Shittalpati
ग्याँस प्रयोग गर्दा सचेत बनौं

आधुनिक प्रविधिको प्रयोगसँगै जोखिम पनि उत्तिकै बढेको छ । हिजोआज खाना पकाउन सहजताका लागि जताततै ग्याँस सिलिण्डरको प्रयोग बढेको छ । सहर होस् वा गाउँ सबैका घरका भन्सामा खाना पकाउने ग्याँस पुगिसकेको छ । यसले मानिसलाई सहजता प्रदान गरे पनि मानविय जोखिम भने बढाएको छ । पछिल्लो समय दिनहुँजसो ग्याँस सिलिण्डर विस्फोट भएका समाचार आउने गरेका छन् । सिलिन्डर विस्फोटबाट कतिले अकालमै ज्यान गुमाएका छन् भने कति घाइते भएका छन् । केही दिन अघि मात्र नेपाली काँग्रेसका प्रभावशाली नेता तथा सांसद चन्द्र भण्डारी र उनकी आमा घरमा राखिएको एलपी ग्याँस सिलिण्डर विस्फोटमा परेर घाइते भए । उपचारका क्रममा डा. भण्डारीकी ममतामयी आमा हरिकला भण्डारीको मृत्यु भयो । डा.भण्डारीको अहिले भारतको मुम्बईमा उपचार भइरहेको छ । यी त केही प्रतिनिधि घटना मात्र हुन् । यस्ता घटनाले हरेक नेपालीको भान्सा कति असुरक्षित रहेछ भन्ने उजागर गरेको मात्र छैन, शरीर जलेको बिरामीको उपचारका लागि उचित उपचार हुन नसक्ने सरकारी लाचारीपन पनि छताछुल्ल तुल्याएको छ ।

ग्याँस सिलिण्डर विस्फोटका कारण टोल र बस्ती नै सखाप भएका घटना पनि छन् । यसबाट धेरै ठूलो जनधनको क्षति हुँदै आएको छ । तर अनुगमन गर्नुपर्ने सरकारी निकाय मौन भएका कारण यस्ता घटना बारम्बार हुँदै आएका छन् । फुटरिङ काटेर सिलिण्डर बेच्ने, पुराना र बिग्रिएका सिलिण्डर बेचेर नाफा कमाउने र बजारमा म्याद सकिएका थोत्रा सिलिण्डरको बिगबिगी हुँदा पनि सम्बद्ध जिल्ला प्रशासन कार्यालय, वाणिज्य कार्यालय चुप लागेर बस्ने गरेका छन् । प्रशासन र वाणिज्य विभागले यस्ता थोत्रा, म्याद सकिएका, फुटरिङ काटिएका सिलिण्डरलाई बजारबाट जफत गरी ऐनअनुसार कारबाही गर्ने हो भने यस्ता घटना बारम्बार दोहोरिने थिएन । ग्याँस प्रयोग गर्न नजान्नु पनि आफैमा एउटा दुर्घटनाको कारक त हो नै । ग्याँसलाई सुरक्षित तवरले कसरी प्रयोग गर्न सकिन्छ भन्ने जानकारी कमैलाई थाहा होला । कमसल रेगुलेटरको प्रयोगले ग्याँस चुहिने डर हुन्छ । ग्याँस प्रयोग सम्बन्धी जनचेतनाको अभाव उपभोक्तामा हुँदा पनि यस्ता घटना घट्ने गरेका छन् । यसलाई रोक्न सचेतनाको आवश्यक छ । यसतर्फ सरकार र सम्बन्धित निकायले सोच्न आवश्यक छ । ग्याँस प्रयोगकर्ता आफैले पनि ग्याँस लिग भए नभएको हेक्का राख्नुपर्छ । रेगुलेटर लगाएर राम्ररी लागे नलागेको चेक गर्नुपर्ने हुन्छ । खाना पकाउँदा ग्याँस सिलिन्डर हल्लाएर, सुताएर, घोप्टो पारेर वा कोल्टो पारेर बाल्नुहुँदैन । रेगुलेटरको नब बन्द गरेर विस्तारै खिचेर तान्नुपर्छ । रेगुलेटर झिकेपछि सिलिन्डरको भल्भमा सुरक्षित टोपी सेफ्टी क्याप लगाउनुपर्छ । ग्याँस प्रयोग गरेपछि चुलो र सिलिन्डर दुवै ठाउँमा बन्द गर्नुपर्छ । यसो गर्न सकियो भने मात्रै पनि घटना हुनबाट जोगिन सकिन्छ । यसर्थ यसतर्फ सबै सचेत बन्न जरुरी छ ।

प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update