आज अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सर दिवस । समयमै रोग पत्ता लगाएर उपचार गरेमा ८० प्रतिशत बालबालिकाहरुको क्यान्सर निको हुने आँकलनसँगै विश्वभर यो दिवस आज मनाइदैं छ । यो दिवस फब्रुअरी २५ तारिखका दिन बाल्यकालमा हुने क्यान्सर विरुद्धको सचेतनामूलक विभिन्न कार्यक्रम गरेर मनाउने क्रममा नेपालमा पनि आज यस सम्बन्धी विभिन्न कार्यक्रम हुँदैछन् । विश्व स्वास्थ्य संगठनका अनुसार यो रोग बारे समयमै सचेतना जगाउने कार्य भएको खण्डमा क्यान्सर जस्तो जटिल रोगबाट पनि बालबालिकालाई बचाउन सकिन्छ भन्ने कुरालाई आम जनमानस माझ व्यापकता दिनु नै हो । नेपालको परिवेशमा हाम्रा बालबालिकाको स्वास्थ्य अवस्था र हाम्रो समाजमा देखिएका स्वास्थ्य सम्बन्धी सचेतनाका विषयमा अरु विकसित देशको तुलनामा हामी कमजोर छौं ।
हाम्रो आर्थिक अवस्था र चेतनाको स्तरले पनि यी कुरालाई कम महत्व दिएको पाइन्छ । स्वाथ्यलाई धन मान्ने प्रणालीको विकास नभएकै कारण विभिन्न खालका रोगका कारण विरामी भएपछिको उपचार खर्च समेत महंगो भएकाले यी सबै समस्याहरु आएका हुन् । जटिल रोगको उपचार आर्थिक कारणले थेग्न नसक्नु र अल्पायुमै मृत्युवरण गर्नुपर्ने बाध्यता प्रति सरकार संविधानतः पनि चिन्तित छैन । नेपालको संविधानले जन्मपछि बाच्न पाउने अधिकार मध्ये स्वास्थ्य उपचार नपाएर हुने मृत्यु र शिक्षा, स्वास्थ्य अनि नाना र छानाको अधिकारका लागि राज्य जिम्मेवारी भएको भन्ने कुरा लेखिएको भएतापनि सोही अनुसार कार्यान्यन पक्ष कमजोर छ । महामारी र विभिन्न खालका दैवी प्रकोप क्यान्सर जस्ता जटिल रोगको उपचारमा राज्यले पूर्णरुपले जिम्मेवारी बोध नगर्दा सम्म यस्ता दिवसहरुमा गरिने हरेक क्रियाकलाप केवल औपचारिकताका लागि मात्र हुँदै आएका छन् । त्यसकारण आजको यो पवित्र दिनलाई साक्षी रोखेर हरेक बालबालिकाको स्वास्थ्यमा ध्यान दिन नसक्ने हो भने भोलिका नागरिक स्वस्थ्य नागरिक उत्पादन गर्न सक्ने अवस्था रहदैन ।