, स्थानीय कला संस्कृतिको प्रर्दशनी जस्ता कार्यक्रमहरु राखिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदिप पौडेलले जानकारी दिए ।