सुशिल बस्याल ‘राष्ट्रप्रेमी’
त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत ५ गते गर्ने निर्णय गरे लगत्तै निर्वाचनको चहलपहल बढेको छ । यतिबेला देशैभरका क्याम्पसमा विद्यार्थी नेताहरुको उपस्थिति तथा सक्रियता बढेको छ । अरु बेला सुनसान रहने क्याम्पसहरु त्रिबिले निर्वाचन कार्यतालिका प्रकाशन गरेपछि भने ह्वातै बढेको हो । विभिन्न संघ,संगठनका विद्यार्थी नेताहरु बाक्लो रुपमा क्याम्पसहरुमा प्रवेश गर्न थालेका छन् । लामो समयपछि हुन लागेको निर्वाचनले विद्यार्थीरुहमा उत्साहज जगाएको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) आफैँमा विद्यार्थी हकहित र अधिकारका खातिर आवाज उठाउने पवित्र उद्देश्यप्रेरित संगठन हो । यस कारण पनि निर्वाचनले विद्यार्थीमा उत्साह जगाएको प्रतित हुन्छ । शिक्षामा विद्यमान विकृति, विसङ्गतिविरूद्ध र गुणस्तरीय शिक्षाका निम्ति एकाकार भई लाग्ने संगठित स्वरुप नै स्ववियु हो । आधिकारिकरुपमै सम्बन्धित क्याम्पसको समग्र विद्यार्थीको प्रतिनिधि पनि स्ववियु हो, जसबाट विद्यार्थी र निज क्याम्पसको समस्या मुखरित हुन्छ । भर्नादेखि, विभिन्न फाराम, निवेदन, तोकादेश, सूचनासम्म हरेक कुरामा संगठनका विद्यार्थी प्रतिनिधिले सहयोग गर्ने गर्दछन् । पब्लिक एवं आङ्गिक क्याम्पसहरुमा प्रशासनिक काज यसरी अड्काइन्छ, मानौँ कुनै सरकारी कार्यालय गइएको छ । यस्तो अवस्थामा सामान्य र गरिब विद्यार्थीलाई विभिन्न संगठनहरुले सहयोग नगर्ने हो भने काम नै बन्दैन या निकै गाह्रो हुन्छ । तर तिनै कामका लागि विद्यार्थी संगठन विद्यार्थीका समस्या बिसाउने साझा चौतारी बनेका हुुन्छन् । त्यसैले, हरेक क्याम्पसमा स्ववियुको महत्व मुखरित हुन्छ । विश्वविद्यालय, आङ्गिक क्याम्पस, सम्बन्धन प्राप्त क्याम्पस जुनसुकैमा होस् त्यहाँका हरेक शैक्षिक कार्यक्रम, छात्रवृत्ति, सूचना जानकारी तथा हरेक गतिविधिमा निगरानी राख्दै आमविद्यार्थीमाझ प्रसार गर्ने कमान्डरका रुपमा रहेका संगठन त्यहाँका समस्या नभई गहना हुन् भन्ने कुरामा दुुई मत छैन । हरेक राजनीतिक दलका आ–आफ्ना छुट्टै विद्यार्थी संगठन रहेका हुन्छन् । ती हरेक संगठनले आफ्ना छुट्टै नारा र एजेन्डा बोकेका हुन्छन् । हरेकका नारा वा एजेन्डा फरक हुन सक्छन् तर अन्तिम उद्देश्य एउटै हो, विद्यार्थी शिक्षाको हकहित, जनजीविकाको पक्षधर र राष्ट्रियताको रक्षा । त्यसैले, स्ववियु बहुआयामिक मुद्दा बोक्ने साझा थलो हो । यसले भावी देशको असल नेतृत्व र नेता उत्पादनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । नेपालमा विद्यार्थी राजनीतिबाटै धेरै व्यक्तिहरु देशको उच्च ओहोदामा पुुगेर नेतृत्व सम्हालेका थुप्रै उदाहरणहरु छन् । त्यसैले आसन्न स्ववियुु निर्वाचन र यसका विविध पक्षमा केन्द्रीत रहेर यहाँ चर्चापरिचर्चा गर्ने प्रयास गरिएको छ ।
