आज फागुण शुक्ल पक्ष अष्टमी । यसदिन रंगहरुको पर्व फागू पूर्णिमा सुरु भएको संकेत स्वरुप विधिवत रुपमा चीर गाड्ने गरिन्छ । पाल्पाको तानसेनमा लामो समयपछि आज चीर गाडिदै छ । प्रत्येक वर्ष होलीको अवसरमा फागुण शुक्ल पक्ष अष्टमीको दिन तानसेनको विभिन्न स्थानमा चीर गाडिन्थ्यो तर पछि यो क्रम टक्सार टोलमा मात्र सिमित रर्यो । टक्सारटोलमा पनि वि.सं २०७१ सालमा अन्तिम पटक चीर गाडिएको थियो । त्यसपछि छोडियो । आर्थिक अभावका कारण प्राचीन संस्कृति लोप हुन पुयो । त्यति मात्र होइन टक्सारका अग्रजहरु असक्त हुँदै जानु, युवाहरुले चासो नदिनु, स्थानीय सरकार संस्कृति संरक्षणप्रति उदासिन हुनु जस्ता कारणले यो संस्कृति हराउँदै जान पुगेको हो । आजको दिन धेरैले यसको संरक्षण गर्ने र संस्कृतिलाई निरन्तर दिने कुरा गर्छन् तर त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरामा कोही पनि अग्रस हुँदैनन् । यो अत्यन्त दुखको कुरा हो । अहिले तानसेन भजन संरक्षण समितिको सक्रियता तथा पहलमा यसपाली चीर गाडिने भएको हो । भजन संरक्षण समितिका अध्यक्ष अग्रज दाजु मंगल प्रसाद बज्राचार्यको निर्देशन तथा सक्रियतामा भजन संरक्षण समितिका सदस्यहरु सबै होलीको लागि चीर गाड्न तयार भएका छन् । त्यही अनुसार आवश्यक आर्थिक स्रोतको जोगाड गरिएको छ । केही भजन संरक्षण समितिको तर्फबाट सदस्यहरुको सहयोग र केही देउराली सांस्कृतिक अध्ययन प्रतिष्ठानको सहयोगमा यो सम्भव भएको छ । साधुवाद भजन संरक्षण समिति तानसेन तथा आर्थिक श्रोतबाट सहयोग गर्ने देउराली प्रतिष्ठान तथा अन्य सबैलाई लोप भैसकेको पारम्परिक संस्कृति पुनः जागरुक गराउन थालेको मा । आज चीर लिन जाने तथा गाड्ने काम हुने भएकाले संस्कृतिमा रुची राख्नेहरुलाई आज दिउँसो ३ बजे टक्सारमा जमा हुन पनि आÞवान गरिएको छ । यसपाली चीर गाड्ने दिन फागुन १५ गते सोमबार परेको छ, भने फागु पूर्णिमा २३ गते मंगलबार परेको छ । यहाँ तानसेनमा मनाईने चीर र होली पर्वका विषयमा चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ ।
पौराणिक ग्रन्थ अनुसार चीर वास्तवमा कृष्ण र गोपिनीहरु बीचका प्रणय कथा हो । यमुनाको तिरमा कृष्णले गोपिनीहरुको चीरहरण गरेका थिए । उनीहरुको लुगा सबै रुखमा लुकाइ दिइ रंग छ्यापेका थिए । यसैको प्रतिकात्मक स्वरुप चीर गाडिएको भनिन्छ । त्यसको बदलामा गोपिनीहरुले फाल्गुनको महिनामा रंग र अविरले कृष्णलाई छ्यापी जुन उत्सव मनाए त्यसलाई होली पर्वको रुपमा मानि आएको पनि भनिन्छ । शब्दार्थ नेपाली शब्द सागरका अनुसार फागुनको शुक्ल अष्टमीको दिन लिगों गाडेर टांगिने रंगीचंगी कपडा ध्वजा वा लिङ्गलाई चीर भनिन्छ । होलीको आरम्भ चीर ध्वजोत्थान गर्ने परम्पराबाट हुन्छ । फागुण अष्टमीका दिन काठमाडौंको बसन्तपुरमा रंगविरंगी कपडाका टुक्राहरुले सजाइएको बाँसको एउटा