मुलुकले गणतन्त्रको तेस्रो राष्ट्रपतिका रुपमा रामचन्द्र पौडेललाई पाएको छ । परिपक्व राजनीतिज्ञ पौडेललाई देशको अभिभावको रुपमा पाउनु निःसन्देह खुसीको कुरा हो । समाजवादी चिन्तक र प्रयोगकर्ताका रूपमा चिनिने पौडेल स्वच्छ छवि, सादा जीवन, उच्च विचारका प्रयोगधर्मी मानिन्छन् । पौडेल स्पष्ट वक्ता र प्रजातान्त्रिक समाजवादका व्याख्याता समेत भएकाले मुलुकको अभिभावकीय भूमिकामा रहनुले राष्ट्रपति संस्था मात्र होइन, स्वयं गणतन्त्रकै पनि ओज बढेको छ । राजनीतिक योगदान तथा व्यक्तित्वका हिसाबले मुलुकले सर्वोच्च पदमा सुयोग्य पात्र पाएकोमा दुई मत छैन । तर यस अघि राजनीतिक क्षेत्रमा जुन किसिमको स्वच्छ छवि बनाएका थिए अब त्यसको मूल्यांकन भने हुने छैन । किन कि अब रामचन्द्र सबैको अभिभावक बनेका छन् । राष्ट्रपति पद सबै दल, जनता र राष्ट्रको हितमा काम गर्ने सम्मानित पद हो । यसमा पौडेलले आफ्नो भूमिका र जिम्मेवारीलाई कदापि विर्सने काम गर्नु हुँदैन ।
परिवर्तनका पक्षधर शक्तिहरूले नै घरीघरी बाटो बिराइरहेको र त्यसकै बलमा प्रतिगामी शक्तिहरू सलबलाइरहेका बेला संविधानको परिपालना र संरक्षणमा राष्ट्रपति संस्था निर्विवाद एवं निष्पक्ष ढंगले खरो उत्रन आवश्यक छ । त्यसमा नवनिर्वाचित राष्ट्रपति पौडेलले आफ्नो इमान्दारीता प्रदर्शन गर्न कजुस्याई गर्नु हुँदैन । विगतमा राष्ट्रपति पदमा रहेर विद्यादेवी भण्डारीले जसरी विवादस्पद काम गरिन् त्यो बाट अहिलेका नवर्निवाचित राष्ट्रपतिले पाठ सिक्नुपर्दछ । संविधानको संरक्षकका रुपमा समेत लिइने उक्त पदको गरिमा आफैमा उच्च छ । दलनिकट रहेर गरिएका कामकारबाहीहरुले राष्ट्रपतिलाई बदनाम मात्रै बनाउँदैन उक्त पदलाई समेत कमजोर तुल्याउने स्थिति रहन्छ । यस अर्थमा पनि भावी राष्ट्रपति कुनै पनि कुराबाट विचलित हुनु भनेको राष्ट्रपति संस्था माथि नै खतरा र आँच आउनु हो । संविधानमा राष्ट्रपतिका निम्ति जे–जस्ता अधिकार र कर्तव्यका सीमा तोकिएका छन्, त्यहीभित्र रहँदै जनभावना अनुरुप चल्न सक्नुु पौडेलका लागि उचित हुनेछ । पदको दुरुपयोग भयो भने मुलुक भड्खालोमा पर्न सक्छ । तसर्थ संवैधानिक राष्ट्रपतिको दृष्टान्त पेश गर्दै गणतन्त्र र राष्ट्रपतिको गरिमा कायम राख्ने काम होस् । गणतान्त्रिक मुलुकको तेस्रो राष्ट्रपति पौडेललाई सफलताको शभकामना !