आज ‘पृथ्वीका सबै जीवहरूको सुरक्षाका लागि साझेदारी’ भन्ने नाराका साथ विश्व वन्यजन्तु दिवस मनाइँदैछ । विश्वको जैविक विविधताको संरक्षण गर्ने उद्देश्यले हरेक वर्ष विश्व समुदायले मार्च ३ तारिखका दिन विश्व वन्यजन्तु दिवस मनाउने गर्दछ । विश्वमा पाइने सम्पूर्ण जगंली जनावर र रुखबिरुवाहरुका बारेमा सचेतना जगाउन र तिनको संरक्षण संवद्र्धनका लागि यो दिवस महत्वपूर्ण हुनेछ । विश्वमा भएका हरेक प्राणी अनि बिरुवाको लागि पृथ्वी साझा थलो हो ।
सबै प्राणी र बिरुवाहरूको सुरक्षा, संवद्र्धन अनि उपस्थिति मानवको दायित्व हो । तर पछिल्लो समय चोरी सिकारी, पैठारी र तस्करहरूको सक्रियताले नेपालमा धेरै जनावर र बिरुवाहरूको विनास हुँदै गएको छ । विश्व पर्यावरणको इकोसिस्टममा हरेक प्राणीहरूको आ–आफ्नै महत्व र योगदान रहे पनि मानव समुदायले त्यसको संरक्षण गर्न नसक्नुु दुखद् हो । सबै प्राणीहरूको सुरक्षा आजको आवश्यकता हो । मानव जीवनको दीर्घकालीन उपस्थितिका लागि पनि वन्यजन्तु र बिरुवाहरू सबैको रक्षा गर्न आवश्यक छ ।
नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनका आधारमा दिगो प्रयोगको वातावरण बनाउन नसक्दा वन्यजन्तु र वनस्पतिको दीर्घकालीन अस्तित्वमा असर परेको छ । राष्ट्र र जनताले गर्न सक्ने आर्थिक लाभ समेत गुमेको छ । नेपालमा २ सय १२ प्रजातिका स्तनधारी वन्यजन्तु, ८ सय ८७ प्रजातिका पक्षी, १ सय ४९ प्रजातिका सरीसृप र ५६ प्रजातिका उभयचर पाइन्छन् । यीमध्ये २० प्रजातिका स्तनधारी र चार प्रजातिका चराहरू संरक्षित वन्यजन्तुमा सूचीकृत गरी तिनीहरूको शिकार गर्न प्रतिबन्ध लगाएको ५ दशक पुगिसकेको छ । नेपालमा लागू गरिएका विभिन्न संरक्षणका मोडलहरूले वन्यजन्तु र तिनीहरूको वासस्थान संरक्षणमा टेवा पुर्याए पनि गैंडा र बाघको अवस्था बाहेक अन्य संरक्षित जनावरहरूको स्थितिको बारेमा वैज्ञानिक अध्ययन र अभिलेख अत्यन्त न्यून छन् । सरकार र सम्बन्धित निकायले वन्यजन्तुको अभिलेख राख्नुपर्दछ । मानव र वन्यजन्तुका बीच द्वन्द्व चलिरहेको छ । उनीहरुको वासस्थल प्रत्येक दिन अतिक्रमणको चपेटामा पर्दैछ । जति–जति वनजंगल अतिक्रमणमा पर्छ त्यति–त्यति वन्यजन्तुको अस्तित्व संकटमा पर्दै जाने खतरा छ । नङ र मासु सरहको वन र वन्यजन्तुको सम्बन्ध र यी दुबैसँग मानव जातिको अस्तित्व जोडिएकाले त्यसको संरक्षणमा मानव समुदायसँगै सरकारी तवरबाट ध्यान दिन जरुरी छ ।