राजनीतिक दलहरु बिचको सत्ता मोहका कारण देश एक अनपेक्षित मोडमा पुगेको छ । सत्ता, शक्ति, पद र एक–अर्काको आरोप–प्रत्यारोपमा देशको राजनीति केन्द्रीत छ तर, कोभिडका कारण संकटपूर्ण अवस्थामा रहेको अर्थतन्त्रप्रति कमैको चासो छ । सबै दलहरू एक ठाउँमा उभिएर सामना गर्नुपर्ने बेलामा सत्ताको लुछाचुडीका कारण देश दुर्घटना उन्मुख छ । अर्थतन्त्रको विकासमा गम्भीर असर देखिन थालेको छ । अर्थतन्त्र चलायमान गर्न सक्रिय गर्नुपर्ने निकायहरू नै अहिले राजनीतिक अस्थिरताबाट प्रभावित हुन थालेका छन् । लामो राजनीतिक अस्थिरतामा डुबेको र स्थिर सरकारका कारण स्थिर नीति आएर मुलुक समृद्धितर्फ उन्मुख हुन्छ भन्ने जनअपेक्षा अहिले हराइसकेको अवस्था छ । अहिले दुुई महिना अघि बनेको एमालेसहितको सत्ता गठबन्धन भत्किएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाला प्रचण्ड अहिले अल्पमतमा परेका छन् । राष्ट्रपतिको निर्वाचन राष्ट्रिय समहतिमा गर्ने गरी नेपाली काँग्रेसलाई प्रचण्डले सघाउने निर्णय गरेसँगै सत्ता साझेदार दलहरु एमाले र राप्रपाले छोडेपछि प्रचण्ड अल्पमतमा परेका छन् । तर प्रचण्डले भने काँग्रेस सहितका ८ दलसँग गठबन्धन गरिसकेकाले राष्ट्रपतिको निर्वाचनपछि प्रचण्डकै नेतृत्वमा सरकार बन्ने निश्चित छ ।
सत्ता कसको हो को सत्तामा जान्छ त्यो गौण विषय हो । मुलुकले विकास खोजेको छ । अस्थिरता होइन, स्थिरता खोजेको छ । तर, त्यो अहिले सम्भव देखिँदैन । जनताका आम समस्या समाधान गर्नुपर्ने अहिलेको आवश्यकता हो तर दलहरू भने आफ्नो व्यक्तिगत स्वार्थमा लिप्त हुँदा मुलुकमा संकट पैदा भएको छ । राष्ट्रपति निर्वाचनमा जसले जिते पनि मुलुकले भने हार्ने अवस्था सिर्जना भएको छ । यसो हुनु हुँदैन । अहिलेको आवश्यकता के हो जनताले के खोजेका छन् त्यसतर्फ दलका नेताहरूको ध्यान पुगेको देखिँदैन । हिजो सत्तामा भएकाहरू बाहिरिने र सत्ता बाहिर भएकाहरू सत्तामा जाने कामले निरन्तरता पाउनेबाहेक मुलुकले केही पाउने देखिँदैन । अहिलेको आवश्यकता भनेको विकास र समृद्धि हो । आम जनताले यही चाहेका छन् । जनता र देशको हितमा राजनीतिक गर्ने हो भने यस दिशामा राजनीतिक दलहरुले गम्भीर भएर सोच्न जरुरी छ ।