Shittalpati
सरस्वती माता र वसन्त पञ्चमी

मदन देउराली
जाडोको मौसम छ तै पनि विहानदेखि नै भगवती मन्दिरमा रहेको सरस्वती मन्दिर तथा टुँडिखेल तल अमरगञ्ज जाने बाटोमा रहेको सरस्वती मन्दिरमा स्कूले विद्यार्थीहरु तथा उनका अभिभावकहरुको भीड लागेको छ । आज श्रीपञ्चमी । तानसेन बजार भित्र दुईवटा सरस्वती मन्दिरहरु रहेका छन् । आजको दिन सरस्वती मातालाई पुजाआजा गर्दा सरस्वती माता प्रसन्न हुन्छिन् भनिन्छ । मन्दिरका भित्तामा विद्यार्थी नानीहरुले कोइलाले विभिन्न आकार कोर्दै छन् । अझ आफ्ना साना नानीहरुलाई अभिभावकले आफ्नै हातले नानीको हात समातेर भित्तामा लेख्न सिकाउँदै छन् । बडो रमाइलो वातावरण हुन्छ यी मन्दिरहरुमा आज ।
हुन त तानसेनका कतिपय विद्यालयहरुमा पनि सरस्वतीको मूर्ति स्थापित गरिएको पाइन्छ । यस दिन धूमधामका साथ पूजाआजा पनि गर्दछन् । दिनहुँजसो मन्दिर अगाडि प्रार्थना पनि गराइन्छ । भगवती मन्दिर भित्र रहेको सरस्वतीको मूर्ति किरातकालिन मूर्ति भनिन्छ । यो मूर्ति ढुंगाले बनाई उभिएको मुद्रामा रहेको छ । वर्षको दुई पटक मात्र यो मन्दिर खुल्छ । नवरात्रीको दिन र श्री पञ्चमीको दिन अरु दिन यो मन्दिर बन्द नै रहन्छ । त्यस्तै गरी टुँडिखेल तल रहेको सरस्वती मूर्ति हातमा वीणा लिएको तथा उभिएको सिमेन्टको बनाइएको छ । मन्दिर सानो आकारको छ । मन्दिर अगाडि पौवा अनि सानो चौर पनि रहेको छ । उहिले बच्चाहरुलाई विफरको खोप लगाइए पछि सो घाउ पाकेमा माइको पूजा गर्नु पर्छ भनेर सो सरस्वती मन्दिरमा गई पूजा गर्ने गरिन्थ्यो । सो चौरमा बसी घरबाट बनाएर लगेका खाजा खाने गर्दथे भने कहिलेकाहीं वनभोज गर्नेहरु यस ठाउँमा जाने गर्द थिए । यो मन्दिर भने त्यति सुरक्षित छैन् र जहिले पनि खुला रहन्छ वेवारिसे जस्तो छ । यसको सुरक्षार्थ तथा संरक्षणतिर कसैको वास्ता छैन । वर्षको यही एकदिन पुजारी भक्तजनहरुले चढाएको प्रसाद बटुल्न जान्छन् अरु बेला मतलब छैन् । नगिचै भएको सरस्वतीको पुरानो पौवा भत्किएको वर्षौ भैसक्यो तर वडावासी, स्थानीय सरकार कसैलाई चासो छैन । अहिले यो पौवा नगिचैका ठेकेदारको पुराना काठपात थन्काउने ठाउँ भएको छ । भन्न सकिन्न भोगचलन गर्दे जाँदा पछि यो मेरै ठाउँ हो भन्न के बेर । खैर ।

वीणा र पुस्तक हातमा लिएकी सरस्वती मातालाई विद्याको देवी मानिन्छ । यसकारण विद्याको क्षेत्रमा यिनको विशेष कदर हुनु स्वभाभिक हो । वसन्तको शुभारम्भ हुने श्रीपञ्चमीको दिन परम्परा अनुसार सरस्वतीको जन्मदिन मनाउने चलन छ । यो दिन जहाँ कहीं सरस्वतीको मूर्ति भएको ठाउँमा विद्याकी देवीको रुपमा ठूलो भक्तिभावले पूजा गरिन्छ । माघ शुक्लपक्षको पञ्चमी तिथिलाई श्रीपञ्चमी वा वसन्त पञ्चमी, सरस्वती जयन्ति आदि भन्ने गरिन्छ । श्री भन्नाले विद्या, बुद्धि र वाणीकी अधिष्ठात्री देवी सरस्वती भन्ने बुझिन्छ । पौराणिक कथा अनुसार सृष्टिको प्रारम्भमा चतुर्मुख ब्रम्हाजीको मुखबाट सरस्वतीको जन्म भएको थियो । भनिन्छ विष्णुको आज्ञा अनुसार ब्रम्हाजीले पृथ्वीमा सबै कुराको साथै मनुष्य योनीको पनि सृष्टि त गरे तर सबै मुक थिए कसैको वाणी थिएन्न । सब चूपचाप थिए । यस्तो अवस्थामा श्रीपञ्चमीको दिन ब्रम्हाजीले कमण्डलुको जल हातमा लिएर छर्किए पछि दिव्य चतुर्भुज स्फटिक माला धारण गरेकी राजहांसमा आरुढ भएकी अभय मुद्रामा मन्द मुस्कानका साथ दिव्य ज्ञानको आलोक छर्दै सरस्वती माता ब्रम्हाजीको सम्मुख प्रकट हुनु भयो । यसरी अविभावक भएकी देवी सरस्वतीले ब्रम्हाजीको आज्ञा अनुसार जब वीणा बजाउन थाल्नु भयो संसारमा शव्द र वाणीको प्रादुर्भाव भयो । सबै प्राणीमा स्वरको सञ्चार भयो । सम्पूर्ण प्राणी बोल्न थाले, चराचुरुगीं, कीटपतंग कलरव गाउन थाले, पानीको कलकल र हवामा संगीतको सरगम उत्पत्ति भयो । समस्त प्राणीहरुको जिब्रोमा निवास गर्नु हुने माता सरस्वती वाणी रुपमा प्रकट हुनु भएकाले उनलाई वाग्देवी वा वागेश्वरी पनि भनिन्छ ।

