निर्वाचन आयोगले २५ फागुनभित्रै राष्ट्रपति निर्वाचन गर्नेगरी तयारी अघि बढाएको छ । आयोगले २५ फागुनकै मितिलाई प्राथमिकतामा राखेको हो । निर्वाचन मिति नजिकिदै जाँदा राष्ट्रपति निर्वाचन राजनीतिक वृत्तमा निकै चर्चा र चासोको विषय बनेको छ । विशेषगरी ठूला राजनीतिक दलहरु नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले राष्ट्रपतिका लागि आ–आफ्नै अडान कायमै राखेका छन् । उनीहरु आफ्नो अनुकुलको राष्ट्रपति बनाउने कसरतमा जुटेका छन् । राजनीतिक दलहरुले कस्तो खालको व्यक्तिलाई राष्ट्रपतिको उम्मेदवार बनाउलान भन्ने जिज्ञासा र चासो तिव्र बनेको छ । राष्ट्रपतिको उमेदवारलाई लिएर सत्तारुढ प्रमुख दल एमालेका अध्यक्ष केपी शर्मा ओली संयोजक रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रको निर्णय अहं हुने भएपनि त्यसबाट आउने निष्कर्षसमेत आउँदा दिनमा विवादास्पद नहोला भन्ने सकिदैन । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक यसअघि पनि पटक–पटक नबसेको होइन, तर त्यसले आवश्यक रहेको राष्ट्रपतिको मुद्दालाई किनारामा ल्याउन भने अझैसम्म सकेको छैन, यद्यपि सहमतिमा अघि बढ्ने भनेर पछिल्लो बैठक टुङ्ग्याइएको छ ।
राष्ट्रपति पदलाई निकै ठूलो अहंको मुद्दा बनाइएको अवस्थाले दलहरुले नै राजनीतिक अस्थिरतालाई अहिले बढवा दिइरहेका छन् । नेपाली काँग्रेसले पुनः एमालेबाट नै राष्ट्रपति बनाइए संविधानसमेत दुर्घटनामा पर्ने बताइरहेको बेलामा दलहरुबीच यदि पालन नै भएपनि त्यसको कार्यान्वयन ठीक ढङ्गले हुन्छ भन्ने कुनै निश्चितता छैन । लामो समयदेखि अस्थिर राजनीतिको बोलबेला रहँदै आएको हुनाले अबको राष्ट्रिय प्राथमिकता के हो त्यसबारेमा व्यापक बहस हुनुपर्ने आवश्यकता छ । त्यसका लागि उपयुक्त माध्यम भनेको दलहरुले आ–आफ्ना अडानलाई हटाएर सहमतिसाथ अघि बढ्नु नै हो । राष्ट्रपतिजस्तो पदका लागि दलहरुका स्वार्थ बाझिँदा त्यसले भोलि निम्त्याउन सक्ने खतरालाई अहिले नै महशुस गर्न सकिन्छ । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सहमतिमै राष्ट्रपति चुन्ने बताउँदै आएपनि दुई ठूला दलहरुले आ–आफ्नो अडान नछोड्दा सहमतिमा राष्ट्रपति चयन हुने कुरामा शंका उत्पन्न भएको छ । राष्ट्रपति भनेको आमनागरिकको, सबै दलको र सबै राष्ट्रसेवकको सम्माननिय पद हो । यो पदको मर्यादा राख्न नसक्दा राष्ट्रपति बनेको व्यक्ति मात्र लाञ्छित र बदनाम हुँदैन, राष्ट्रपति पदसमेत लाञ्छित हुन पुग्छ । पार्टी भन्दा माथि उठेर अभिभावक हुने, संविधान, गणतन्त्र, संसद्, संघीयता सबै संरक्षकका रूपमा सम्वद्र्धन गर्न सक्ने, सबैले विश्वास गर्ने र विश्वासमा लिन सक्ने अनुभवी र परिपक्व निष्ठावान व्यक्तिलाई नै राष्ट्रपतिमा ल्याउनुपर्छ । यसर्थ राष्ट्रपति जस्तो पदका लागि राष्ट्रिय सहमति नै अहिलेको आवश्यक हो ।