हरेक वर्ष मार्च ८ को दिन विश्वभर अन्तर्राष्ट्रिय नारी दिवस मनाइन्छ । बुधबार पनि विश्वभर नै यो दिवस मनाइयो । महिलाको हक, अधिकार, पहिचान र सम्मानका लागि भएको संघर्षको सम्मानस्वरुप यस दिन यो दिवस मनाउने गरिन्छ । घर परिवार, समाजको साथै राष्ट्रको प्रगतिमा नारीको सधैं महत्वपूर्ण भूमिका रहँदै आएको छ । तर परापूर्वकालदेखि नै नारीलाई सधैँ पछाडी पारिएको छ । नेपालको सन्दर्भमा हेर्ने हो भने अझ महिलाहरूको अवस्था अत्यन्त दयनीय रहेको छ । देशको जनसंख्याको आधाभन्दा बढी हिस्सा ओगटेका नारीहरू अझै पनि दाइजो, घुम्टो, विधवा र छाउपडी प्रथा जस्ता कुरीतिहरू झेल्न बाध्य छन् । धेरैजसो महिला अझै पनि भात, भान्सा, मेलापात, घाँसदाउरामै सीमित छन् । पछिल्लो केही समय यता केही परिवर्तन आएपनि यसले सार्थकता प्राप्त भने गर्न सकेको छैन ।
हरेक वर्ष नारी दिवसकै दिन नारी अधिकारका सवालहरु उठ्ने गर्दछन् । तर अघि पछि यस्ता सवालहरुले प्राथमिकता पाउँदैनन् । नेपाली समाजमा महिलाले इतिहासदेखि आजसम्म बर्बर उत्पीडनको सामना गर्दै आइरहेका छन् । उनीहरुले विभिन्न उत्पीडनविरुद्ध अथक आन्दोलन गर्दै आएका छन् । लैंगिक, जातीय तथा वर्गीय उत्पीडनविरुद्ध, सामाजिक न्याय र सामाजिक तथा राजनीतिक रूपान्तरणका निम्ति नेपाली महिलाले पु¥याएको योगदान कुनै पनि अर्थमा कम आँक्न मिल्दैन । नेपाली समाजमा निहित सामाजिक कुरीति, कुसंस्कार र महिलामाथि हुने शोषण तथा दमनविरुद्ध राणाशासनको अवधिमै योगमायाको नेतृत्वमा भएको विशाल विद्रोह एक ऐतिहासिक दृष्टान्त हो । २०५२ सालदेखि सुरु भएको जनयुद्धमा पनि महिलाको अत्यधिक सहभागिता थियो । करिब ४० प्रतिशत महिला त माओवादी जनमुक्ति सेनामै सामेल भएको बताइन्छ । तर पनि उनीहरु अझै चुलोचौकोमा मात्रै सीमित बन्नुपरेको छ । यो अत्यन्त दुखको कुरा हो । महिलाहरुको सवालले चौतर्फीरुपमा प्राथमिकता नपाएको होइन, पाएको छ तर जब त्यसलाई कार्यान्वयन गर्ने अवस्था आउँछ त्यतिबेला भने त्यस्ता पक्षहरुलाई स्वतः सुनियोजितरुपमै ओझेलमा पार्ने काम हुन्छ ।
संसदीय अभ्यासका क्रममा नारीहरुका नाममा गरिएको ३३ प्रतिशत आरक्षणको मुद्दाले पनि उनीहरुलाई केवल दयाको पात्रभन्दा माथि उठ्न दिएको पाइँदैन । संसद्मा महिलाहरुको प्रतिनिधित्व त्यसअनुरुप रहने गरिएको बताइए पनि पछिल्लो समयमा भएको निर्वाचनमा भने उनीहरुलाई प्रायः पाखा लगाइएको सन्दर्भले नारी मुक्तिको सवाल अझ शक्तिशाली नै रहिरहेको प्रतित हुन्छ । उनीहरुले पाउनुपर्ने हकअधिकारको मुद्दा भने दिनानुदिन ओझेलमा पर्दै जानु विडम्बनाको विषय पनि हो । वर्षमा एक दिन मात्र नारी मुक्तिको सवाल पुनरावृत्त हुने नियतिले पनि यो अवस्था सिर्जना भएको हो । यसर्थ नारी मुक्तिको सवाललाई सार्थकता प्रदान गर्न दिवसका दिनजस्तै अन्य समय पनि बहस र छलफल हुन जरुरी छ ।