Shittalpati
विकासमा विलम्ब नगर

विगतमा जस्तै यस वर्ष पनि विकास कछुवाकै गतिमा अगाडि बढेको छ । राजनीतिक दलहरुको आपसी खिचातानीका कारण आशातित विकास हुन सकेको छैन । यो राजनीतिक दल र सरकारको कमजोरी हो । राजनीतिक किचलोले मुलुकको विकास छायाँमा परेको छ । मुलुक संघीयतामा गए पनि राजनीतिक अस्थिरताका कारण विकास कछुवाको गतिमा हिडेको छ । यो अत्यन्त दुखको कुरा हो । अनियमिता र भ्रष्टाचारको पारो झन् पछि झन् बढ्दो छ ।

नेपालमा विकास निर्माणको कार्यमा सुरुदेखि नै गम्भीर समस्या देखिँदै आएको छ । विकास कार्यक्रमको तर्जुमा गर्दा तथा योजना बनाउँदा प्लानिङको अवस्थामा नै गम्भीर खालका त्रृटिहरू देखिने गरेका छन् । ती त्रृटिहरू सजिलैसँग फिल्डमा पनि पुग्ने गरेका छन् । विकास तलबाट सुरु हुनुपर्ने मोडेलविपरीत हाम्रा विकास आयोजनाहरू केन्द्रमा नै बन्ने गरेका छन् । विकास आयोजनाहरू बनाउँदा तलदेखि माथिसम्म छलफल तथा राय सल्लाह लिएर बनाउनुभन्दा माथि कुनै पाँचतारे होटेलमा बसेर योजना बुन्ने काम गरिँदै आएको छ । यस्तो प्रवृत्तिले वास्तविक विकासको अनुभूति हुुन सक्दैनन् । त्यसैले यस्ता प्रवृत्तिको तत्काल अन्त्य गर्नुपर्छ । देशमा विकास हुँदै नभएको होइन् । विगत केही वर्षमा देशका कुना–कुनामा सडक पुगेका छन् । ठाँउ–ठाउँमा स्कुल, कलेज र अस्पतालहरू खुलेका छन् । सञ्चारका सुविधाबाट कमै मानिस बञ्चित छन् ।

शिक्षा, स्वास्थ्य र प्रविधिको क्षेत्रमा नेपालले फड्को मारेको छ । यसर्थमा विकासको नाममा केही नभएको भन्न मिल्दैन । तर पनि यो विकास पर्याप्त भने छैन । विकासले आर्थिक पक्षलाई पनि समेट्नुपर्छ । जसले गर्दा मुलुुकको आर्थिक विकासले फड्को मार्न सकोस् । तर अहिलेको अवस्थामा त्यसो हुन सकिरहेको छैन । देश आर्थिक संकटमा गुज्रिरहेको छ । यस्तो अवस्थामा आर्थिक विकासले गति लिनुपर्ने हो । तर उल्टै विकासमा विलम्ब गरिएको छ । अहिलेको अवस्थामा सरकार र सम्बन्धित निकायले विकासप्रति चासो र सक्रियता देखाउनुपथ्यो । यसो नहुनुु विडम्बना हो । मुलुक अहिले संकटकालीन अवस्थामा छ । यस्तो अवस्थामा राजनीतिक दल, सरकार र सम्बन्धित निकायले गम्भीरताका साथ विकास गर्नतर्फ अग्रस हुन जरुरी छ ।

प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update