Shittalpati
विषादीको जोखिम

दैनिक उपभोग गर्ने खाद्यान्न, तरकारी र फलफूलमा रासायनिक विषादीको बढ्दो प्रयोग जनस्वास्थ्य क्षेत्रमा चिन्ताको विषय बन्दै गएको छ । विषादीले मानव स्वास्थ्यमा अल्पकालीन र दीर्घकालीन असर पार्छ । यसको जोखिममा सबैभन्दा बढी किसान स्वयं पर्ने गरेका छन् । यस्तै विषादी छर्कने मजदूर, विषादी विक्रेता र उपभोक्ता सम्मले असर भोग्नु परेको छ ।

किसानहरुले तरकारीमा लागेका किराहरु मार्नकै लागि विषादी छर्कने गर्दछन् । विषादीले बिरुवाका शत्रुलाई मात्र होइन, फाइदा गर्ने जीवजन्तु र लाभदायक कीराहरूलाई पनि मार्छ । यो कुरा किसानले बुझ्नुपर्दछ । विषादीलाई बाली बचाउने उपाय मात्र सोच्नु गतल हो । प्राविधिकहरूबाट सल्लाह लिई सकभर कम विषालु विषादीको सिफारिस मात्र प्रयोग गर्नुपर्दछ । आफूखुसी वा एग्रोभेटले भनेका भरमा मात्र विषादी चलाउने निर्णय गर्नु हुँदैन । शरीरका सबै अंगहरूबाट विषादी भित्र पस्न सक्ने भएकाले पूरा शरीर ढाकिने लुगा, चस्मा, पञ्जा, मुखमा मास्क (रुमाल) लगाएर मात्र विषादी छर्नुपर्छ । हावा चलेको बेला, पानी पर्दै गरेको बेला र बाली टिप्नुभन्दा लगत्तै अघि कहिल्यै विषादी छर्नु हुँदैन । विषादी छर्केको एकै दिनमा वा केही छिनमै तरकारी वा फलफूल टिप्नु राम्रो मानिदैन । यसले मानव स्वास्थ्यमा ठूलो असर पर्दछ ।

विषादी प्रयोगको जोखिममा वृद्धवृद्धा, महिला र बालबालिका बढी देखिएका छन् । गर्भवती महिलाले विषादी प्रयोग भएको खानेकुरा खाँदा बच्चा अपाङ्ग जन्मिने, कम तौलको हुने जस्ता समस्या देखिने गरेको छ । पछिल्लो समयमा बच्चाहरुमा धेरै अपाङ्गता र अस्वस्थता देखिनुको प्रमुख कारण पनि विषादीकै प्रयोगलाई मानिएको छ । नेपालमा २०१ प्रकारका विषादीलाई सरकारले विक्रीका लागि अनुमति दिएपनि प्रतिबन्धित विषादीसमेत निर्बाधरुपमा आयात हुने गरेको पाइन्छ । यो गलत हो । विषादीको प्रयोगले मानव स्वास्थ्य तथा वातावरणमा समस्या निम्त्याइरहेको परिप्रेक्ष्यमा यसको न्यूनीकरण र सुरक्षित प्रयोग भने हुन सकिरहेको पाइँदैन । जसका कारण उमेरमै धेरै मानिसहरु रोगी बन्न पुगेका छन् । यसलाई समयमै नरोक्ने हो भने अवस्था विकराल बन्दै जाने छ । यसर्थ विषादीको प्रयोग भयावह भइरहेको अवस्थामा सरकारले प्राङ्गारिक कृषि उत्पादनमा जोड दिँदै किसानलाई अर्गानिक खेतीतर्फ आकर्षित गराउनेतर्फ ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update