Shittalpati
लघुवित्तका समस्या समाधान गर

विपन्न र सीमान्तीकृत वर्गको वित्तीय पहुँच विस्तार र आयआर्जन वृद्धि गरी मुलुकको आर्थिक उन्नतिमा योगदान गर्ने मुख्य उद्देश्यले लघुवित्त वित्तीय संस्था स्थापना भएका हुन् । न्यून आय भएका व्यक्तिलाई सदस्य बनाई तिनीहरूबाट नियमित बचत संकलन गरी सामूहिक जमानीमा कृषि तथा लघु उद्यम व्यवसाय सञ्चालन गर्न बिनाधितो लघु कर्जा प्रवाह गर्नु यिनको काम हो । तर लघुवित्तहरू ति उद्देश्य पूरा गर्नबाट सर्वथा चुकेका छन् ।

चरम बेथितिबाट गुज्रिएका कारण पछिल्लो समय लघुवित्तको अस्तित्वमाथि प्रश्न उठेको छ । दबाब, प्रभाव र प्रलोभनमा समूह गठन गरी ऋण लगानी गर्दा लघुवित्त संस्थाको उद्देश्यको मर्मविपरीत परिणाम उत्पन्न भएको छ । जसका कारण ऋण लिएका आम सर्वसाधारण नागरिक समस्यामा परेका छन् । पछिल्लो समय आएका दृष्टान्तले पनि न्यून आय भएकाहरूका लागि ती संस्थाहरूको ऋण गलपासो भइरहेको देखाउँछ । जसले ठूला बैंकहरूबाट ऋण पाउँदैनन्, तिनका लागि हो लघुवित्त । गाउँका साहू महाजनसँग सयकडा ५ रुपैयाँका दरको ऋण लिनेदिने प्रवृत्ति अन्त्य गर्न खोलिएको हो लघुवित्त संस्था । तर, लघुवित्त संस्था भने तिनै सुदखोर र सामन्तहरूको नयाँ अवतारका रूपमा प्रकट भएका छन् । त्यसैले त लघुवित्तका ऋणीहरूको उठिबास भएका समाचारहरू बग्रेल्ती आएका छन् । यो अत्यन्त दुखको कुरा हो ।

गरिबलाई लघुवित्तको ऋणको गलपासो मुक्त गर्ने बाटोको खोजी जतिसक्दो छिटो गरिनुपर्छ । अहिले समाचार माध्यममा आएका पीडितको भनाइ सुन्दा उनीहरूलाई लघुवित्तबारे राम्ररी थाहा नभएको देखिन्छ । व्यक्तिसँग लिएको ऋणभन्दा सस्तो ब्याजको ऋण पाएपछि कतिपयले लघुवित्तबाट ऋण लिएर व्यक्तिको ऋण तिरेको देखिन्छ । व्यवसाय समस्यामा परेपछि उनीहरू अहिले लघुवित्तको विरोधमा उत्रिएका देखिन्छन् । लघुवित्तले सामूहिक जमानीमा कर्जा प्रवाह गर्छ । ऋणीले ऋण नतिर्दा जमानीमा बस्नेको समेत सम्पत्ति रोक्का हुन सक्छ । यो तथ्य धेरैलाई थाहा नहुँदा समस्या भएको देखिन्छ । लघुवित्तका केही समूह सञ्चालक कर्मचारीले यस्ता कुरा राम्ररी बुझाउन नसकेको वा ध्यान नदिएको देखिन्छ । यो समस्यालाई सम्बोधन गर्ने पर्यत्न राष्ट्र बैंकले गरेको छैन । त्यस्तै लघुवित्त कम्पनीहरू बढी मुनाफामुखी हुँदा पनि यस्तो समस्या बढेको देखिन्छ । जे भएपनि वास्तविक समस्याको पहिचान गरिनुुपर्छ । समस्या पहिचान गरी छट्टै किसिमको नीति बनाएर समाधानमा लाग्नुु अहिलेको आवश्यकता हो । यसतर्फ सरकार र सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।

प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update