शुद्ध सेतो परिधानमा सेतो कमलको फूलमा पदमासनमा विराजमान भएकी चार हात मध्येमा दुई हातमा पुस्तक र माला तथा दुई हात वीणा बजाइरहेकी माता सरस्वती मातालाई ज्ञान र बुद्धिको देवीको रुपमा पुजिन्छ । सत्वगुण प्रधान हंसवाहिनी सरस्वतीको आफ्नो स्वरुप शुक्ल वर्णको छँदै छ तथा उनले प्रयोग गर्ने वीणा, पुस्तक, माला र वाहन आदि पनि सेतै रंगका हुन्छन् । ज्ञानको स्वरुप सेतो हुन्छ अतः माताको पहिरनदेखि सबै सेतो हुनु स्वभाभिक मानिन्छ । सेतो रंग शुद्धता र ज्ञानको प्रतिक हो र सेतो साडी शुद्ध ज्ञानको अवतार भन्ने बुझाउँछ । कमलको फूल प्रकाश, ज्ञान, सचेतनता र सत्य सर्वोच्च वास्तविकताको प्रतिक हो भने सेतो कमलमा विराजमान भएकी माता सरस्वती आफै सर्बोच्च ज्ञानको भण्डार हो भन्ने अर्थ बुझाउँछ । देवीको चार हातले मन भावना, बौद्धिकता, तर्क, कल्पना, रचनात्मक र आत्म चेतना, अहमको प्रतिनिधित्व गर्दछ । दुई हातले भौतिक संसारमा देवीको गतिविधि र पछाडीको हातले आध्यात्मिक संसारसँग सम्बन्धित भन्ने बुझाउँछ । दायाँ हातले मन मानस, बायाँ हातले बौद्धिकता, वातानुकूल चेतना, र अहंम बुझाउँछ । हातमा भएको मालाले जीवनमा एकाग्रता तथा ध्यानको संकेत गर्दछ भने बायाँ हातमा भएको पवित्र पुस्तक वेदलाई सर्बोच्च ज्ञानको रुपमा चित्रण गरिएको छ । अगाडीको हातमा रहेको विणा बजाईरहको दाहिने हातलाई मन तथा वायाँ हातलाई विद्धताको रुपमा लिइएको छ । जुन देवता वा देवीको जस्तो स्वभाव हुन्छ उनका सवार वाहनमा पनि त्यस्तै गुण रहेको हुन्छ भनिन्छ । धार्मिक ग्रन्थ अनुसार राजहाँसलाई सरस्वतीको वाहनको रुपमा लिइन्छ त्यसैले सरस्वती मातालाई हंस वाहिनी पनि भनिन्छ । हाँसलाई एक पवित्र चराको रुपमा चित्रण गरिएको छ । जसले मिसिएको दुध र पानीलाई अलग अलग रुपमा छुटयाउन सक्छ । यसलाई भेदभाव रहित शक्ति, निष्पक्षता, शुद्धता असल र खराबको बीचको भेदभाउ हटाउन सक्ने तथा ज्ञानको महत्वको प्रतिकात्मक रुपमा लिइन्छ ।