लामो लिंग गाडिन्छ र होली शुरु भएको मानिन्छ । त्यस्तै गरी हनुमानढोका दरबार भित्र पनि अरु चीर गाडिन्छ । यसरी रंगीन कपडै कपडाले सजाएको चीर ध्वज होलीको अन्तिम दिन पूर्णिमाको रात्री चीरदाह गरे पछि समापन हुन्छ । यस्तैगरी होली के हो र होली किन मनाइन्छ भन्ने विषयमा पौराणिक ग्रन्थ अनुसार विष्णुका घोर विरोधी हिरण्यकशीपुले आफ्नो छोरा प्रÞलादले विष्णुको ज्यादै भक्तिभाव गरेकोले सहन नसकी प्रÞलादलाई मार्न आफ्नो बहिनी होलीकाको काखमा प्रल्हादलाई राखी आगो लगाइदिए । तर आगोले केही हानी नगर्ने वरदान पाएकी होलीका आगोमा जलेर खाक भइन् भने भगवान श्री विष्णुको कृपाले प्रÞलादलाई केही भएन । यसरी ‘होलीका’ दहन भएको दिनलाई होलीको पर्वको रुपमा लिने गरिएको भनिन्छ । हुन त होलीलाई कसैले होली भन्छन् त कसैले फागु । यसदिन आफ्ना घर परिवार, आफन्त, साथीभाई मिलेर हर्षोउल्लासका साथ अविर लगाई दिने, विभिन्न रंग र पानीले छ्याप्ने, नाँचगाँन गरी मनोरंजन गर्ने गरिन्छ ।
विभिन्न रंगहरुको माध्यमबाट एक आपसमा प्रेम, आत्मियता, सद्भाव आदान–प्रदान गर्न पनि यो पर्व महत्वपूर्ण मानिन्छ । यो हाम्रो परम्परा हो जुन प्राचीनकालदेखि चल्दै आएको छ । प्राचीनकालमा वसन्तोत्सवको रुपमा मनाइने गरिएको यो परम्परा कालान्तरमा भगवान कृष्ण, प्रह्लाद, होलिका, ढुण्डा आदि कथाहरुमा आधारित हुँदै गएको देखिन्छ । नेपालमा होली अष्टमीको दिनदेखि पूर्णिमाको दिनसम्म मनाउने चलन छ । होलीको खास रौनकता भने पूर्णिमाको दिन मात्र हुन्छ त्यसैले पनि यस दिनलाई होली पूर्णिमा वा फागु पूर्णिमा भनिन्छ । फागुको आरम्भिक शब्दरुप होलका थियो, जसलाई हिजोआज होली भनिन्छ । होलकाको अर्थ हुन्छ रंग । रंगसँग सम्बन्ध भएकाले यसलाई होलका पर्व भनिएको हो । होली पर्व वसन्त ऋतुको आरम्भको बेला मनाइन्छ ।
पुस माघको उराठिलो शिशिर ऋतु समाप्त भई बसन्त ऋतुको आगमन प्रकृतिको अनुपम उदाहरण हो । रुख, बिरुवाहरुमा नयाँ पालुवा पलाउनु, डाँडाभरी लटरम्म म्यालका फूलहरु फुल्नु अनि जंगल नै रक्ताम्ये भएर गुराँसको फूल फुल्नु वसन्त ऋृतु आगमनको संकेत हो । वसन्तको आगमनसँगै प्रकृतिले काँचुली फेर्न थालेपछि प्राकृतिक सौन्दर्य र रसरंगको उमंगले प्राणी जगत र मानवलाई तरंगित तुल्याएको हुन्छ । फागुण पूर्णिमामा पर्ने फागुपर्वलाई कतिपयले बसन्तोत्सव अर्थात् मदनोत्सवको रुपमा पनि मनाउने गर्दछन् । फागुपर्वको इतिहास ऋतुराज बसन्त र बसन्तका मित्र मदन अर्थात् कामदेवकोे पूजाबाट सुरु हुन्छ । त्यसैले यस उत्सवलाई मदनोत्सव या बसन्तोत्सव भन्ने गरिन्छ । संसारमा मदन अर्थात् कामदेवको अस्तित्व तथा महत्वलाई कसैले नकार्न सक्दैन । सम्पूर्ण सृष्टि नै कामको वंशमा छ । वेदमा कामलाई सृष्टिको मूल मानिएको छ । भनिन्छ मदनोत्सवका देवता कामदेवले प्रकृति र पुरुषलाई मेल गराई सृष्टिलाई