Shittalpati
सामाजिक न्याय दिवसको सार्थकता

हरेक वर्ष फेब्रुअरी २० तारिखमा अन्तर्राष्ट्रिय सामाजिक न्याय दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसंघको आह्वानमा यो दिवस मनाउने गरिन्छ । आज पनि विविध कार्यक्रम गरी यो दिवस मनाइँदै छ । सन् २००७ को २६ नोभेम्बरमा बसेको राष्ट्रसंघको महासभाले सामाजिक न्यायको दिवस मनाउने घोषणा गरेको थियो । सोहीअनुसार सदस्य राष्ट्रले बर्सेनि यो दिवस मनाउँदै आएका छन् । यो मानवजातिसँग अभिन्न रूपमा गासिएको दिवस हो । समाजका सबै सदस्य समान वा बराबर हुन् भन्ने धारणा नै सामाजिक न्याय हो ।

धनीले गरिबलाई शोषण नगर्ने, शिक्षितले अशिक्षितलाई नठग्ने, माथिल्लो जात भनिनेले तल्लो जात मानिनेलाई बराबर मान्ने, गोराले कालालाई समान ठान्ने, अन्तर्राष्ट्रिय वा राष्ट्र भाषा बोल्नेले स्थानीय भाषा वा मातृभाषा बोल्नेलाई उत्तिकै सम्मान गर्नेजस्ता पक्षले सामाजिक न्यायलाई जीवन्तता प्रदान गरेका हुन्छ । सामाजिक न्यायको सम्बन्ध व्यक्तिको समुदायप्रतिको त्यो नैतिक जिम्मेवारी हो । जसको सहयोगबिना सही व्यवहार गर्नु, सही कुरा र कामको रक्षा गर्नु, निष्पक्ष ढंगले काम गर्नु, समान दण्ड र पुरस्कारको व्यवस्था गर्नुसँग रहेको हुन्छ । समाजमा धन, पढाइ, सोचाइ, शक्ति, साधन, गुण, कर्म, प्रकृति आदिका कारणले समानता र असमानता पाइन्छ । ती असमानताका बीचमा समानता खोजेर मानवीय मूल्यको जगेर्न गर्नु नै सामाजिक न्यायको मूल उद्देश्य हो । तर पछिल्लो समय सामाजिक न्याय कमजोर बन्दै गएको छ । यो अत्यन्त दुुखको कुरा हो ।

वर्तमान अवस्थामा सामन्य नागरिकको जीवन कष्टकर बनेको छ । लामो समय कोभिड–१९ को महामारीका कारण गरिब, विपन्न मजदुर ज्यालादारीमा काम गर्नेहरु बढी मारमा परेका छन् । कतिपय भोक भोकै मृत्युवरण गर्न पुगेका छन् भने कतिपय कुपोषणको सिकार भएका छन् । मुलुकमा दैनिकजसो दर्दनात्मक हत्या, हिंसा, बलत्कारजस्ता घटना घटिरहेका छन् । कृषकले आफ्नो उत्पादनको उचित मूल्य नपाएर आन्दोलित भइरहेका छन् । घुसखोरी अनियमितताजस्ता कुराले जनता आक्रान्त छन् । वैदेशिक रोजगारी गुमेर स्वदेश फर्कनहरुले पीडा,उत्पीडन सहन नसकेर कयौं आत्महत्या गरेको उदाहरण टड्कारो छ । यस्तो अवस्थाले समाजमा सामाजिक न्याय हराउँदै गएको संकेत गरेको छ । नागरिक कल्याणको सुनिश्चितता कायम गर्नु राज्यको प्रमुख दायित्व हो । आफ्ना नागरिकप्रति सम्मान र बराबरीको व्यवहार गरी अभिभावकत्व प्रदान गर्नु कर्तव्य हो । त्यसैले, सामाजिक संरक्षणबिना जोखिम, विक्षिप्तता, विपत्तिमा रहेका कारण सहयोगको अपेक्षा र प्रतीक्षामा रहेका नागरिकका आवश्यकतालाई तत्काल पूरा गरी सामाजिक न्यायको प्रत्याभूति दिन जरुरी छ । यसो गर्न सकियो भने मात्र सामाजिक न्याय दिवस मनाउनुुको सार्थकता रहन्छ ।

प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update