देशको वर्तमान र भविष्य बोकेको शिक्षित वर्ग एवं एउटा असल विद्यार्थीले आफ्नो घर, टोल, समाज हुदैँ राष्ट्रलाई परिवर्तन गर्न अंग्रपंक्तिमा रहेर कार्य गर्न सक्छ । निरन्तर संघर्ष र दबाबको फलस्वरुप विद्यार्थी आन्दोलनको अर्को मुख्य विषय स्ववियुले थप ब्यापकता लिएको छ । स्ववियुको अस्तित्व पछिल्लो समय संकटमा परेको देखिन्छ । स्ववियु भन्ने बित्तिकै राजनीतिक दललाई बलियो बनाउन हो कि ? भन्ने प्रश्न पनि तेर्सिएको छ । दलिय स्वार्थ पूरा गर्नका लागि विद्यार्थी संगठन र स्ववियु समेतको प्रयोग हुँदै आइरहेको छ । नेपालको विशेष परिस्थितिमा विद्यार्थी आन्दोलनको विशिष्ट भूूमिका रहँदै आएको छ । स्ववियुले जन्माएका थुप्रै नेताहरू अहिले पनि राष्ट्रिय राजनीतिको महत्वपूर्ण स्थानमा छन् । गर्विलो इतिहास बोकेको विद्यार्थी संगठनले समय र आवश्यकतालाई बुझेर आफ्नो औचित्यलाई परिवर्तन गर्न अति आवश्यक रहेको छ । विद्यार्थी हक, अधिकारको रक्षा, शैक्षिक संस्थाहरूमा शैक्षिक वातावरण निर्माण गर्ने र देशलाई आवश्यक पर्ने भावि नेतृत्व उत्पादन गर्ने शैक्षिक सुधार तथा शान्ति, सुरक्षा, सम्वृद्धि, स्वतन्त्रता, अधिकार प्राप्ति, विद्यार्थी मैत्री वातावरण निर्माण गर्ने लक्ष्यको साथ स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को वि.स २०१८ सालमा स्थापना भयो । २०३६ सालमा जनमत संग्रह गर्न, २०४६ सालमा बहुदलीय व्यवस्था ल्याउन, २०६२/६३ को जनआन्दोलनमा स्ववियुको भूमिका महत्वपूूर्ण रहयो । स्ववियु स्थापनादेखि अहिलेसम्म आइपुग्दा विद्यार्थी आन्दोलनले थुप्रै उतारचढाव पार ग¥यो । वैशाखमा स्थानीय तहको निर्वाचन र मंसिरमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सफलतापूर्वक सम्पन्न भएपश्चात त्रिवि पनि लामो समयदेखि रोकिएको स्ववियु चुनाव गर्नुपर्छ भनेर औपचारिक रुपमै लागिरहेको छ । विगत लामो समयदेखि स्ववियु निर्वाचन नहुँदा विश्वविद्यालय तथा क्याम्पसहरुको शैक्षिक वातावरणको गुणस्तर समेत घट्दै गइरहेको छ । २०७३ मा पनि जम्मा देशभरका २६ वटा क्याम्पसहरूमा मात्र स्ववियु निर्वाचन भएको थियो । स्ववियुको निर्वाचनमा सहभागी हुने विद्यार्थीहरुलाई भविष्यका संसदीय खेलाडीका रुपमा नियालिएको छ । राजनैतिक जीवनको शिलान्यास गर्नु स्ववियु निर्वाचन तथा विद्यार्थी राजनीतिमा सक्रियता बढाउनु हो भन्ने आमबुझाई छ ।
