प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे । प्रेम जोडीहरूका लागि महत्वपूर्ण दिन हो । जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनसाय बनाएकाहरूका लागि उत्तिकै महत्वपूर्ण मानिन्छ । दिवस १४ फेब्रुअरीका दिन विशेष रुपमा मनाइने गरिन्छ । यो दिवस आफैमा एक रोमान्टिक र प्रेममय दिन हो । प्रेम गर्नका लागि कुनै सीमितता हुँदैन । समग्रमा भन्दा प्रणय दिवस एउटा बाँच्ने आधारशिला नै हो । जीवनमा आफूलाई प्रेम गर्नेहरु र आफूले प्रेम गरिनेहरु भएन भने जिउनुमा कुनै सार्थकता हुँदैन । प्रेम दुई विपरीत लिङ्गीबीच मात्रै होइन, प्रेम त परिवारसँग हुन्छ, साथीहरुसँग हुन्छ, आफ्ना प्रियजनहरुसँग पनि हुन्छ । त्यसैले त प्रेमले मानिसलाई एक किसिमको बाँच्ने ऊर्जा दिन्छ । प्रणय दिवसका रुपमा रहेको यसदिन युवाले मन पर्ने प्रेमिका वा प्रेमीलाई वर्षौ आँट गर्न नसकेका प्रेम प्रस्ताव राख्ने गर्छन् ।
सोही कारण पनि यस दिन युवायुवतीको विशेष आकर्षण हुने गर्छ । यो दिवसलाई अविवाहितहरुले आफूलाई मन परेकालाई प्रेम प्रस्ताव गर्ने, प्रेम सम्बन्धमा परेकाहरुले एक आपसको प्रेम सम्बन्धलाई अझ कसिलो, विश्वसनीय र परिपक्व बनाउने, प्रेम सम्बन्ध कसिलो भइसकेकाहरुले सम्बन्धलाई दाम्पत्य जीवनमा परिणत गर्ने, दाम्पत्य जीवन बिताइ रहेकाले दाम्पत्य जीवनयात्रालाई अझ सुखमय, आनन्दमय र दिर्घायु बनाउने र विदुर विदुषीहरुले आफ्ना दिवंगत जीवनसाथीको सम्झना गर्दै मृत आत्माको चीर शान्तिको लागि प्रार्थना गर्ने एक महत्वपूर्ण सूवर्ण अवसरका रुपमा सदुपयोग गर्ने गरेको पाइन्छ । तर अचेल सबैमा प्रेम सहज र सस्तो भएको छ ।
प्रेमलाई अहिलेका युवाहरूले टाइमपास गर्ने माध्यम बनाएका छन् । मन लागेका बेला प्रेमको नाटक रच्यो नलाग्दा त्यसैलाई बलिको बोका बनाउने गर्न थालिएको छ । तर यसो हुनु गलत हो । साँचो प्रेममा त्याग हुन्छ, विश्वास हुन्छ । माया प्रेमले जीवनलाई नै रंगीन बनाउँछ, जीवनका गोरेटोहरूको पाइला चाल्न सहज बनाउँछ । एक अर्काबीचको माया प्रेमले जीवनका योजना र हरेक क्षेत्रका सफलताका लागि बाटो खुल्छ । युवा पुस्तामा बढेको गलत अभिप्रायको प्रेम लहरको परिणाम गलत हुन्छ । त्यसैले प्रेमलाई सकारात्मक रुपमा लिन आवश्यक छ । प्रेम आफ्ना प्रेमी वा प्रेमिकासँग मात्र होइन घर–परिवार, साथीभाइ, आफन्तसँग पनि राख्न सकिन्छ । प्रेम गर्नु राम्रो पक्ष हो, तर पछिल्लो समयमा प्रेमको नाममा कतिपय प्रेमी जोडी देखावटी प्रेमको संज्ञा दिएर स्वार्थपूर्ति गरिरहेका हुन्छन् । तर यो गलत हो । प्रेम गर्नु पवित्र कार्य हो । यसर्थ दिवसलाई माया, सद्भावका रुपमा सबैमा ग्रहण गर्न सकियो भने मात्र दिवसको औचित्य रहन्छ ।