माता सरस्वतीलाई ज्ञान, विद्या, विज्ञता, ललितकला, विज्ञान तथा प्रविधिकी देवीको रुपमा पनि मानिन्छ । साथै मातालाई अन्य विभिन्न नामले पनि सम्बोधन गरिन्छ । ऋग्वेदमा श्रृष्टिका सर्जक ब्रम्हाजीको मुखबाट उदय भएकी महासरस्वती सम्पूर्ण प्राणीहरु सबैलाई वाणी दिने भएकीले वाग्देवी अर्थात् वाणिका देवी, ब्रम्हाकी अर्धागिनी ब्रह्मायणी, ब्राम्हणी (विज्ञानकी देवी), भारदी (इतिहासकी देवी), वाणी तथा वाची (गीत, संगीत, स्वर माधुर्य तथा की देवी), बर्णेश्वरी (अक्षरकी देवी), कवि जिभार्गवभासिनि (जो कविहरुको जीब्रोमा बास गर्छिन) र यसका अलावा कौमारी, चन्द्रघण्टा, शारदा, जगन्माता, बरदायिनी, बुद्धिदात्री आदि आदि विभिन्न नामले सम्बोधन गरिन्छ । यिनै सरस्वती देवीको कारणले संगीत उत्पपत्ति भएकाले यिनलाई संगीतकी देवीको रुपमा पनि पुजिन्छ । आजको दिनलाई श्री पञ्चमी पनि भनिन्छ । श्री शब्द श्रेष्ठताको सूचक हो । श्रीपञ्चमी भन्नाले तिथिको आधारमा मनाइने चाड विशेष भन्ने बुझिन्छ । श्री पञ्चमीमा श्रीको अर्थ हुन्छ सरस्वती सम्पती, शोभा, कान्ति र पञ्चमीको अर्थ हुन्छ तिथि । त्यस्तै श्री भन्नाले विद्या, बुद्धि र वाणीकी अधिष्ठात्री सरस्वती बुझिन्छ । त्यसैले आजको दिनलाई सरस्वती जन्मोत्सवको रुपमा मनाइन्छ । आजको दिनबाट बसन्त एक ऋुतु नयाँ जीवनको शुरुवात हुन्छ । नयाँ पालुवा पलाउन थाल्छ । बसन्त रमाइलो हुन्छ नयाँ जीवन जस्तै । बसन्त सुकोमल हुन्छ नौलो पालुवा जस्तै । यही ऋुतु हो । जब मानिस मात्रको मुटुमा नयाँ उमेर र तरानाहरुको पनि सञ्चालन हुन थाल्दछ । बसन्त एक नवजीवनको प्रतिक जस्तो अनुपम । मीठो कलकण्ठ नाद, सुरिलो भरिलो विहंगमको ताना र सल्लाघारीको सरसरी सुसली बसन्तको आगमन साथै कानमा गुनगुनाउन थाल्छ । मन आनन्द विभोर हुन्छ । लाग्छ बसन्त संधैभरी एक नवजीवनको बरदान बोकेर एउटा मायालु आशाको सञ्चार गरेर मुक्त हाँसो र कोमलताको कोसेली बोकेर सुष्टिको साझा बगैंचामा टुसाउँदै आए जस्तो । बसन्तको पदार्पण हुन्छ आंसुलाई पुछेर, शिशिरलाई हराएर मृत्यु र जर्जरतामा विजय पाएर सुन्दर फूलको जस्तो हाँसाकने थुंगो फक्राएर । इच्छामय भएरै नै जीवन आनन्दको उपलब्धी निमित्त खोजीनिती गर्छ । इच्छाले नै मानिसलाई नयाँ दिशातिर दो¥याउँछ । इच्छाले नै मानिसलाई कर्मयोगी बनाउँछ भने बसन्त मानिसको इच्छामय जीवनको उदगम श्रोत हो । आनन्द जिन्दगीमा सर्बोपरि अनुभूति हो ।

बसन्त नविनताको एक सुरुवात मानिन्छ । श्री पञ्चमीको दिन उपत्यकाका अधिकांश जनता सरस्वतीको दर्शन गर्न स्वयम्भुको सरस्वती स्थानमा पुग्दछन । श्रीपञ्चमीको दिन यहाँ ठूलो मेला लाग्दछ तर आश्चर्यको कुरा के छ भने सरस्वती स्थान भनि प्रसिद्ध भएको देवस्थलमा कुनै सरस्वतीको मूर्ति देखिदैन । एक मल्लकालिन चैत्य छ । त्यसको अगाडि एक पदचिन्ह अंकित भएको शिला छ । भक्तजनहरुको श्रद्धामा यसै पदचिन्हमा सरस्वतीको आराधना हुन्छ । स्वयम्भुपुराण ग्रन्थ अनुसार यो स्थान मञ्जुश्रीको रहेको छ जसले जलमय उपत्यकाको पानी चोभारको डाँडा काटेर पानी बाहिर पठाई दिएका थिए । बौद्ध समाजमा यिनी ज्ञानको प्रतिक देवताको रुपमा साकार भएका छन् । सरस्वतीले झैं यिनले पुस्तक धारण गरेको मूर्ति देखिन्छ । मञ्जुश्रीको स्थान सरस्वतीको स्थानको रुपमा परिणत भएको छ । यही हेतु श्रीपञ्चमीको दिन सरस्वती सम्झनामा मञ्जुश्रीको पाउ ढोग्दछन् । अस्तु ! बसन्त पञ्चमीको सबैमा शुभकामना !
(लेखक देउराली सांस्कृतिक अध्ययन प्रतिष्ठान पाल्पाका अध्यक्ष समेत हुन् ।)

प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update