लामो समयसम्म स्ववियु निर्वाचन बिभिन्न बाहनाबाट ‘माछा माछा भ्यागुतो’ बनेको छ । प्रत्येक २÷२ वर्षमा स्ववियु नियमअनुसार निर्वाचन गर्ने व्यवस्था भएपनि राजनीतिक नेतृत्व उत्पादन गर्ने ‘नर्सरी’का रूपमा चिनिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन १४ बर्षदेखि हुन सकेको छैन । त्यसै कारण पनि आमविद्यार्थी र अभिभावकमा चरम राजनीतिक वितृष्णाको परिवर्तन ठूूलो रुपमा झल्किन थालेको छ । देश संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरे पनि हाम्रो सोच, कार्यशैली र व्यवहारमा खासै परिवर्तन नआएको आभास स्ववियु निर्वाचनका गतिविधिबाट प्रष्ट छ । नवीन सोंच, चिन्तन र रचनात्मक कार्यक्रम बिना राजनैतिक दलहरुले आफ्नो रिमोट कन्ट्रोलबाट विद्यार्थी नेतालाई ताण्डव नृत्य चलाउँछन् । विद्यार्थी संघ, संगठनहरू केवल आफ्ना माउ पार्टीहरूको विरासत थाम्नका लागि मात्र पुरानै भद्दा शैली र आचरण लिएर स्ववियु निर्वाचनमा दौडिरहेका छन्, दौडिरहन्छन्, दौडिरहने छन् । देशको समग्र शैक्षिक आन्दोलन र अभियानको दिशाबोध गर्ने गरी क्रियाशील रहने को हो त ? आफु सरहका विश्वका सहपाठीहरु योग्यताका आधारमा कुनै कम्पनीको मालिक र दक्षता अनुसार जागिर पाउँछन् । हामी परीक्षा सकेको झण्डै २ बर्षसम्म त नतिजा प्रकाशनको पर्खाइमा बस्न बाध्य हुन्छौँ । “चार वर्षको पढाइ छ वर्ष’’ लगाउनु पर्दा त्यसको क्षतिपूर्ति कसले व्यहोर्ने ? यो बाध्यतामा अल्झेका विद्यार्थीको वास्तविकता बुझ्ने कसले ? न डोरीले अल्झाएको चप्पल लगाउन सकिने न त खाली खुट्टा हिड्न नै यसरी वद्यार्थीको भविष्य कसरी उज्वल बन्छ ? “हाम्रो समाजले बल्लतल्ल असुहाउँदो रोजगारी ब्यक्ति त प्राप्त गर्ला तर मालिक पाउँन सक्दैन । यी तमाम विद्यार्थीको पीडा बुझ्ने कसले ? यसरी शिक्षा क्षेत्रका तमाम विकृती र विसंगतिको अन्त्य गर्दै प्रतिभा पलायन रोक्न सकिन्छ ? बौद्धिकताको जगमा रहेर देशमा भएको राजनैतिक शक्तिहरुको मनोमानी विरुद्ध खवरदारी गर्न स्ववियु निर्वाचन अब नयाँ आवरणमा पुरानै शैली हुनु हुँदैन । सैद्धान्तिक ज्ञानका पाठशाला बनेका हाम्रा राम्रा विश्वविद्यालयलाई प्रयोगात्मक पद्दतिमा ल्याउनुपर्छ । निर्वाचनको मैदानमा हार जित स्वभाविक हो । हार र जित प्रमुख कुरा हैन । चुनाव जसरी नै आफूले जित्नुपर्ने र आफू जित्ने अवस्था बनेपछि मात्र चुनाव हुन दिने दलका विद्यार्थी संगठनको मनोवृत्ति चुनाव नहुने एउटा खास कारण बन्यो । स्ववियु निर्वाचन नै भएन भने हामी हार्नु पर्दैन भन्ने संघ÷संगठनका विद्यार्थी नेताहरुको संकुचित सोचले इतिहास बोकेको समग्र विद्यार्थी आन्दोलनले हारिरहेको छ । यसमा आजको विद्यार्थी संगठनका नेतृत्वको ध्यान पुग्न जरुरी छ । स्ववियु निर्वाचनको बहस, चर्चा र तयारी पटकपटक नभएको होइन । आजको सन्दर्भमा विद्यार्थी