हिन्दुहरुको प्रमुख चाड मध्ये महाशिवरात्रि पनि एक हो । विशेषगरी यो भगवान शिवको प्रमुख पर्व हो । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि मोहरात्रि सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ । यसलाई अन्धकार र अज्ञानतामा परेकाहरुलाई उज्यालोतिर ल्याउने पर्वको रुपमा मनाइन्छ । निर्जल व्रत,रात्री जागरण, चार प्रहरको पूजा, शिवलिङ्मा दूग्धाभिषेक, शिव महिमा कीर्तन, शिवरात्रीको पूजा अर्चना गरी मनाइन्छ । फाल्गुण कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीन दुखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरुको पवित्र हृदयमा धर्मको उदय गराउने अषुतोष भगवान शिवको अति प्यारो दिनको रुपमा लिने गरिन्छ । यस दिन दिनभर व्रत बसेर रातमा जागा बस्ने प्रचलन छ । यसो गर्दा भगवान शिव प्रसन्न हुने र शिवलाई प्रसन्न राख्न सकेमा मानिसबाट जानी–नजानी गरिएका पाप कर्मको फलबाट मोक्ष प्राप्त हुने जनविश्वास रहिआएको छ । शिवरात्रिमा व्रत बस्नाले ठूलो फल प्राप्त हुने मान्यता पनि छ । शिवजीलाई प्रशन्न बनाउन अविवाहित नारीहरु पनि व्रत बस्ने गर्दछन् । शिवरात्रिको दिन भगवान शिव र पार्वतीको बिहे भएकाले पनि यस दिनलाई विशेष महत्वका साथ लिने गरिन्छ । शिवको पूजा रात्रिको समयमा गरिन्छ । जबकि दिनमा पनि व्रत, उपवास गरेर रात्रिकालीन समय भगवान शिवको पूजा गर्ने विधान छ ।
कतिपयले शिवरात्रिलाई ऋषिबोधोत्सवका रुपमा मनाउँछन् । नेपालमा शिवरात्रिको दिन पशुपतिनाथमा दर्शनार्थीहरुको घूँइचो लाग्छ । महिलाका लागि शिवरात्रीको विशेष महत्व छ । अविवाहित युवती शिवको प्रर्थाना गर्छन् र असल पतिको कामना गर्छन् । विवाहित महिला आफ्ना पति र परिवारको मंगलमय कामना गर्छन् । त्यसैले शिवरात्रि पर्वले दिने सन्देश महत्वपूूर्ण रहेको छ । शिवको महिमा गाउने आजको दिनमा युवा युवतीहरुले सत्मार्गमा अग्रसर हुने प्रण गर्नु उनीहरूका लागि मात्र होइन समाज र देशका लागि नै हितकर हुनेछ । भगवान् शिवले सबैलाई सद्बुद्धि दिएर रक्षा गरून् ।