सदाझैँ यसवर्ष रंगहरुको पर्व होली अर्थात् फागु पूर्णिमा आज र भोलि धुमधामका साथ मनाइँदैछ । काठमाडौं उपत्यकासहित पहाडी भू–भागमा आज र तराईमा भोलि होली मनाइँदैछ । विभिन्न थरीका रंगले खुसी अनि जीवन रंगीन बनाउने, हिन्दूहरूको प्रमुख पर्वको रुपमा रहेको होली पर्व हिन्दू संस्कृतिमा प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमा अर्थात् होली पूर्णिमाको दिन मनाइन्छ । अन्य ठूूला–ठूूला चाड जस्तै रमाइलो गरी मनाइँने होली नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो । हिन्दू धर्म मान्नेहरुको बाहुल्य भएको नेपालमा होलीको रौनक पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म भव्य हुन्छ । प्राचिनकालमा हिरण्यकश्यपु नामक राक्षसका प्रल्हाद नाम गरेका छोरा थिए । बाबु पापिष्ट राक्षस भएता पनि छोरा प्रल्हाद भने बडो विष्णुभक्त थिए । बाबुले आफ्नो छोरालाई विभिन्न कोशिस गरेर आफ्नो बाटो अँगाल्न लगाउँदा पनि भगवान् विष्णुको भक्त प्रल्हादको डेग नचलेपछि आफ्नी बहिनी होलिकालाई हिरण्यकश्यपुले छोरा प्रल्हादलाई आगोमा हालेर मार्न लगाए । तर प्रल्हादको विष्णुभक्तिले गर्दा आगोले नजल्ने तपस्या पाएकी होलिका उल्टै भष्म भइन् भने प्रल्हादलाई आगोले केही गर्न सकेन । सोही खुसीयालीमा होलीपर्व चलेको हो भन्ने किंवदन्ती रहेको छ ।
हरेक वर्ष रंगहरुको पर्व भनिने होलीमा परिवार, इष्टमित्र तथा साथीभाइ बीचमा एक आपसमा विभिन्न रंगहरु दलेर खुसियाली साटासाट गर्ने गरिन्छ । तर पछिल्लो समय मनोरञ्जनका रुपमा मात्र मनाउँदा विकृतपूर्ण बन्दै गएको छ । यसका लागि युवावर्ग सचेत हुन आवश्यक छ । जहाँ, जसरी मनाउने गरे पनि पर्वको उद्देश्य एकआपसमा भाइचारा बढाउने, असत्यमाथि सत्यको विजय, खुसीयाली बाँड्नु नै हो । यस्ता पर्वले मानव जीवनमा सौभाग्यलाई आमन्त्रित गर्दछन् । जुन वसन्त ऋतुको आगमनसँगै हर्षपूर्वक स्वागत गरिन्छ । तर मनाउने क्रममा देखिएका साँस्कृतिक मूल्य, मान्यता विपरितका व्यवहारले भने केही खल्लो हुने गरेको छ । होली खेल्न मन नहुने वा होली नखेलेका व्यक्तिलाई जबर्जस्ती रंग लगाइदिने गरिन्छ । यो गलत हो । पर्व हो भन्दैमा कसैको पनि इच्छा विपरीत रङ्ग दलिदिनुु हुुँदैन । रङमा खुर्सानीको धुलो हाल्ने, फोहोर पानीले छ्याप्ने गरेको समेत पाइएको छ । यस्ता कार्यले उत्सव नभएर होलीप्रति नकारात्मक सोंच जन्माउने गर्दछ । जबर्जस्ती गर्नेलाई कारवाही गरिने भने पनि व्यवहारिक रुपमा लागू भएको छैन । जेहोस् कसैको इच्छा विपरीत कोही पनि होली खेल्नु हुँदैन । हामीले संस्कार र संस्कृति जोगाउनु पर्दछ । यस्ता पर्व पूर्खाले सुम्पेका सम्पत्ति हुन् । यिनलाई जोगाउन सकिएन भने पर्वको महत्व कम हुँदै जानेछ । तसर्थ होली पर्वलाई सभ्य र सुुसंस्कृति तरिकाले मनाऔं सबैमा होलीको शुुभकामना !