Shittalpati
विश्व रेडियो दिवसको सन्दर्भ

आज विश्व रेडियो दिवस । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २०१२ बाट विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो । स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिकमा हरेक वर्षको फ्रेबुअरी १३ तारिकलाई रेडियो दिवसको रुपमा घोषणा गरेको थियो । दिवस ढिला गरी बनाउन सुरु गरिए पनि रेडियोको इतिहास भने लामै छ । रेडियोको आविस्कार इटालीका वैज्ञानिक जी.मार्कोनी हुन् । उनले सन् १८९५ मा रेडियो तरंग पत्ता लगाएका थिए । त्यसको २४ वर्षपछि मात्रै रेडियोको व्यवहारिक रुपमा प्रसारण सुरु गरिएको थियो । मार्कोनीले रेडियोको आविस्कार जुनसुकै उद्देश्यका साथ गरेको भए पनि समाज विकास, परिवर्तन र रुपान्तरणमा रेडियोको भूमिका महत्वपूर्ण रहेको छ ।

नेपालमा भने २००७ सालपछि मात्रै औपचारिक रुपमा रेडियो खुलेको इतिहास छ । २००७ साल अघिदेखि औपचारिक रुपमा सञ्चालनमा रहेको रेडियो प्रजातन्त्रबाट रेडियो नेपाल बनेको रेडियो नै नेपालको पहिलो औपचारिक रेडियो हो । त्यसयता २०५४ सालसम्म रेडियो नेपालको एकछत्र राज चल्यो । यसबीचमा हरेक व्यक्तिका घरमा रेडियो थिएन । रेडियो सुन्न रेडियो भएका घरमा मानिसहरु जम्मा हुन्थे । तर अहिले सबैका घर–घर र हात हातमा रेडियो पुुगेका छन् । रेडियोलाई महत्वपूर्ण सञ्चार माध्यमको रुपमा सम्मान गर्न, प्रसारकहरु बीचको अन्तर्राष्ट्रिय समन्वय र सहयोगमा सुधार गर्न, ठूला नेटवर्क र सामुदायिक रेडियोलाई सूचनाको पहुँचमा बढावा दिन प्रेरित गर्ने उद्देश्यले विश्व रेडियो दिवस मनाउने गरिन्छ । नेपालको सन्दर्भमा रेडियोको महत्व अझै धेरै छ । नेपालको भौगोलिक तथा अन्य सामाजिक, साँस्कृतिक तथा धार्मिक हिसावले विविधता रहेकाले नेपालमा रेडियोको लोकप्रियता अझै कायमै छ । नेपाली जीवन शैलीको कारणले पनि अन्य सञ्चार माध्यमको तुलनामा रेडियो माध्यम लोकप्रिय र उपयोगी बनेको हो । नेपालमा एफएम प्रणालीमा रेडियो प्रसारण सुरु भएपछि सर्वसाधारणको पहुँचमा सहजरुपमा रेडियोको प्रसारण पुगेको छ । अहिले पनि रेडियो सबैको पहुँचमा छ । रेडियोले हरेक घटना परिघटनामा अत्यन्त महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । यसर्थ रेडियो दिवसले रेडियोहरुलाई थप सशक्त बनाएर लैजान सक्ने क्षमता प्रदान गर्न सकोस् । रेडियो दिवसको सबै रेडियोकर्मीहरुमा शुुभकामना ¤

प्रकाशित मिति: सोमबार, फागुन १, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update