आन्दोलनलाई बढीभन्दा बढी रचनात्मक र सिर्जनशील आन्दोलनमा जोड दिनु आवश्यक छ । युवाहरू पछिल्लो समय राजनीतिकरूपमा जानकार छन् । राजनीतिक घटनाक्रमलाई हेर्न, बुझ्न र विश्लेषण गर्न उनीहरू सक्षम छन् । अब राजनीतिक नेतृत्वले युवालाई राजनीतितर्फ आकर्षण गराउनको निम्ति पढ्दै कमाउदै निति ल्याउन सक्नुपर्छ । प्रमाणपत्रको चाङ लगाएर माथिल्लो डिग्री गरिसक्दा पनि रहरले एक कप चिया पिउन पैसा नभएका विद्यार्थीको पिडा बुझ्ने नेतृत्वको खाँचो छ । अब सबै विद्यार्थी नेताले पुरानालाई त्याग्ने साहस गर्ने बेला पनि नजिकिएको छ । पुरानै काम, पुरानै धारणा, पुरानै सोंच, पुरानै तरिका, पुरानै विश्वास त्याग्न साथ नयाँ गोरेटो बाटो सुचारु हुन्छ । उक्त गोरेटो बाटोलाई विस्तारै कति लेनको करिडोर बनाउने तिनै नेतृत्वकर्ताको हातमा रहेको हुन्छ । क्याम्पस व्यवस्थापनको आधारस्तम्भ स्ववियु नै हो । त्यसैले स्ववियु बिना असल र कुशल नेतृत्वकर्ताको परिकल्पना गर्नु पानी बिना माछा पालनको मुर्खता गर्नु जस्तै हो ।
राष्ट्र र राष्ट्रियताको वैचारिक बहस गर्नको निम्ति वा विकास निर्माणको चरणवद्ध प्रक्रियामा सहि नेतृत्व हुन आवश्यक छ । त्यसका लागि नर्सरीमा उत्पादन भएका बिरुवालाई त्यहि नर्सरीमा निमोठ्ने प्रक्रिया बन्द गरी मलजल गर्न अपरिहार्य छ । स्ववियु निर्वाचन सलाइको बट्टा हो । त्यहाँ भित्रका काटिहरु विद्यार्थी नेताहरु हुन् । सलाईका बारुदलाई ओसिनबाट जोगाउन राजनैतिक दलका नेताहरुको ओढार हुनुपर्छ । समग्रमा स्वतन्त्र विद्यार्थी युनियन विद्यार्थी शिक्षाको हकहित र जनजीविकाको पक्षधर र राष्ट्रियताको रक्षा प्रति समर्पित छ । तर आज राजनीतिक दृष्टिले मुलुकले निकै ठूलो फड्को मारिसक्दा पनि उही शैलीका विद्यार्थी संगठन र उस्तै तरिकाको स्ववियु चुनाव आवश्यक छ कि छैन भन्ने प्रश्न गम्भीर बनेको छ । कार्यतालिकै प्रकाशित भइसकेको अवस्थामा स्ववियु चुनावको ढाँचा अहिल्यै परिवर्तन हुन नसक्ला । परन्तु उचित विमर्शबाट भोलि निर्वाचित स्ववियुको भूमिकामाथि पुनर्विचार गर्न अवश्य सकिन्छ । र, मूल प्रश्न आजका विद्यार्थी संगठनहरू कस्ता हुने÷बनाउने भन्ने हो, त्यसतर्फ भने यो अवसरमा घोत्लिनै पर्छ । विद्यार्थी संगठन स्वयं, तिनका नेतृत्व र सम्बन्धित मातृदलका नेताहरूले यस्ता संगठनहरूको वर्तमान कार्यशैली र भूमिकामा व्यापक समीक्षा गरी यिनीहरूको अस्तित्व र उद्देश्यमा पुनरवलोकन गर्नैपर्छ । बदलिएको मुलुकको परिप्रेक्ष्यमा विद्यार्थी नेतृत्वको दायित्व अभ्यासगत रूपमै पुनःपरिभाषित हुन जरुरी छ ।
(लेखक नेविसंघ त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका इकाइ सदस्य समेत हुन् ।)