गतिशील तुल्याउँछ । शरिरमा काम तृष्णा बढ्ने र सो को निराकरणको लागि नयाँ वातावरणमा होली कै रुपमा नाच्ने गाउने आदि क्रियाकलाप तथा आमोदप्रमोदका आवश्यकतालाई महसूस गराएको भनिन्छ । होली पर्व वास्तवमा एक आपसमा ख्याल ठट्टा, हंसीमजाक गर्ने पर्व हो । यस पर्वलाई मानिसहरुको मन भित्र संचित भएर गुम्सिएर रहेको भावनहरुलाई बाहिर निकाली शान्ति र शितलताको अनुभव गरिदिने पर्व मानिन्छ ।
तानसेनमा नेवारहरुको बस्ति बसेदेखि नै होलीको अवसरमा चीर गाड्ने सांस्कृतिक परम्परा रहेको पाइन्छ । चीर गाड्ने काम पहिला अन्य टोलहरुमा भएता पनि पछि यो केवल टक्सारटोलमा मात्र सिमित भयो । चीर गाड्नको लागि म्यालको रुखको हाँगा चाहिन्छ । सो म्यालको हाँगा काट्न जान भजन मण्डली भजन गाउँदै जान्छन् । काट्नु भन्दा अगाडि नाइकेले रुखलाई पूजा गरी धूप बत्ति बालिसकेपछि मात्र हाँगा काटिन्छ । हाँगा काटेर ल्याउँदा पनि भजन गाउँदै आउनु पर्छ । सो हाँगालाई टक्सार गणेश मन्दिर आगनमा गाडिन्छ तथा त्यस हाँगामा रंगी विरंगी कपडाका टुक्राहरु झुण्ड्याई भजन गाइन्छ । रुखमा रंगीचंगी कपडा झुन्डयाउनु भनेको कृष्णजीले गोपिनीहरुको वस्त्र रुखमा लुकाएको भनिन्छ । भजनमा सहभागी सबैलाई प्रसादको रुपमा समयबजी खुवाइन्छ । द्वादशीको दिन विहान होली खेलिन्छ राती भजन गाइन्छ तथा प्रसाद खुवाइन्छ । पहिले पहिले फागु पूर्णिमाको दिन होली गाउने टोली हात हातमा पितलको पिचकारी लिई फागु गाउँदै बजार परिक्रमा गर्द थिए भने यिनीहरुलाई घर–घरबाट रंगले छयाप्ने गरिन्थ्यो तर आजकाल यो चलन छैन । पूर्णिमाको दिन सो गाडिएको चीरलाई दहन गर्न तथा फागु समाप्त भएको जनाउन पनि भजन गाउँदै सो हाँगालाई लगेर फालिन्छ तथा फर्केर आएपछि सबैलाई प्रसाद खुवाइन्छ । यी सबै गर्नलाई आर्थिक स्रोतको जोहो गर्न त्यति सजिलो छैन । टक्सारटोलको प्रत्येक घर–घरबाट अलि अलि भए पनि स्रोत जुटाइन्छ । हुन त टक्सारटोलवासीहरुले प्रत्येक जात्रा चाडपर्वको लागि आर्थिक स्रोत जम्मा गर्दै आएका छन् । तर कतिसम्म कहिलेसम्म गर्ने भन्ने सवाल उठ्न थालेको धेरै भयो ।
यही आर्थिक स्रोत जुटाउने झन्झटले गर्दा पनि युवाहरु संस्कृति संरक्षणमा उदासिन भएको स्पष्ट हुन्छ । अब यदि तानसेनलाई सांस्कृतिक शहरको रुपमा राखी राख्ने हो भने भएका पुराना संस्कृति संरक्षणको जिम्मा अब स्थानीय सरकारले लिनुपर्छ । तानसेनमा भएका संस्कृतिको संरक्षणलाई लोप हुन नदिने हो भने स्थानीय सरकारले यससँग सम्बन्धित समूहलाई प्रोत्साहन गर्नुपर्छ । आवश्यक बजेटको व्यवस्था गर्नुपर्छ । केवल दुई चार हजार दिएर ल गर भन्ने हो भने भोलि तानसेनको पारम्परिक संस्कृति लोप हुँदै जाने छ, एकादेशको कथा हुनेछ तब यसको जवाफदेही स्थानीय सरकार नै हुनेछ । अस्तु !
(लेखक देउराली सांस्कृतिक अध्ययन प्रतिष्ठान पाल्पाका अध्यक्ष समेत हुन् ।)