नेपाल निरन्तर अस्थिर राजनीतिको बाटोमै छ । नेपाली जनताको चाहना र देशको आवश्यकता यो होइन तर राजनीतिक दलहरुले जवरजस्त राजनीतिक अस्थिरताको बाटो हिडाएका छन् । देश र जनतानले अहिले राजनीतिक स्थिरता खोजेका छन् । तर त्यसो हुन सकिरहेको छैन । राजनीति स्थिरताले नै आर्थिक उन्नयन, दिगो विकास र अमनचैनको ढोका खोल्छ । तर, त्यो चाहना अधुरै रहँदै आएको छ । मुलुकलाई राजनीतिक अस्थिरताले छोडेको छैन । फलतः विकास, समृद्धि र परिवर्तनको दिशामा मुलुक अगाडि बढ्न सकेको छैन् । प्रजातन्त्र हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुग्दा त्यसको अनुभूति आम जनमा हुनसकेको छैन् । सरकारको गैरजिम्मेवार कामकारबाही र अव्यवस्थाप्रति नागरिक असन्तुष्टिले राजनीतिक अस्थिरताको बाटो खनिरहेको छ । यो मुलुक र जनताका लागि विडम्वना हो ।
सरकारले जनअपेक्षा सम्बोधन र अधिकारको संरक्षण गर्न नसक्नु, गरीबी र बेरोजगारी बढ्नु, प्रतिस्पर्धी राजनीतिक दलहरूबीच द्वन्द्वात्मक अवस्था बन्दै जानु, अप्रत्याशित परिवर्तन हुँदा त्यसलाई सहज रूपमा लिने माहोल नहुनु, मतदाताको अनादर तथा करदाताको योगदानको अवमूल्यन गर्नु, राष्ट्र प्रमुख र सरकार प्रमुख संविधान मिच्न र अधिकारको दुरुपयोगमा अभ्यस्त हुनु, सरकारले नै संविधान विपरीत काम गर्नु, संवैधानिक द्वन्द्वको अवस्थाका कारण लोकतान्त्रिक मूल्य र मान्यतामा ह्रास आउँदै जानु, अत्यधिक सत्तालिप्सा र सार्वजनिक जिम्मेवारीमा रहेकाहरू गलत आचरणमा अभ्यस्त हुनुले नै अहिले मुलुक राजनीतिक अस्थिरताको भुमरिमा छ । यो अत्यन्त दुखद् हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकार बनेको ४७ दिन पुगेको छ । यसबिचमा सत्ता केन्द्रीत राजनीतिक बाहेक अरु केही पनि हुन सकेको छैन् । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरी सकेको छ । सरकारका केही मन्त्रालय नै मन्त्रीविहीन अवस्थामा पुगेका छन् । सत्ता साझेदार दलहरु भित्रै राष्ट्रपतिको विषयलाई लिएर फेरी मतभेद सिर्जना भएको छ । प्रधामन्त्रीले राष्ट्रिय सहमति गरेर राष्ट्रपति चयन गर्ने अडानमा छन् भने सत्ता साझेदार प्रमुख दल एमालेका अध्यक्ष केपी ओली एमाले बाहेक अरु कसैलाई पनि राष्ट्रपति नदिने अडानमा छन् । यसले फेरी मुलुकलाई थप राजनीतिक अस्थिरतातर्फ धकेलिएको सकेत गरेको छ । रास्वपा सरकारबाट बाहिरिनु र राष्ट्रपतिमा सत्तारुढ दलमै खटपट सिर्जना हुनुले हालको गठबन्धन कमजोर मात्रै बनेको छैन मुलुक थप अस्थिरतातर्फ धकेििलएको हो । सबैभन्दा ठूलो कुरा सरकार स्थिर हुन सकोस् र मुलुकमा विकास र सुशासन कायम गर्न सकोस् भन्ने नै हो तर त्यसो हुन सकिरहेको छैन् । प्रधानमन्त्री प्रचण्ड यो विषयमा गम्भीर बन्न आवश्यक छ । अन्यथा देश अहिलेको अवस्थामा अगाडि बढ्ने हो भने देशमा ठूलो संकट आइपर्ने कुरामा दुई मत छैन ।