Shittalpati
धेरै प्रेमहरु मर्न नपरोस्

इलामका ३६ वर्षीय व्यवसायी प्रेमप्रसाद आचार्यको दुखद् निधनले यतिबेला देश स्तब्ध भएको छ । संसद् भवनबाहिर मंगलबार आत्मदाह प्रयास गरेका आचार्यको उपचारका क्रममा बुधबार देहान्त भएसँगै स्तब्ध र आक्रोस दुवै पैदा भएको छ । उनले सामाजिक सञ्जालमा राखेको दुःखान्त जीवन–कथा जोकोहीको मथिंगल रन्थनाउन पर्याप्त छ । आत्महत्या जुन रूपमा गरे पनि निरासाको उत्कर्ष हो । जीवनको दौरानमा सयौं हण्डर खाएर पनि सोचेजस्तो नभएपछि निश्चय पनि उनले आत्मदाहको बाटो रोजेका हुन् । तर आत्महत्या नै यसको सही बाटो भने होइन । कसैले पनि यस्तो गर्नु हुँदैन । तर, यसो भनेर मात्र समाजमा आत्महत्या रोकिँदैन । त्यसका निम्ति यसका कारणहरूसम्म पुग्न आवश्यक छ ।

उनलाई जीवन त्याग्ने बाटोसम्म पुु¥याउन भूमिका खेल्नेहरु यसको कारण बन्न सक्छन् । जसले गरिखान खोज्दा सरकार, व्यावसायिक जगत् र समाजबाट जेजस्ता असहयोग भोगे तिनैका कारण प्रेमले जीवनलाई समाप्त पारे । तर पनि उनले हाँसी हाँसी ति तत्वहरुलाई पराजित गर्नुपथ्यो । हुन त यो संसारबाट विदा भइसकेका उनको हकमा यस्तो कामनाको अर्थ छैन । तर पनि समाज र सरकारबाट जुुन अवस्था सिर्जना गरियो त्यो तथ्य बिर्सनु हुँदैन । उनले आत्मदाह प्रयास गर्दाको अवस्थामा सरकारी निकायका सुरक्षाकर्मीहरूको उदासीनता अत्यन्त खेदजनक छ । जहाँ सुरक्षाकर्मीको घेरा भित्र उनले शरीरमा पेट्रोल खन्याएर आगो लगाउँदा र चिच्याउदा समेत सुरक्षाकर्मीहरू र जम्मा भएको भीड रमिते जस्तो हुनु आश्चर्यजनक छ । त्यसमा पनि संसद् भवनको वरिपरि अकस्मात् लागेको आगो निभाउने कुनै व्यवस्था नहुनुले सरकारको संयन्त्र कति निरीह रहेछ भन्ने प्रष्ट हुन्छ ।

प्रेमको मृत्युले कुनै एक व्यक्तिको मात्र पीडा होइन् धेरैको पीडा बोकेको छ । प्रेमले आफू निकै आर्थिक संकटमा परेकाले यस्तो कदम चाल्न बाध्य भएको उनको फेसबुक स्टाटसबाट बुझ्न सकिन्छ । धेरै हण्डर खाँदाखाँदै मन सम्हाल्न नसकेको, आर्थिक भार थाम्न नसकेर पटक–पटक आत्महत्याको प्रयास गरेको उनले उल्लेख गरेका छन् । उनले आत्मदाह गर्नुअघि फेसबुकमा लेखेका छन्, ‘बाँच्ने सबै उपाय लाउँदा पनि केही भएन, आशा सबै मरिसकेको हुनाले मर्ने नै बाचा गरे । मलाई माफ गर्नुहोला । कोही मनकारी÷सहृदयीजनहरू हुनुहुन्छ भने मेरो ऋण तिर्न मेरी श्रीमतीलाई सहयोग गर्दिनुहोला । उनले पनि मेरै बाटो समाउन बेर छैन, हाम्रा दुई छोरीहरू टुहुरा हुने छन् ।’ राज्य, समाज र व्यावसायिक क्षेत्रभित्र मौलाइरहेको असहयोगी र दोहनकारी चरित्रका कारण उनले यस्तो कारुणीक भाव व्यक्त गरेका थिए । भविष्यमा फेरि कसैले यसरी हरेस खानु नपरोस् भनि यो घटनाबाट पाठ सिक्नुु अहिलेको आवश्यकता हो । आचार्यको दुुखान्तबाट उब्जिएका प्रश्नहरूलाई मनन् गरौं, गरिखान खोज्नेहरूलाई सरकार र सम्बन्धित निकायले सहज वातावरण सिर्जना गर । जसका कारण धेरै प्रेमहरुको दुुखान्त हुन नपरोस् ।

प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update