Shittalpati
नारी दिवस र यसको सार्थकता

‘मार्च ८’ लाई संसारभरि अन्तर्राष्ट्रिय नारी दिवसका रूपमा मनाउने गरिन्छ । आज पनि विश्वभर यो दिवस मनाइँदै छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाउन लागिएको छ । विशेषगरी यस सन्दर्भमा नारी स्वतन्त्रता तथा सशक्तीकरणको सवालमा धेरै चर्चा गर्ने गरिन्छ र बराबरी हिस्सेदारीको माग पनि हुने गर्छ । आजका दिनमा यी मुद्दा जति सशक्त ढंगले उठाउन सम्भव छ, त्यो विगतमा निरंकुश राणाशासनको समयमा होस् वा पञ्चायती कालखण्डमा सहज थिएन । त्यतिखेरको संकुचित राजनीतिक वातावरणका कारण पनि स्वतन्त्रताको विषयमा चर्चा गर्नै सम्भव नभएको हो । तर, जब २०४६ सालमा राजनीतिक परिवर्तन भई बहुदलीय व्यवस्थाको पुनर्बहाली भयो, त्यसपछि स्वतन्त्रतादेखि सशक्तीकरणसम्मका विषयमाथि चर्चा र छलफलले क्रमशः गति लिन थाल्यो । संसारका अन्य देशहरुमा झैं प्रत्येक वर्ष नेपालले पनि अन्तर्राष्ट्रिय नारी दिवस मनाउँदै आएको छ । तर बिडम्वना, नेपाली महिलाले आफ्नो लैङ्गिक अधिकारको समानताको अनुभूति पूर्ण रुपमा सुरक्षित गर्न पाएको देखिंदैन । जनसंख्याको हिसाबले आधा धर्ती ओगट्ने नेपाली महिलाको अवस्था नाजुक रहेको विभिन्न परिसूचक तथा तथ्याङ्कहरुले देखाउँछ । लैङ्गिक विभेदका आधारमा रहेका यस्ता किसिमका अनगिन्ती असमानता हटाउन समाजमा लैङ्गिक न्याय र समानता कायम गर्न नेपालले अनेकौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिवद्धताहरु जनाएको पनि छ । वर्तमान संविधानले लैङ्गिक आधारमा कुनै पनि महिलामा कुनै किसिमका असमान ब्यवहार हुन नदिने प्रष्ट उल्लेख गरेको छ । तर विडम्वना नै मान्नुपर्छ आजको समयसम्म पनि नेपाली महिलाहरु परिवार, समाज तथा राष्ट्रकै दृष्टिमा पनि दोस्रो दर्जाको नागरिकका रुपमा बाँच्न बाध्य छन् । यो अत्यन्त दुखको कुरा हो ।

भनिन्छ, नारी गहना हुन्, नारी देवी हुन् । नारीको पुजा गर्नुपर्छ । नारी महान हुन्छन् नारी समान हुन् तर यो भनाइमा मात्र सीमित छ, जो व्यवहारमा लागु छैन । नारीको हकहितका लागि थुप्रै संघसंस्थाले कार्यक्रम पनि नगरेका होइन तर यस्ता कार्यक्रम दुर्गममा भन्दा सहरमा मात्र केन्द्रित हुन पुगे । ग्रामीण तथा दुर्गमका महिलालाई आफ्ना बारेमा कहिल्यै चेतना भएन ? दुर्गम क्षेत्रका महिलाहरुलाई नारी दिवस के हो ? नारी दिवस के का लागि मनाइन्छ भन्ने समेत थाहा छैन । नेपाली नारी हरेक कोणबाट पीडित छन् । चाहे त्यो घरभित्र हुने हिंसा होस् अथवा समाजबाट हुने हिंसा होस् । आखिर नारी दिवस मनाएर मात्र नारीको पहिचान र अधिकार प्राप्त हुन सक्दैन । सबै क्षेत्र र वर्गका नारीमा उनीहरुको हक अधिकारका लागि सचेत गराउन सके मात्र दिवसले सार्थकता पाउन्छ । यसर्थ यसतर्फ सबैले ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: बुधबार, फागुन २४, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update